हेटौंडाः बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश सरकार मातहतका ५ वटा जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने गरी एम्बुलेन्स खरिद गरेको छ । २९ लाख २० हजार रुपैयाँका दरले ५ वटा एम्बुलेन्स एक करोड ४६ लाख रुपैयाँमा खरिद गरिएको छ । काठमाडौंको प्राइम अटो टेक नेपालमार्फत खरिद गरिएको एम्बुलेन्स मंगलबार हेटौंडास्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुगेको छ ।
प्राविधिक परीक्षणपछि एक साताभित्रै प्रदेश सरकारमातहका ५ जिल्ला अस्पतालमा एम्बुलेन्स पठाइने केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभएको छ । बागमती प्रदेश सरकारले हेटौंडा अस्पतालसहित धादिङ जिल्लाको धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र सिन्धुली जिल्लाको सिन्धुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिनेछ । गत भदौमा २० गते सूचना प्रकाशित गरेर टेण्डर प्रक्रियामार्फत एम्बुलेन्स खरिद प्रक्रिया सुरु गरेको थियो । आपूर्तिकर्ता कम्पनि छनोट गरेर पुस ८ गते सम्झौता गरिएको थियो ।
प्रदेश सरकारले ‘ख’ वर्गको एम्बुलेन्स वितरण गर्न लागेको हो । ‘ख’ बर्गको एम्बुलेन्समा बिरामी राख्ने पर्याप्त ठाउँ, सक्सन मेसिन, इसीजी मोनिटर, अक्सिजन सिलिण्डर, बेसिन र औषधी समेत रहन्छ । प्रदेश सरकारले मातहतका अस्पतालको क्षमता विकास गर्नुका साथै सबै जिल्लामा मातहतका अस्पताल स्थापना गर्न लागेको आपूर्ति केन्द्रका प्रमुख अधिकारीले बताउनुभएको छ । प्रदेश सरकार मातहतका ८ वटा जिल्ला अस्पतालमा शवलाई सुरक्षित राख्न मचुरी चेम्बर स्थापनाको काम पनि भइरहेको छ ।