म्यान अफ द म्याचको ट्रफी ग्रहण गर्दै मकवानपुरका अमीर श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेश लिग विजेता बन्दै एन्फा प्रेसिडेन्ट लिग खेलेको धादिङले कर्णाली प्रदेश बिजेता जुम्लालाई फराकिलो गोलअन्तरले हराएको छ । धादिङको जीतमा मकवानपुरका खेलाडी अमीर श्रेष्ठ नायक घोषित भए ।

नेपालगन्ज रंगशालामा सोमबारबाट सुरुभएको प्रेसिडेन्ट लिगको दोस्रो दिन मंगलबार भएको पहिलो खेलमा धादिङले जुम्लालाई ९–१ गोलअन्तरले हराएको हो । धादिङको जितका लागि मकवानपुरका अमीर श्रेष्ठले ह्याट्रिक पूरा गर्दै व्यक्तिगत ४ गोल गरे । यस्तै शिरिषले ३ गोल, विपिन कँडेल र रुपेश केसीले १÷१ गोल गरे । जुम्लाका लागि संगम शाहीले सान्त्वना स्वरुप १ गोल गरे । जुम्ला विरुद्ध ४ गोल गर्ने मकवानपुरका अमीर श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

बागमती प्रदेशको फुटबल टिम ।

सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा बागमती प्रदेशको धादिङले बिहीबार गण्डकी प्रदेशको लिग विजेता त्रिवेणी युवा क्लब लमजुङसँग खेल्ने छ । धादिङले तेस्रो खेल चैत ७ गते शनिबार २ नम्बर प्रदेशको लिग विजेता मनकामना युवा क्लव रौतहटसँग, चैत्र ९ गते स्टार सिटी क्लब कैलालीसँग, चैत्र ११ गते धम्बोझी स्पोर्टस क्लब बाँकेसँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लब झापासँग खेल्ने छ ।