सौर्य सिद्धान्तको मान अनुसार माघ महिना आरम्भ हुने प्रथम वा पहिलो दिनलाई माघे वा मकर सङ्क्रान्ति भनिन्छ । सङ्क्रान्तिको अर्थ हो सङ्मण हुनु वा सर्नु । ग्रहहरु आ—आफ्नो गतिमा घुम्ने जुन बाटो छ त्यस बाटोलाई वा घुम्ने प्रक्रियालाई सङ्क्रान्तिवृत्त भनिन्छ । सङ्क्रान्तिवृत्त १२ प्रकारका वा विभागका छन् जसलाई राशी पनि भनिन्छ । यी नै बाह्र राशीहरुमा ग्रहहरु परिभ्रमण गर्ने गर्दछन् । यसै अनुसार सबै ग्रहहरुको संसरणलाई नै सङ्क्रान्ति भनिन्छ । तर पछि आएर सूर्य परिभ्रमण गर्ने राशीलाई मात्र सङ्क्रान्ति भन्न थालियो,त्यसैले भनिन्छ “खेःसंक्रमण राशी सङ्क्रान्ति रिति कथ्यते ।”
प्रतिमहिना सूर्यसंक्रमण हुने १२ सङ्क्रान्तिलाई ४ भागमा विभाजन गरिएको छ । त्यस अनुसार उत्तरनारायण र दक्षिनारायण आरम्भ वा सुरु हुने दुवैलाई अयन नामको सङ्क्रान्ति भनिन्छ । यस्तो अयन नामक सङ्क्रान्तिमा कर्कट र मकर पर्दछन् । दिन र रात बराबर हुने सङ्क्रान्तिलाई विषुव सङ्क्रान्ति भनिन्छ र यिनमा मेष(वैशाख) र तुला(कार्तिक) पर्दछन् । मिथुन (आषाढ),कन्या(आश्विन),धनु(पौष)र मीन चैत्र यो सङ्क्रान्ति वा महिनाहरुलाई षडशोति भनिन्छ । विष्णुपदि वा विष्णुपद अन्तर्गत वृष,सिंह,वृश्चिक र कुम्भ सङ्क्रान्ति पर्दछन् । मलमास वा अधिकमास पर्दा पनि सङ्क्रान्तिको संख्या बाह्रै हुन्छ । किनभने यस(सङ्क्रान्ति) को सम्बन्ध सौरमानसितै मात्र हुन्छ ।
सूर्य संक्रमण हुने सङ्क्रान्तिको प्रमुख सम्बन्ध छ पुण्यकालसित । किनकी सङ्क्रान्ति प्रवेश हुने पछिल्लो ४० घडी वा सोह्र घण्टालाई सामान्य रुपमा पुण्यकाल भनिन्छ र त्यसको पनि अर्थमाग वा आठघण्टा र अझ त्यसमा पनि सूर्योदय हुनु अघिको दुईघण्टालाई त पवित्रतम काल भनिन्छ ।
कुनै पनि काल वा समय विशेषको पवित्रताले पुण्यकृत्यसित सम्बन्ध राख्नु स्वाभाविक ठहरिन्छ । सूर्यको राशि संक्रमणलाई नै सङ्क्रान्ति भनिन्छ र यस दिन गरिने स्नान,दान,तपस्या,होम तथा श्राद्ध आदि क्रिया पनि महाफलदायी हुन्छ ।
सङ्क्रान्तिका दिन गरिने कृत्यले दुई कुरालाई महत्व राख्दछ, १- व्रत २-स्नान,दान आदिसित सम्बन्ध राख्दछ । यस दिन व्रत गर्ने कुराको उल्लेख मत्स्य पुराणमा पाइन्छ । व्रत बस्नेले अघिल्लो दिन मध्यान्हमा एकछाक खाई यस दिन बिहान तिल मिश्रित जलले स्नान गर्ने र तिलैको हवन गर्ने विद्यान छ । स्नानका लागी सके गंगाजलमा वा हिमनदीमा अत्युत्तम मानिएको छ । सङ्क्रान्तिका दिन स्नान गर्नुपर्दछ,स्नान नगर्ने सातजन्म सम्म रोगी हुन्छन् भन्ने बचन धर्मसिन्धुमा रहेको छ ः
रविसंक्रमणे प्राप्ते न स्नायद्यस्तु मानव ।
सप्तजन्मसु रोगी स्थान्निर्धनश्चैव जायते ।।
