हेटौंडाः संघीय सरकार मातहतका निकायले प्रदेशस्तरमा इकाई स्थापना गर्नुभन्दा संघीय सरकारकै सहजीकरण र सहयोगमा प्रदेशकै स्वामित्वको संरचना विकास गर्दै जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश इकाई स्थापना गर्ने विषयमा आयोजना गरेको छलफलमा सहभागीले संघीयताको मर्मअनुसार अभ्यास गर्दै जाने हो भने संघीय सरकार मातहतका निकायको इकाई नभई प्रदेश सरकारकै स्वामित्वमा संरचना विकास गर्नुपर्ने सुझाव दिएका हुन् ।
यता बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेशस्तरीय इकाई स्थापना गर्ने सम्बन्धमा सम्झौता समेत गरिसकेको छ । शुक्रबार बिहान नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हेटौंडामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, विपिन्न निर्देशनालय तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का योजना तथा अनुसन्धान परामर्शदाता छवि गौडेलले प्रदेशस्तरीय इकाई गठन गर्ने अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल अनुसन्धान परिषद्को प्रदेशस्तरीय इकाई गठन गर्ने अवधारणा प्रस्तुतीपछि भएको अन्तरक्रियामा बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक बसन्त अधिकारीले प्रदेश सरकारकै मातहतमा अनुसन्धान केन्द्र गठन गर्नु पर्ने सुझाव दिनुभयो । संघीय सरकार मातहतको निकायले प्रदेशस्तरीय इकाई गठन गर्नुभन्दा प्रदेश सरकार मातहतकै संरचना विकसित गरी संघीय सरकार मातहतको निकायले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने अधिकारीको भनाइ थियो । यस्तै सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सतिश विष्टले केन्द्रले नै प्रदेशस्तरीय संरचना निर्माण गर्दै जाँदा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुने तर्क गर्नुभयो ।
यता बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले भने संघीयताको मर्म तीनै तहका सरकारबीच समन्वय र सहकार्य रहेको उल्लेख गर्नुहुँदै परिषद् र प्रतिष्ठानबीचको सहकार्यले स्वास्थ्य विज्ञानको क्षेत्रमा प्रतिष्ठानले लिएको लक्ष्यअनुसार अध्यापन, अनुसन्धान र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय र सहकार्य गरेर स्वास्थ्य विज्ञानको अध्यापन, अनुसन्धान तथा स्वास्थ्य सेवाको प्रभावकारी प्रवाहमा सुधार गर्ने दावी गर्नुभयो । नेपाल अनुसन्धान परिषद्को प्रदेशस्तरीय इकाई स्थापनाका लागि प्रतिष्ठान र परिषद्बीच गत मंसिर २८ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ ।