अपाङ्ग, असहाय र मनोरोगी मानिसको उद्दार र आश्रय दिँदै आएको मानवसेवा आश्रम हेटौंडामा खाद्यान्नको संकट भएको छ । मानवसेवामा समर्पित यस्तो संस्थामा खाद्यान्नको अभाव हुनु दुःखद् पक्ष हो । यही आश्रमको काम र उद्देश्यलाई देखाउँदै सरकारले सडक मानवरहीत शहर, जिल्ला, प्रदेश र राष्ट्र घोषणा गर्ने लक्ष्य निर्धारण गरेको छ । सरकारी पक्षका कुरा सुन्दा मानवसेवा आश्रम अब सरकारी अभियान भएको अनुभूति हुन्छ, तर त्यहाँ बस्नेहरुलाई खाद्यान्नको अभाव भएको र सहयोगीहरुसँग गुहार गर्नुपर्ने अवस्था देखिएको छ । सञ्चालकहरुले खाद्यान्न अपुग हुँदा आश्रितहरुलाई खुवाउनसमेत समस्या भएको गुनासो गर्न थालेका छन् । मुठीदानबाट हेटौंडाबाटै सुरु भएको मानवसेवा आश्रमलाई जीवन्त राख्ने दायित्व पनि यहीँको समाजको हो ।
सामान्य घरमा भाडा तिरेर सुरु भएको आश्रमको सुविधासम्पन्न भवन बनिसकेको छ । त्यतिमात्र हैन कि, देशका मुख्य शहरहरुमा यो अभियान सञ्चालनमा छन् । मानवसेवा आश्रमले सरकारी कार्यक्रम झैं मान्यता पाएको छ । प्रधानमन्त्रीले आफ्ना मन्तव्यमा आश्रमले गरेको सेवालाई उपलब्धिका रुपमा व्याख्या गर्ने गरेका छन् । हुन पनि आश्रमले विसं २०८२ सम्ममा सडकमा जीवन बिताउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानअन्तर्गत् देशका धेरै शहरमा काम गरिरहेको छ । सयौंको संख्यामा अभियन्ताहरु जुटेका छन् । सबै सुख सुविधालाई बिर्संदै अभियन्ताहरुले मानवसेवालाई नै जीवनपद्दति बनाएका छन् । तर पनि यही संस्था यतिबेला खाद्यान्नको संकटमा परेको खबर सार्वजनिक भएको छ ।
मानवसेवा आश्रमको केन्द्रीय कार्यालय रहेको हेटौंडामा यतिबेला आश्रितहरुलाई बिहान बेलुका खाना खुवाउन समस्या भएको छ । आश्रममा अहिले २ सय १० जना आश्रितहरु छन् । उनीहरुलाई दैनिक आवश्यक खाद्यान्न अभाव भएसँगै दाताहरुको खोजी सुरु भएको छ । नागरिकको सहयोग आश्रमका लागि ठूलो श्रोत हो । तर वर्षौंसम्म पनि यही श्रोत पर्याप्त नहुन सक्छ । त्यसैले राज्यको काम गर्ने यस्ता संस्थाको सबै व्यवस्थापनको जिम्मेवारी सरकारले लिन आवश्यक छ । यस्तै तत्कालका लागि भएको खाद्यान्न समस्याको समाधानमा स्थानीय तहहरुबाट पनि सहयोग हुनुपर्दछ । सामाजिक सेवा गर्नेहरुकै योगदानमा देशव्यापी सञ्जालका रुपमा विकास भएको संस्थालाई अब राज्यको जिम्मेवारी बनाइनु आवश्यक छ ।
सडकपेटीमा कष्टकर जीवन बिताउनेहरुको उद्दार र संरक्षण राज्यको जिम्मेवारी हो । सरकारी निकायहरुले मानवसेवा आश्रमको आर्थिक जिम्मेवारी लिने अवस्था देखिएको छैन । आफन्तका नाममा खोलिएका गैरसरकारी संस्थाका प्रस्तावलाई सहर्ष स्वीकार गर्ने निकायहरुले मानवताको श्रोतमा अभियान सञ्चालन गरेको संस्थालाई सहयोग गर्न तत्परता देखाउनु आवश्यक छ । यस्तै आम नागरिकले दैनिक एक मुठ्ठी आश्रमका लागि छुट्याउने हो भने आश्रितहरुलाई खान पर्याप्त हुन्छ । देशभरका नागरिकले प्रत्येक छाक फाल्ने खानाबाट हजारौं मानिसलाई दैनिक खान पुग्छ । त्यसैले खेर जाने खाना बराबरको खाद्यान्न जोगाउन सक्ने हो भने बेसहारा तथा खान नपाउनेहरुका लागि ठूलो योगदान हुन सक्ने अवस्था देखिन्छ । तसर्थ सबै क्षेत्रबाट मानवसेवा आश्रमलाई पूर्णरुपमा सहयोगको अवस्था श्रृजना गरिनुपर्दछ ।