लैंगिक न्याय र लैंगिक समानताका मुद्दामा नेपालको नारीवादी आन्दोलनले निरन्तर आवाज मुखरित गरिरहेकै छ । तँ बलात्कारी होस्, हाम सीता न बनबौ, रेज अगेन्टस रेप, जस्टीस फर निर्मला सबै सदैव पितृसत्ताले गिजिलेको समाज, परिवार, राजनीति, अर्थ, सँस्कार आदिको विरुद्ध हो । पितृसत्ताले पुरुषलाई मनग्य शक्तिले सुसज्जीत गरेको छ भने महिला निम्ति भने स्त्री धर्म र पतिव्रत धर्मको गुणगान गाइरहन्छ । महिलाको अधिकारको कुरा गर्दा सामाजिक न्याय र समानतालाई मौकिल हक बनाएको संविधान र देशको शासको बागडोर सम्हालेको मान्छे महिला र महिला अधिकारको ट्याँउ ट्याँउ नगर भनेर सार्वजनिक रुपमा भन्छन् ।
यसले हाम्रो समाजको चरित्रलाई उदाङ्ग पारेको छ । हाम्रो समाज कसरी भालेवादी चरित्रको छ भन्ने थाह पाउन सरकारी नीति, ल्याउन खोजिने नीतिदेखि बजार, घर, चिया गफ अनी सामाजिक सञ्जाल जहाँ यसो एकफेर हेरे, पढे पनि पुगिहाल्छ । के महिलामाथि हुने गरेको हिंसा मात्र केहि घटनाहरु हुन् वा यो एउटा ऐतिहासिक रुपमा चलिआएको संरचनागत विभेदको अंश हो ? लैंगिक असमानताका विरुद्ध पुरुषले बोल्नु आवश्यक छ या छैन ? के सबै पुरुषहरु बलात्कारी हो वा भालेवादी संस्कृति र संस्कार यसको जिम्मेवार हो ? पितृसत्ताले पुरुषलाई असर गर्छ या गर्दैन ? हो यीनै विषयहरुको खोजि आजको आवश्यकता र अपरिहार्यता पनि हो । हामीले यीनै प्रश्नहरुको खोजि यो लेख मार्फत गर्न खोजिरहेका छौं ।
आज १११औं अन्तराष्ट्रिय महिला दिवस । कोभिडको समयमा स्वास्थ्य क्षेत्रमा अघिल्लो दस्तामा रहेर खट्नु भएका महिलाहरु प्रति हार्दिक नमन । संसारभर कोभिडको समयमा अग्रस्थानमा रहेर खट्ने काम महिलाहरुले गर्नु भयो त्यसअर्थमा कोभिडको विषम परिस्थितिबाट हामीलाई यो अवस्थामा ल्याइ पुराउनका लागि विश्वभरका महिलाहरुको ठूलो साथ र हात छ तथापि महिलाहरु पुरुषका तुलनामा ११ प्रतिशत कम रकम पाउँछन् । कोभिडको विरुद्ध लड्न विश्वभर बनेका ८७ वटा देशहरुका संयन्त्रहरुमा ३.५ प्रतिशत मात्र लैंगिक समानता देखिनु आफैमा आश्चर्य र दुखद छ । नेपाल र विश्वभरमा नै महिलाहरु औपचारिक क्षेत्रको तुलनामा अनौपचारिक क्षेत्रको श्रम बजारमा धेरै छन् र यहि क्षेत्रलाई कोभिडले धेरै सताएको छ ।
यो त्यो क्षेत्र हो जहाँ न श्रम अनुसारको ज्याला पाइन्छ, न लैंगिक समानतापूर्ण तलब । महिलाहरु न गर्भवस्थामा सहयोगी वातावरण प्राप्त गर्छन् त सुत्केरी विदा र भत्ता । तर सरकार अनौपचारिक श्रम क्षेत्रका लागि उपयुक्त प्याकेज ल्याउन पनि चुकेको छ । उसो त महिला तथा बालबालिका विभागले महिला तथा बालिकाउपर हुने हिंसा विरुद्ध पुरुष सहभागिताको रणनीति, २०७५ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७५ मा मेन लिडर नेटवर्क पनि अघि सारिसकेको छ तथापि यसको कार्यन्वयन कति फितलो छ भने बाहिरको त कुरै छोडौं सरकारी कार्यालयहरुमा नै यसको बारेमा जानकारी छैन । तथापि पछिल्लो समय राष्ट्रिय योजना आयोग देखि स्थानीय सरकारसम्मको आवधिक योजनादेखि लिएर सरकारले लैंगिक समानताका लागि तयार गर्ने हरेक नीति, रणनीतिहरुमा पुरुष सहभागितालाई विशेष महत्व दिदै आइरहेको छ भने सन् २००४ मा स्थापना भएको मेन ईन्गेज एलायन्स सन् २००७ मा नेपालमा स्थापना भएसँगै विकासे कार्यक्रमहरुमा पनि लैंगिक हिंसा अन्त्यमा पुरुष सहभागिताको प्रयास सुरु भएको पाइन्छ ।
