हेटौंडाः हेटौंडा अस्पतालमा कार्यरत अस्पताल विकास समिति मातहतका कर्मचारीहरुले स्थायी गर्न माग गर्दै आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीलाई अनुरोधपत्र बुझाएको छ । हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनले लामा समयदेखि काम गर्दै आएका कर्मचारीहरुको योग्यता र क्षमताको आधारमा स्तर तहमा स्थायी गर्नुपर्ने माग गर्दै अनुरोधपत्र पेश गरेको हो ।
बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णय गरी आवश्यक कार्य गरिरहेको छ । लामो समयदेखि अस्पताल विकास समितिको मातहतमा कार्यरत कर्मचारीहरुले अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने भएपछि स्थायी नियुक्तिका लागि तीन बुँदे मागपत्र पेश गरेका हुन् ।
हेटौंडा अस्पताल विकास समितिअन्तर्गत्का कर्मचारीहरुले प्रतिष्ठानको ऐन, नियमअनुसार एक पटकका लागि आन्तरिक प्रक्रिया पूरा गरी स्थायी गरिनुपर्ने माग पेश गरेका छन् । एकपटकका लागि कार्यरत कर्मचारीलाई मौखिक मूल्यांकनको आधारमा सामान्य प्रक्रिया पुर्याई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्नुपर्ने माग पेश गरिएको हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष हीरालाल तामाङले जानकारी दिनुभयो ।
हेटौंडा अस्पतालमा लामो समयदेखि कार्यरत १ सय ४५ जना करारका कर्मचारीहरुले स्थायी नभएको भन्दै अस्पताल प्रतिष्ठानमा रुपान्तरण हुने भएकोले एक पटकका लागि युनियनमा दर्ता भएका सबै कर्मचारीलाई दरबन्दी सिर्जना गरेर स्थायी गर्न अनुरोध गरिएको युनिएनका अध्यक्ष तामाङले बताउनुभयो ।
कर्मचारी युनियनका अध्यक्ष तामाङ, उपाध्यक्ष सविता पौडेल, सचिव सुमन कार्की, सहसचिव राजीव श्रेष्ठ, कोषाध्यक्ष मीना शर्मासहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईं, निर्देशक हरिबहादुर खड्का, शिक्षाध्यक्ष सतिश देव तथा संयोजकलगायतको उपस्थितिमा उपकूलपति जोशीलाई मागपत्र बुझाइएको हो ।