हेटौंडाः २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मकवानपुरमा शुक्रबार प्रभातफेरी भएको छ । यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा–साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।
हेटौंडा–४, स्थित भुटनदेवी विद्यालयबाट सुरु भएको प्रभातफेरी स्कूलरोड, सिमाचोक, बुद्धचोक, लोकप्रियचोक हुँदै जिल्ला समन्वय समिति मकवानपुर परिसरमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलालले सम्बोधन गर्नुहुँदै भूकम्पको काम जिल्लामा अन्तिम चरणमा पुगेको भन्दै छिट्टो सक्न प्राविधिकहरुलाई आग्रह गर्नुभयो ।
यस्तै सभालाई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पनि सम्बोधन गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा, भवन र स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालय मकवापनुरको आयोजनामा प्रभातफेरी कार्यक्रम भएको थियो ।