हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा गोसाईंकुण्ड एकीकृत विकास आयोजनाबारे अन्तरक्रिया भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको प्रमुख आतिथ्यतामा, सचिव सञ्जीव बराल तथा रसुवा जिल्लाबाट निर्वाचित बागमती प्रदेश सांसद प्रभात तामाङ, गोसाईंकुण्ड गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरुसँग आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा बोल्नुहुँदै भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले गोसाईंकुण्ड एकीकृत विकास आयोजनालाई बहुवर्षीय आयोजनाको रुपमा अगाडि बढाइएको बताउनुभयो । आयोजनाको सबै पूर्वाधार अपाङ्ग र वातावरणमैत्री हुने मन्त्री फुयाँलले बताउनुभयो । बागमती प्रदेश हरित प्रदेशको रुपमा विकास हुँदै गएको भन्दै हरेक संरचनाको निर्माण फरक–फरक स्थानअनुसारकै वातारणमैत्री बन्ने बताउनुभयो । उहाँले गोसाईंकुण्ड एकीकृत विकास आयोजनामा निर्माण हुने भौतिक संरचना भूकम्पप्रतिरोधी हुनेमा कुनै पनि सम्झौता गर्न नसकिने बताउनुभयो । एकीकृत आयोजनाले गोसाईंकुण्डको तालतलैया कसरी जोगाउने, त्यहाँको सांस्कृतिक, धार्मिक विश्वासलाई कसरी जोगाउने भन्ने विषयलाई पनि महत्वको साथ लिएको मन्त्री फुयाँलले जानकारी दिनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आयोजना अगाडि बढाउन सक्रियता देखाएका कारण यसअघि ५ करोड रुपैयाँ खर्च अनुमान गरिएकोमा केही रकम वृद्धि हुने देखिएमा पनि आयोजना अगाडि बढाइने मन्त्री फुयाँलले प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री पौडेलेको इच्छाशक्तिका कारण गोसाईंकुण्ड एकीकृत आयोजना अगाडि बढेको भन्दै छिट्टै काम सक्न निर्देशन दिनुभएको पनि मन्त्री फुयाँलले बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले प्रदेश सरकार तथा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएकोमा पारित गर्न सांसदहरुको मत नपुग्ने भन्दै पारित हुनै नसक्ने दाबीसमेत गर्नुभयो । मुख्यमन्त्री पौडेलले विश्वासको मत लिएर गोसाईंकुण्ड आयोजनाको अवलोकन गर्न जाने पनि उहाँले बताउनुभएको छ ।
अन्तरक्रियामा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले गोसाईंकुण्ड पर्यटकीय क्षेत्रसँगै धार्मिक स्थल भएको बताउनुभयो । भारतीयहरु कैलाश पर्वत भनेर तिब्बतसम्म पुग्ने गरेको भन्दै हाम्रो देशको लागि कैलाश पर्वत भनेकै गोसाईंकुण्ड भएको उहाँले बताउनुभयो । गोसाईंकुण्डको उचित विकास गरेर व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गोसाईंकुण्ड धार्मिक हिसाबले पनि हिन्दूको मात्रै नभएर बौद्धहरुको पनि धर्मथलो भएको भन्दै गुम्बाको पनि निर्माण गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । लामाको गुफा बस्ने स्थान भएको भन्दै गुम्बा पनि बनाउन सुरुवात गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । जनैपूर्णिमामा हिन्दू र बौद्धले एकैथानमा पूजा गर्ने देशकै एकमात्र स्थान गोसाईंकुण्डमात्रै भएको पनि उहाँले दावी गर्नुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले भोलिका दिनमा भत्काउन नपर्नेगरी पूर्वाधारहरु बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले यो हप्तामा प्राविधिक काम सबै सकाएर मन्त्रालयमा फाइल पेश गर्न आग्रह गर्नुहुँदै आउँदो हप्ता आयोजनाको काम अगाडि बढाउन टेन्डर निकाल्नेसमेत बताउनुभयो । उहाँले गोसाईंकुण्ड पर्यटकीय स्थल भएका कारण बन्ने भौतिक संरचना तथा आयोजनाको कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । खर्च बढेपनि गुणस्तर र मन्दिर मर्मत गरेर आकर्षक हुनुपर्ने बताउनुभयो । प्राकृतिक सुन्दरतालाई कायम गर्दै गोसाईंकुण्डलाई पनि सरसफाई गर्नुपर्ने उहाँले बताउनुभयो ।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गोसाईंकुण्डदेखि त्रिशुलधारा जाने बाटो नभएको भन्दै आयोजनामा भएका कामभन्दा पनि आवश्यकताको आधारमा पदमार्ग निर्माण हुनुपर्नेमा जोड दिनुभयो । गोसाईंकुण्डबाट त्रिशुलधारा जाने बाटो राम्रो नभएका कारण करिब ८ सय मिटरको बाटो प्रदेश सरकारले बनाइदिन उहाँले आग्रह गर्नुभयो ।
गोसाईंकुण्डमा हेलिकप्टरबाट दैनिक १० वटासम्म उडान हुने भएका कारण हालको हेलिप्याड कामचलाउमात्रै भएको भन्दै एमआई १७ हेलिकप्टर ल्यान्डिङ गर्न मिल्ने हेलिप्याड बनाइनुपर्ने आवश्यकता भएको अध्यक्ष तामाङले बताउनुभयो । यसबारे भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ । हेलिप्याड निर्माण गर्दा पर्यटकको पनि वृद्धि हुने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । उहाँले प्रदेश सरकारले गोसाईंकुण्डको एकीकृत विकास आयोजना अगाडि बढाउँदा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारले गोसाईंकुण्ड एकीकृत विकास आयोजनाका लागि ५ करोड ४१ लाखको लागत अनुमान गरेको छ । आयोजनामा गोसाईंकुण्ड नजिकै ३ वटा अपाङ्गमैत्री शौचालय, ५ वटा पाटी–पौवा निर्माण गरिने भएको छ । यस्तै, नाचघर, २ सय ८० मिटरको पानी जाने नाला तथा ३ सय मिटरको पाइप बिछ्याएर पानी कटाउने योजना समावेश गरिएको छ ।
एक हजार ३ सय २० मिटर पैदलमार्ग निर्माण, गोसाईंकुण्डमा नुहाउने र कपडा परिवर्तन गर्ने घर, सोलार बत्ती जडानलगायतका काम आयोजनामा समेटिएको शहरी विकास तथा भवन कार्यालय नुवाकोटका निमित्त प्रमुख सञ्जय पाण्डेले बताउनुभयो । यस्तै, गोसाईंकुण्ड मन्दिरको मर्मतका लागि ४२ लाख ८५ हजार बजेट खर्च हुने अनुमान गरिएको छ । मन्दिरको चौडाइ र लम्बाइ फराकिलो बनाइने तथा गजुर राखिने भएको छ । यसबारे गाउँपालिका र प्राविधिकहरुले अझै पनि छलफल गर्दैछन् ।
आयोजनाले हरेक वर्ष गोसाईंकुण्ड जाने पर्यटक तथा भक्तजनहरुले पाटीपौवामा बास बस्न मिल्ने, महिलामैत्री, अपाङ्गमैत्री भवनहरु बन्ने तथा खानेपानीको उचित व्यवस्था हुनुका साथै गोसाईंकुण्डमा हुने फोहोर व्यवस्थापनलगायत त्यहाँको धार्मिक विश्वास, संस्कृतिको पनि जगेर्ना गर्ने विश्वास लिइएको छ ।
अन्तरक्रियामा गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष करग्याल्मू श्रेष्ठ, वडा अध्यक्षहरु सिंगी दिण्डुप तामाङ र दावट तामाङ, गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएम, जिल्ला समन्वय समिति रसुवाका सदस्य तेम्पा ग्याल्वो घले र नुर्पू छिरिङ तामाङलगायतको उपस्थिति रहेको थियो ।