हेटौंडाः तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ ल्होछारको अवसरमा कुलेखानी तामाङ समाजद्वारा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा दोस्रो ल्होछार विशेष कार्यक्रम भएको छ । ईन्द्रसरोवर गाउँपालिका–२ कुलेखानीको टोड्केमा शनिबार आयोजना गरिएको ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा शुभकामना आदानप्रदान तथा शान्ति पुजा भएको हो ।

स्थानीय पर्यटन प्रबद्र्धनका लागि सञ्चालित कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्य तथा गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा स्थानीय गायकहरु रबिन्द्र लामा, अशोक तामाङ, राष्ट्रिय गायकहरु विजय लामा, लोकेन लामा, जोगलाल लामा, रञ्जित लामा, प्रेम लामा, सिजम मगर लगायतको सांगीतिक प्रस्तुतिसहित भिमफेदी गाइजको पनि प्रस्तुति रहेको थियो । साथै कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकि प्रदर्शन, तामाङ भेषभुषा र स्टलहरु रहेको थियो ।

कार्यक्रममा ४ नम्बर वडाध्यक्ष धनवीर स्याङ्तानले तामाङहरु नेतृत्वमा पछाडि भएको औँल्याउँदै आफ्नो हक अधिकार प्राप्तिका लागि एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । १ नम्बर वडाध्यक्ष जमान सिं वाईबाले पर्यटकीयस्थल ईन्द्रसरोवरमा तामाङ संस्कृतिलाई देखाएर पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीय सरकार र होटल व्यवसायी संघले समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले वार्षिक रुपमा एउटा कार्यक्रम गरेर तामाङहरुको स्तरउन्नति नहुने बताउँदै तामाङहरुको स्तरउन्नति र विकासका लागि योजना लिएर आएमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले तामाङहरुले कुसंस्कार र चलनहरुलाई छोड्दै अघि बढ्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष जीवन लामाले वीर तामाङहरुले तामाङहरुको अधिकारका लागि जीवन दिएका कारण अहिले तामाङहरुको अस्तित्व बाँकी रहेको बताउँदै अब एकता कायम गर्न नसकेमा अस्तित्व खतरामा पुग्न सक्ने भएकाले तामाङहरु आपसमा लड्ने नभई सबैको अधिकारका लागि लड्ने समय आएको बताउनुभयो । साथै तामाङ तथा जनजातिको हक अधिकार र संस्कृतिको लागि गाउ“पालिकाले सधै सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । विभिन्न सहयोगीमनहरुबाट करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको आयोजक समितिका अध्यक्ष वीरेन्द्र गोलेले जानकारी दिनुभयो ।