स्नानले शारीरिक शुद्धि मात्र नभई धर्मसँग पनि सम्बन्ध रहेकाले र चित्त शुद्धिसँग पनि यसको अर्थ जोडिएकाले माघे सङ्क्रान्तिका दिन देवघाट,दोलालघाट,शंखमूल,बराहक्षेत्र,रिडी,दमौली,त्रिवेणी,गण्डकी आदि नेपालका अनेकौँ ठाउँमा मेला लाग्दछन् भने गंगासागर स्नान पनि यहि दिन बढी महत्वको मानिन्छ । प्रयागको त्रिवेणी स्नान पनि सङ्क्रान्तिको अर्को ठूलो विशेषता हो । स्नानपछि गरिने अर्को कृत्य दान हो । प्राणी समुदायप्रति निःस्वार्थ भावले गरिने दया र दानले धर्मको वृद्धि गर्दछ । दानको महत्व प्राचिनकाल देखि नै मानि आएको छ । दान गर्नु भनेको नै मित्तिक र काम्य कर्मभन्दा पनि नित्यकर्म भित्र मानिएको छ । त्यसैले क्षमता अनुसारको दान दिनदिनै गर्नुपर्दछ । त्यस्तो दान सङ्क्रान्ति जस्तो पुण्यकाल,पवित्रकाल र सुपात्र समेत मिलाएर दिन सके अत्युत्तम ठहरिन्छ ।
स्नान, दान पछि श्राद्ध र होमजस्ता पितृ एवम् देवतासित सम्बन्ध राख्ने कृत्य आजका अन्य कर्तव्य ठहरिन्छन् । श्राद्ध होम जस्ता कृत्य सम्पन्न गर्नुले दुई किसिमका दृष्टिकोण प्रस्तुत गर्दछन् । तिनमा एकले पितृ र देवताप्रतिको प्रत्युपकारी भाव दर्शाउँछन् भने अर्कोले पितृलोक र देवलोकसम्म हाम्रो सम्बन्धसूत्र कायम गर्छन् । यसरी कालपरिवर्तन अनुसार बेलामौका दोहरी तेहरी गर्दै आउने चाडपर्वले यस्ता सम्बन्ध सूत्रलाई नविकरण गर्दै दृढ तुल्याउँछन् ।
सङ्क्रान्ति या संक्रमले हामीलाई अर्को कुरा पनि संकेत गर्दछ,त्यो के हो भने जीवनावधिमा आयुविज्ञानप्रतिको सजगता । यद्यपि समयका विभिन्न नामले व्यक्तिको जीवनसित कालको वा समयको सम्बन्ध अनिवार्य रुपमै गाँसिएको हुन्छ तर पनि संसार यात्रामा गोता लगाउँदै हिंड्ने मानिसको लागी सामान्य कालयापन नगण्य हुन्छ । त्यसरी नगण्य ठान्नेलाई पनि प्रतिमास पर्ने संसङ्क्रान्तिले केही सजग र उद्बुद्ध तुल्याउँछ ।
गतिबोधक अयनसङ्क्रान्तिले त अझ त्यसमा थप सहयोग पुर्याउँछन् । हुन त महाभारत वनपर्वको यक्षयुधिष्ठिर संवादमा आश्चर्य के हो ? भन्ने प्रश्नको उत्तर दिँदा युधिष्ठिरले भनेका हुन् ।
प्रतिदिन जीवनावधि सकिएका मानिसहरु यमलोकको यात्रा गर्दैछन् । यस्तो देखेर पनि आयु बाँकी रहेकाहरु निर्धक्कसित आत्मकल्याणमा सजग नबनी आयुको दुरुपयोग गरिरहेका छन् । यसभन्दा बढी आश्चर्य लाग्दो कुरा अरु केही पनि देखिन्न र छैन पनि । अर्जन,सर्जन र भोजनका कुरा चाँहि तिव्र रुपले बुझ्ने तर आत्मकल्याणको काम कुरा चाँहि साधारण सङ्क्रान्ति वा अयनसङ्क्रान्ति जेसुकैले संकेत गरेपनि नबुझ्ने वा नबुझेजस्तो गर्ने तर समय गुज्रेपछि पछुताउँनेको चाँहि केही औषधी छैन जस्तो लाग्छ ।
अन्त्यमा भगवान् सूर्यनारायणको उत्तरायण गतिको शुरुवातको दिन वा मकर सङ्क्रान्ति दिनका दिन स्नान,दान,तप,जप,होम र श्राद्ध आदि कर्म विशेषले मानव मात्रका लागि नभई सम्पूर्ण चराचर जगतका प्राणीको उद्धार र दया,दानका लागि पनि यो अयन नामको मकर सङ्क्रान्तिले सुकार्य थपेको कुरा नकार्न मिल्दैन भन्दै यो लेखलाई विराम दिन्छु । अस्तु ।