आधुनिक माविको प्रधानाध्यापक विरबंश बैठासँग विद्यार्थी वर्षा महतो

हेटौंडाः राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविमा अध्ययनरत वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट आयोजित कविता वाचन प्रतियोगितामा सहभागी सातै प्रदेशका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले उपाधि हात पारेकी हुन् ।

‘नेतृत्वमा महिलाः कोभिड–१९ पछिको विश्वमा समान अवसर’ विषयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलाको संघर्ष, महिला नेतृत्व, कोभिड–१९ को विपदमा महिलाले खेलेको भूमिका आदि विषयमा विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रस्तुत कवितामा मूल्यांकन गर्दै आधुनिककी महतोलाई निर्णायकहरुको टोलीले बिजेता घोषित गरेको हो । निर्णायकहरुमा चर्चित कवि योगेन्द्र यादव, बिमला तुम्खेवा र दीपक रौनियार थिए । महतोको कविता ‘नारी नई छै केक्रो पर भारि’ले महिलाहरुलाई बोझ होइन बरु सशक्तिकरणको रुपमा चित्रित गरेको निर्णायकको ठहर छ ।

प्रतियोगितामा जननमुना माध्यमिक विद्यालय कर्णाली प्रदेशकी पूजा पाठकले महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार शीर्षकको कविताबाट द्वितीय स्थान हासिल गरिन् । त्यस्तै अमर माध्यमिक विद्यालय गण्डकी प्रदेशकी सृजना सापकोटाले ‘नेतृत्व हो नारीको’ र दमकदा नवदीप माध्यमिक विद्यालय लुम्बिनी प्रदेशकी सपना भण्डारीले ‘नेपाल र नारी’ शीर्षकको कविताका लागि तेस्रो पुरस्कार हात पारे । शीर्ष तीन विजेताहरुका लागि रचनात्मक क्षमता वृद्धि गराउन कार्यशालामा सहभागी गराइने आयोजकले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र रातो बङ्गला फाउण्डेशनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा यूएनडीपीका आवासीय प्रतिनिधि आयनी मेडागोंगोदा लेब तथा रातो बंगला फाउण्डेशनका अध्यक्ष शान्ता दीक्षितले मन्तव्य व्यक्त गरेका थिए । विद्यार्थीहरुलाई कवितामार्फत रचनात्मकरुपले आफ्नो विचार व्यक्त गर्न र लैंगिक समानतामा चेतना जगाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेशका विद्यार्थीहरुले भाग लिएका थिए ।