हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित दुईवटा व्यावसायिक तालिम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर–३ मा सञ्चालन गरिएको ७ दिने व्यावसायिक कृषि तथा पशुपालन र १५ दिने दुना टपरी बनाउने तालिम शनिबार सम्पन्न भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आर्थिक सहयोग र राक्सिराङ गाउँपालिका वडा नम्बर–३ को समन्वयमा तालिम सञ्चालन गरिएको थियो । तालिम समापन कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका कार्यालय प्रमुख जगन्नाथ दाहाल, राक्सिराङ गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानलगायतको आतिथ्यता थियो ।
गत फागुन २२ गतेदेखि चैत २ गतेसम्म सञ्चालन भएको व्यावसायिक कृषि तथा पशुपालन तालिममा २५ जना सहभागी भएका थिए । यस्तै, फागुन २२ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन भएको दुना टपरी बनाउने तालिममा १० जनाको सहभागिता थियो ।