हेटौंडाः उच्च अदालत पाटन हेटौंडा इजलाशले पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेपछि मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट आइतबारबाट पालिकाको काममा फर्किनु भएको छ । आइतबार पालिकामा पुगेर फर्कनुभएपछि दिनको ४ बजे पत्रकार सम्मेलन गरेर काममा फर्किएको जानकारी दिनुभयो ।

उच्च अदालत पाटन हेटौंडा ईजलाशले फागुन ५ गते राजीनामाका सबै प्रक्रिया खारेजको फैसला गरेपछि आइतबारदेखि कार्यालयमा उपस्थित भई काम शुरु गरेको उहाँले बताउनुभयो । विगतका नकारात्मक कुरालाई भुलेर नयाँ ढंग र नयाँ सोचले काम गर्ने प्रतिवद्धता जनाउनुहुँदै उहाँले कमी कमजोरी सुधार्दै जनताको काम गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल कम्यूष्टि पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवम् वागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले गुटगत राजनीतिका कारण ओली समूहले उपाध्यक्ष विष्टलाई हटाउन खोजेको बताउनुभयो । ‘राजिनामा विवाद मिलाउन पुस ५ गते पार्टीले तयारी थालेको थियो’, उहाँले भन्नुभयो, ‘तर त्यही दिन नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटनको कदम चालेपछि राजिनामा विवाद झनै चर्किएको थियो ।’

उपाध्यक्ष विष्टले अदालतबाट न्याय पाएको बताउनुहुँदै अध्यक्ष लगायतले गर्न खोजेपछि अदालतले पुनःबहाली गरिदिएको उहाँले बताउनुभयो । उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीशहरु मोहम्मद सावीर हुसेन र चण्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको थियो । विष्टले आफूले राजीनामा नदिएको भन्दै उच्च अदालतमा रिट दायर गर्नु भएको थियो । विष्टले गएको मंसिर २९ गते बुझाएको भनिएको राजीनामा पुस १७ गते गाउँपालिकामा दर्ता गरिएको थियो । उच्च अदालत पाटन हेटौंडा इजलाशले दिएको आदेश विरुद्ध गाउँपालिकाका अध्यक्ष सर्वोच्चमा जाने आशंका पनि उपाध्यक्ष विष्टको रहेको छ ।