हेटौंडाः मकवानपुर जिल्लामा वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन भएको छ । हेटौंडामा आइतबार सम्पन्न वन तथा कृषिमा आधारित उद्यम प्रवद्र्धन सम्बन्धी चार दिने बजार विश्लेषण र विकास तालिममा सहभागीले सञ्जाल गठन गरेका हुन् । पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहका विष्णु राईको संयोजकत्वमा ९ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

सञ्जालको सह—संयोजकमा न्यूरेनीकी कमला पोखरेल, सचिवमा मनकामनाका होमबहादुर मोक्तान, कोषाध्यक्षमा भैरवडाँडाकी पार्वती खतिवडा चयन हुनुभएको छ । सञ्जालको सदस्यमा सुन्दरकी लिलाकुमारी अर्याल, वनस्खण्डीकी मञ्जु नेपाल, सालघारीका मानबहादुर घलान, बुङ्दलकी संगीता घिमिरे चयन हुनुभएको छ । समितिमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको एकजना सदस्यपछि थप गरिने सामुदायिक वन उपभोक्ता महासंघ बागमति प्रदेश समितिका सचिवालय सदस्य रामहरी चौलागाईले बताउनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले आयोजना गरेको तालिममा उद्यम सञ्चालन भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ७ र मकवानपुरगढी गाउँपालिकाका ३ गरी १० वटा सामुदायिक वन उपभोक्ता समूहका ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहाल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक, वन तथा कृषि सहज कार्यक्रम संयोजक जनक आचार्य, सामुदायिक वन उपभोक्ता महासंघकी सचिवालय सदस्य आरती पाठक, कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख नूरप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ बागमति प्रदेशका सचिवालय सदस्य रामहरी चौलागाईले सहजीकरण गर्नुभएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम पुडासैनी, हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष शम्भुप्रसाद न्यौपाने तालिममा सहभागीका तर्फबाट चन्द्रप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।