खासमा पुरुष सहभागिता किन त ? लैंगिक समानताका कुरा गर्दा पितृसत्ता, पुरुषत्व र भालेवादको विरुद्ध आवाज उठाइरहँदा हामीले भुल्नै नहुने केहि कुराहरु छन् । पहिलो हो, सबै पुरुष विषद् पुरुषत्व (टक्सिक मास्कुलिनीटी) को अभ्यास गर्दैनन् । तसर्थ यी पुरुषहरुलाई हामीले उदाहरणको रुपमा प्रस्तुत गर्न आवश्यक छ । दोस्रो, निश्चित वर्गका पुरुषहरु पितृसत्ताको शासन गरिरहेका छन् । नेपाल लैंगिक, जातिय, वर्गिय र भैगोलिक रुपमा विभेदपूर्ण छ । त्यसअर्थमा केहि निश्चित जाति, निश्चित भुगोल र वर्गका पुरुषहरुले मात्र पितृसत्ताको लाभ लिइरहेका छन् भने लैंगिक समानता मात्र त्यस्तो अचुक औषधी हो जसले बाँकी सबै महिला, पुरुष, यौनिक तथा लैंगिक अल्पसंख्यकको मर्यादित जीवनको लागि बाटो परस्त गर्नेछ ।
तेस्रो कुरा हो लैंगिक समानता सबैको लागि जीत–जीत को अवसर हो । लैंगिक समानतापूर्ण समाज भनेको पुरुषको अधिकार कटौती गरी बाँकी समुदायमा हस्तान्तरण गर्ने नभई बाँकी समुदायका व्यक्तिहरुलाई पनि अवसर, सुविधा र अधिकारसम्पन्न गराउने हो । तसर्थ लैंगिक समानता पुरुष विरोधी नभई महिला विरोधी मानसिकताको अन्त्यको लाई जोडदार अपील गर्दछ । र चौथो कुरा हो सबै पुरुषहरुले विषद् पुरुषत्व अपनाउँदैनन् तर चाहेर पनि नचाहेर पनि हरेक पुरुष पितृसत्ताको कारण महिलाहरुको तुलनामा सुविधायुक्त जीवन बाँचेकै हुन्छन् । तसर्थ हरेक पुरुषको उत्तरदायित्व पनि हो कि उ लैंगिक समानताप्रति जिम्मेवारपूर्ण रुपमा अग्रसर होऊन् ।
असमान शक्ति पृथकीकरणले दिएको सुविधाको लाभ बारे सजग हुँदै सन् २०१५ बाट सुरु गरिएको अभियान हो, पुरुष पदयात्रा । विश्वमै पहिलो पटक नेपालबाट सुरु भएको यो पदयात्रामा हरेक वर्ष महिला दिवसको दिन लैंगिक समानताप्रति प्रतिबद्ध पुरुषहरु लैंगिक समानताप्रति हातेमालो गर्दै पदयात्रा गर्दछन् भने महिला, यौनिक तथा लैंगिक अल्पसंख्यकसमेत सहभागी हुने कोणसभामा ऐक्यबद्दता जाहेर गर्दछन् । यहि पुरुष पदयात्रा आज साँझ ४ः३० बजे हेटौंडाको शितल महल चोकबाट कपुर कम्प्लेक्स–मेन रोड हुँदै बुद्ध चोकमा पुगी कोणसभा र दिप प्रज्ज्वलन सहित समापन हुनेछ । हामी लैंगिक समानताका लागि मुखरित सम्पूर्ण पुरुष साथीहरुलाई सितल चोकमा ठिक चारबजे बाट भेला हुन र अन्य साथीहरुलाई बुद्ध चोकमा ४ः४५ मा भेला भई हेटौंडाकै पहिलो पुरुष पदयात्रा तथा महिलामाथि हुने हिंसा विरुद्धको पुरुष हातेमालो अभियानलाई सफल पार्नका लागि हार्दिक आव्हान र अपील गर्दछौं ।
ठकुरी पुरुष पदयात्राको संस्थापक हुन्, खतिवडा मेन इन्गेज एलायन्सका सल्लाहकार हुन्, पौडेल महिला अधिकारका क्षेत्रमा क्रियाशील पुरुष हुन् ।