हेटौंडामा एक महिनाबीचमा दुईवटा फुटबल प्रतियोगिता सम्पन्न भएका छन् । केही दिन पहिला मेयर कप फुटबल भयो भने पछिल्लो पटक शहीद स्मृति फुटबल भएको छ । मेयर कप स्थानीय तहबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ भएको हो । यो प्रतियोगिताले हेटौंडालाई नै फुटबलमय बनाएको थियो । उपमहानगरपालिकाभित्रका १९ वटै वडाबाट खेलाडीहरु हेटौंडाको हुप्रचौरमा पुगेका थिए । यस घटनाले युवाहरुमा खेलकुदप्रति थप ध्यानाकर्षण गराएको देखिन्छ । खेलाडीमात्र हैन, दर्शकहरुको उपस्थितिले सम्बन्धित निकायहरुलाई खेलकुदलाई प्राथमिकतामा राख्न बाध्य बनाएको अनुभूति गर्न सकिन्थ्यो । प्रतियोगितालाई उत्कृष्ट र आकर्षक बनाउने खेल्ने मैदानको प्रबन्ध पहिलो शर्त हो । खेलाडी उत्पादन, प्रतियोगितासँगै खेल पूर्वाधारका विकास गर्नु आवश्यक छ ।
विश्वमा खेलिने धेरै खेल बिधा छन् । त्यसमध्ये आजसम्मको सबैभन्दा लोकप्रिय फुटबल नै हो भन्ने कुरा प्रत्येक प्रतियोगितामा दर्शकको उपस्थितिले दर्शाउँदछ । दर्शक पनि निस्क्रिय हैनन्, खेलाडीलाई हौसला दिनुका साथै आफैं पनि खेलबाट पूर्ण मनोरञ्जन लिने प्रयास गरेका हुन्छन् । विश्व खेलबजारमा जसरी फुटबलप्रति आकर्षण छ, त्यही तुलनामा हेटौंडामा पनि दर्शकहरु उपस्थित भएका छन् । सुरुका प्रतियोगितामा भन्दा सेमिफाइनलदेखि मैदानमा दर्शकहरुको उपस्थिति बाक्लो हुँदै गएको पाइन्छ । त्यतिमात्र हैन कि, फाइनलमा दर्शकलाई नियन्त्रण गर्नसक्ने अवस्था नै हुँदैन । शहीद स्मृति गोल्डकपमा बनाइएको अस्थायी प्याराफिटको क्षमताअनुसार टिकट बिक्री भइसकेपछि पनि भुइँमै बस्न राजी भएका दर्शक फुटबलका साँच्चै फ्यान हुन् ।
स्थानीय तहहरुको आर्थिक सहयोगमा भएको शहीद स्मृति फुटबल प्रतियोगिता विगतभन्दा सबै पक्षबाट सवल देखिएको छ । स्थानीय तहको आर्थिक सहयोगले खेल व्यस्थापनमा समय दिन आयोजकलाई सहज भएको देखियो । स्थानीय तहको सहयोगले जिल्लाबासी सबैले खेलप्रति अपनत्व लिएको देखियो । फुटबल संघ वा मूल आयोजक समितिमात्र नभई, समग्र जिल्लाबासी नै आयोजकका रुपमा स्थापित भएका छन् । खेलकुद क्षेत्रको लगानीमा स्थानीय सरकारहरु जिम्मेवार र उत्साही छन् भन्ने कुरा प्रमाणित गरेको छ । हेटौंडा उपमहानगरपालिकाले आगामी वर्षदेखि प्रथम र द्वितीय पुरस्कार राशिको जिम्मामात्र लिएन कि, पुरस्कार रकम पनि वृद्धि गर्ने उद्घोष गरेर प्रतियोगिताको अभिभावकत्व ग्रहण गरेको छ ।
बुटलेट बाइकले शहीद स्मृति गोल्डकपलाई देशमै चर्चित बनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई देशमै पहिलो पटक यति ठूलो धनराशीको पुरस्कार प्रदान गर्ने यो प्रतियोगिता नै पहिलो हो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रदान गरेको बुलेटले खेलाडीहरुलाई अनुशासित र उत्कृष्ट प्रदर्शनका लागि हौसला दिएको छ । टिकटको मूल्यप्रति केही गुनासो नभएको हैन । तर खेलको स्तरीयता तथा खेलाडीको हैसियत, महत्व आदिसँग टिकटको मूल्य जोडिने गर्दछ । सिट व्यवस्थापनका दृष्टिकोणबाट पनि मूल्य निर्धारण गर्दछ भने आयोजकको आयस्रोतसँग पनि टिकटको मूल्य जोडिने गर्दछ । टिकटको मूल्यकै कारण दर्शकको फुटबलप्रतिको आकर्षणलाई कुनै पनि अवस्थामा कम गरेको देखिएन् । यो भनेको फुटबलप्रतिको आकर्षण नै हो ।