गहना चोरीको अभियोगमा प्रहरीले पक्राउ गरेका गणेशबहादुर स्याङ्तान र दिपेश बिक ।

हेटौंडाः सुनका गहना चोरी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । सुनका गहना चोरी गरेको अभियोगमा प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–२ बस्ने २० वर्षीय गणेश बहादुर स्याङ्तान र बकैया गाउँपालिका–३ बस्ने १९ वर्षीय दिपेश बिकलाई आइतबार पक्राउ गरेको जनाएको छ ।

गत माघ २३ गतेका दिन साँझ ६ बजेको समयमा बकैया गाउँपालिका–३, हात्तीसुँडेस्थित न्यु सुनचाँदी पसलबाट सुनका गहना र नगद समेत चोरी भएको भनी प्रहरीमा उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले २० लालको सुनको माईली तिलहरीसहित स्याङ्तान र बिकलाई पक्राउ गरेको जनाएको छ ।

बकैया गाउँपालिकास्थित प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–३ बाट दुबैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।