भौतिक संरचनाको सहि सदुपयोग हुन नसक्दा राज्यले नोक्सानी व्यहोर्र्दै आएको छ । कतिपय संरचना योजनाबिना बनाउँदा खण्डहर बन्दै आएका छन् भने कतिपय संरचनाको उचित संरक्षण हुन नसक्दा नोक्सानी सहनु परेको छ । फरक दलले सरकार बनाएपछि अघिल्ला योजनाहरु अलपत्र पर्ने नेपाली राजनीतिको विशेषता नै बनेको छ । त्यसकै शिकार ठूला योजना बन्ने गरेका छन् । यस्तै दुर्भाग्य व्यहोर्नुपर्ने अवस्थामा पछिल्लो पटक निर्माण हुँदै गरेको केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारका संरचनाहरु पर्दै गएका छन् । गौरीटारलाई प्रदेश सरकारले समेत महत्व दिएको छ । तर त्यसलाई कसरी उपयोग गर्ने भन्ने विषयमा स्पष्ट नीति राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारले बनाउन सकेको अवस्था छैन ।
लामो समयसम्म नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको रोप–वेका संरचना पनि भत्कने र विग्रँदै गएपछि अहिले जीर्ण भएका छन् । ती संरचनाको दुरुपयोगको चरम अवस्था छ । कतिपय ठाउँमा आकाशमै तारहरु लहरी रहेका छन् भने भुइँमा रहेका संरचनाहरु ध्वस्त नै भएको अवस्था छ । यसको संरक्षण तथा उपयोगमा राज्यका कुनै पनि निकायले ठोस पहल गरेको देखिँदैन । ठूलो लगानीमा निर्माण गर्ने तर सदुपयोग नगर्नु राज्य सम्पतिको दुरुपयोग नै हो । यही दुरावस्थामा रहेको रोप–वेको हेटौंडास्थित संरचनालाई संघीय सरकारले उपयोग गर्ने प्रयास सुरु गरेको छ । हेटौंडामा रहेको रोप–वेको लोडिङ स्टेशन बन्द भएको दुई दशकपछि सरकारले सवारी परीक्षण कार्यालयका लागि उपयोग गर्ने भएको छ ।
विगत २ दशकभन्दा बढी समयदेखि बन्द भएको रोप–वेको खाली जमिनमा सवारी परीक्षण कार्यालय हेटौंडाको भौतिक संरचना निर्माण गरिने तयारी भइरहेको छ । हेटौंडा–१, चौकीटोलस्थित रोप–वेको खाली जमिनमा सवारी परीक्षण कार्यालयको भौतिक संरचना बनाइने प्रक्रिया अगाडि बढाइएको छ । सवारी परीक्षण कार्यालय अहिले हेटौंडा–११ स्थित थानाभर्याङमा भाडाको घरमा सञ्चालित छ । रोप–वेको ३२ कठ्ठा जग्गा हाल यातायात व्यवस्था विभागको नाममा रहेको छ । सञ्चालनमा रहँदासम्म ५२ कठ्ठा क्षेत्रफल रहेको रोप–वेको जग्गा अहिले ३२ कठ्ठामा सिमित भएको हो । रोप–वेको जमिनमा विभिन्न सरकारी कार्यालयका भवन निर्माण गरिएको छ । संरक्षण नहँदा जग्गासमेत अतिक्रमणमा पर्ने खतरा हुने भएकाले सदुपयोगको पहललाई सकारात्मक रुपमा लिनु पर्दछ ।
हेटौंडा–काठमाडौं रोप–वे २०५४ सालसम्म सञ्चालनमा थियो । हेटौंडा सिमेन्ट तथा हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका विभिन्न सामानलाई रोप–वेबाट काठमाडौं पठाइने गरिएको थियो । सडक यातायातको तुलनामा ढुवानी लागत निकै सस्तो पर्ने भएकाले हेटौंडाका अधिकांश उद्योगले रोप–वेबाट काठमाडौं सामान पठाउँथे । हेटौंडाका अधिकांश स्थान र अन्य ठाउँमा रोप–वेमा लोड गरिएका सामानहरु हुकिङ गरेर चोरी हुने क्रम बढ्दै जाँदा र रोप–वेका भौतिक संरचना जीर्ण हुँदै गएका कारण रोप–वे सेवा बन्द हुन पुगेको हो । बन्द भएपछि रोप–वेका सामानहरु चोरी भएको अवस्था छ । दुरुपयोग भएका यस्ता अन्य स्थान तथा जग्गाको खोजी गरी राज्यले नागरिकका सेवामा प्रयोग गर्न सक्नु पर्दछ ।