बु्ढ्यौली साहित्य समाजका संयोजक आरसी रिजाल ।


आज मेरो लागि हैन, तपाईंहरुको लागि स्वस्थानी माताको गाथा गाउन मन लाग्यो । केटाकेटीमा पर्सादीको लोभले स्वस्थानी सुन्थेँ । युवावस्थामा पुगेपछि परिवारका रहरको लागि स्वस्थानी बाचन गर्न लागेँ । जब स्वस्थानी धर्मको मर्म बुझ्दै आएँ, अनि मैले यसलाई पाखा लाएँ ।

स्वस्थानी र सन्तोषी माता सबैभन्दा पछिका देवी हुन् । जहाँसम्म लाग्छ, सन्तोषी माता त मभन्दा पनि कान्छी होलिन् । (यसको अर्थ मलाई मान्नुस् भन्न खोज्या हैन) । स्वस्थानीबारे अन्य धर्मशास्त्रमा कतै व्याख्या छैन भनी पण्डितको मुखारबिन्दबाट पनि सुनिन्छ । अठार पुराणको रचयिता बेदव्यास, रामायणका वाल्मीकि र वेद भगवानको श्वासप्रश्वासबाट भने झैं स्वस्थानीको किताब फर्काएर हेर्नुस्, रचयिताको नाम निशान छैन । अनि यसो सोच– ठिकै हो, गतिलो कुरा लेखेको भए पो नाम राख्नु । म त लाजले नाम उल्लेख नगरेको हो कि भन्ने निक्र्योलमा पुगेँ ।

यतिचाहिँ ठोकुवा गर्न सकिन्छ– कृष्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा अघि स्वस्थानी लेखिएको हुनपर्छ । नत्र सतीदेबीको लास काँधमा बोकेर भौंतारिएका महादेव युरोप, अमेरिका पनि पुग्थे । किन हिमालयको छेउछाउ अर्थात् भारत वर्षमा मात्र भौंतारिए ? कुरो प्रष्ट छ– स्वस्थानीका रचयितालाई जति स्थानको ज्ञान थियो, उति स्थानमा महादेवलाई कुदाए । ऐले स्वस्थानी रच्नुपर्ने भए महादेवलाई अन्टार्कटिकासम्म पु¥याउँथे होलान् । कयौं देशमा सतीदेवीको कुहिएको अंग खसालेर पवित्र तुल्याउँथे । शाली नदीको स्थान मिसिसिपी, मिस्यौरीले पाउ“थिन् होला । यस्तो भएको भए त्यहा“ स्नान गर्न जा“दा नेपाली भक्तालुले ठूलो विदेशी मुद्रा खर्चिनु पथ्र्यो ।

जे होस्, यसका रचयितालाई छट्टु नै मान्नुपर्छ । स्वस्थानी व्रत विशेषत नेवार, बाहुन, क्षेत्री आदिले लिएको देखिन्छ । अन्त टाढा पुग्नै पर्दैन, हाम्रो तराईबासी (पहाडी मुलबाहेक)लाई सोध्नुस्, कत्तिले त, ‘तपार्ईंले भनेपछि मात्र चाल पाएँ स्वस्थानी माता भन्ने देवी पनि छिन् र ?’ भन्छन् ।

बिचरी ती अबोध बालिका गोमालाई महादेवले भिक्षु रुप धारण गरी श्राप दिएर सत्तरी वर्षे वृद्ध शिव शर्मासँग विबाह गर्न बाध्य गराए । यस्तो घटना सुन्दा चित्त नदुखाउने को होला र ? ऐलेको अवस्थामा भए लेखकलाई चौखु¥याएर बाल विबाहमा प्रोत्साहन गरेको आरोपमा जेल चलान गर्थे होलान् । हुन त स्वस्थानीको मुल पात्र (हिरो) महादेव नै हुन् । यिनले छोरा गणेश र ससुरा दक्ष प्रजापतिको टाउको फँडान गरी हात्ती र बोकाको जडान गरेको देख्दा केही खुबी भएझैं लाग्छ ।

महादेवलाई विकृतिको पर्याय ठाने हुन्छ । भाङ, धतुरो तान्ने सायद यिनलाई टोक्दा सर्प नै मर्ने भएकाले हुनसक्छ, निर्धक्क भई सर्पको माला धारण गरेका । ऐलेका स्म्याक तान्ने युवा त यिनको एक छेउ पनि हैनन् । जीउमा भस्म घस्ने नागा बाबा पनि उनैको भक्त ठान्छन् । कस्तो लाज पचेका महादेव, ‘पशुको रुप धारण गरी सोही समूहमा उठ्वस गर्न सक्ने । त्यसैले पशुपति कहलिएका हुनुपर्छ । यस्तालाई पति पाउँ भनी शिवलिङ्ग पूजा (टाउकोको पूजा गर्दा के हुन्थ्यो ?) गर्ने हिमालय पुत्रीलाई के उपाधि प्रदान गर्ने ? त्यसको खोजीमा छु । गोमा, सतीदेवी र चन्द्रावतीले भोग्नु परेको दर्दनाक व्यथा पढ्दा महिलामाथि चरम शोषण गरेको ठहर्छ, स्वस्थानीले । भानुभक्तको बधु शिक्षामा खोट देख्ने समाजले स्वस्थानीको चोटचाहिँ कसरी खप्न सकेको होला ? यसमाथि कार्यपत्र प्रस्तुत गरी मन्थन गर्नुपर्ने हो कि ?

कस्तो दरिद्र सोचाई हो– स्वस्थानी पूजाको एकसय आठ विभिन्न परिकारका प्रसाद भए छोरा, नभए मितछोरा, त्यो पनि नभए गंगामा लगेर सेलाउने । कठैबरी, प्रसादीसमेत मुखमा हाल्न नपाउने के अछुतै हुन् त छोरीहरु ? अनि अग्निले भस्म नगरेकी सतीदेवीलाई क्षमतावान महादेवले किन प्राण नभरेका ? यस्तो अवस्था देख्दा लेखकले छोरीहरुसँग जोरी खोजेको प्रष्टै भान हुन्छ ।

उतिबेला गाउँघरमा फलानोकोमा ‘स्वस्थानी कथा सुन्न जाऔँ’ भन्ने लवज ऐले मलाई झ्वाट्ट याद आयो । अनि बर्षौदेखि दराजको कुनोमा थन्किएको स्वस्थानी पुस्तक टक्ट्क्याएँ । नभन्दै ‘स्वस्थानी कथा’ उल्लेख गरेको पाए । यत्रो दुःख गरेको लेख बेकार झैँ लाग्यो । आफैंलाई लोप्पा ख्वाएँ । स्वस्थानीसँग कथा जोडिएकाले मैले यसलाई राजकुमार दिक्पालको ‘दन्त्यकथा’ भन्दा फरक ठानिनँ । तर मैलेमात्र ठान्न भएन, तपाईंहरुले पनि मान्न प¥यो ।