सामुदायिक भवनको उद्घाटन गर्नुहुँदै मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा–६, चौघडामा रोहनी हाउजिङ एण्ड स्वस्तिक डेभलपर्स प्रालिले निर्माण गरेको सामुदायिक भवनको उद्घाटन गरिएको छ । रोहनी हाउजिङ एण्ड स्वस्तिक डेभलपर्स डेभलपर्स प्रालिले विकास गरेको आवास क्षेत्रमा छुट्याइएको खुला क्षेत्रमा निर्माण गरिएको सामुदायिक भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभएको हो ।

सामुदायिक भवनको उद्घाटन लगत्तै मेयर महतले ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई सामुदायिक भवनको चावी हस्तान्तरण गर्नुभएको छ । रोहनी हाउजिङ एण्ड स्वस्तिक डेभलपर्स प्रालिले व्यवस्थित आवास क्षेत्र विकास गर्ने क्रममा ३ कठ्ठा जमिन खुला क्षेत्रको रुपमा छुट्याएर व्याडमिन्टन कोर्ट, खुला जिम, बालउद्यान निर्माण गर्नुका साथै सामुदायिक भवन निर्माण गरेको हो । एक सय ५० जना क्षमताको सामुदायिक भवनले विकासित गरिएको आवास क्षेत्रमा बसोबास गर्ने समुदायसगै ६ नम्बर वडावासीलाई सहयोग उपयोगी हुने रोहनी हाउजिङ एण्ड स्वस्तिक डेभलपर्स प्रालिका अध्यक्ष ध्रुव घिमिरेले बताउनुभएको छ ।

सामुदायिक भवनको उद्घाटन गर्नुहुँदै मेयर महतले व्यवसायीले जिम्मेवार भएर व्यवस्थित आवास क्षेत्र र खुला क्षेत्र निर्माण गरेको भन्दै प्रशंसा गर्नुभयो । व्यवसायीले जिम्मेवार भएर व्यवस्थित आवासीय क्षेत्र विकास गर्दा स्थानीय सरकारको सहयोग रहने उल्लेख गर्नुहुँदै मेयर महतले उपमहानगरका केही वडामा प्लटिङ खुला रहेको र केही दिनमै थप वडाहरुमा पनि प्लटिङ खुला गरिने जानकारी दिनुभयो । स्थानीय सरकारले प्लटिङ रोके पनि अंशवण्डाको नाममा प्लटिङ भइरहेको मेयर महतको भनाइ छ ।

सामुदायिक भवन उद्घाटन कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले निजी क्षेत्रबाट विकसित गरिएको आवास क्षेत्रले वडाको व्यवस्थित विकासमा सहयोग पुग्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले असहज परिस्थितिका बीच केही सकारात्मक काम भइरहेको उल्लेख गर्नुहुँदै व्यवसायीलाई पेशागत मर्यादामा रहेर काम गर्न आग्रह गर्नुभयो । रोहनी हाउजिङ एण्ड स्वस्तिक डेभलपर्स प्रालिले ७२ कठ्ठा जमिनमा १० धुरका एक सय चार वटा घडेरी तयार गरेको छ ।