मकवानपुरको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिने ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिने तयारी भएको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि तीन वर्षदेखि गरिँदै आएको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।

आगामी माघ महिनामा बालमैत्री स्थानीय तह घोषणा गरिने तयारी भएको अध्यक्ष खनालले बताउनुभएको छ । बालमैत्री घोषणाका लागि हालसम्म भएका तयारीको बारेमा गाउँपालिकाले छिट्टै जानकारी सार्वजनिक गर्दैछ । १७ हजार बालबालिका रहेको बकैया गाउँपालिकाले तीन वर्षदेखि बालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक ३९ सूचकहरु पूरा गर्ने गरी कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको छ ।

भौगोलिक विकटताका कारण केही सूचकहरुमा अझै पनि काम भइरहेको तथा अधिकांश सूचकहरु गाउँपालिकाले पूरा गरेकाले तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले बताउनुभयो । भौगोलिक असहजता र सांस्कृतिक मूल्य मान्यताका कारण र जनचेतना तथा शिक्षाको कमीका कारण बालमैत्री स्थानीय शासन व्यवहारमा ल्याउन कठिन भएपनि बालमैत्री घोषणा गर्न कार्यक्रमहरु अगाडि बढेको प्याकुरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्न २०७४ सालमा गाउँपालिकाको १२ वटै वडामा बालमैत्री स्वयम्सेवक नियुक्त गरेर अगाडि बढेको थियो । बालबचाउ, बालसंरक्षण, बालविकास र अर्थपूर्ण बालसहभागिताजस्ता बालअधिकारका सवाललाई स्थानीय तहको विभिन्न कार्ययोजना प्रक्रिया र व्यवहारमा लागू गर्न बनेको शासकीय पद्दति नै बालमैत्री स्थानीय शासन हो ।

बकैया गाउँपालिकाले आफ्नो हरेक वडामा विभिन्न बाल समूह, वडागतरुपमा वडास्तरको बाल सञ्जाल तथा गाउँपालिकास्तरको बाल सञ्जाललगायत गाउँपालिका तथा वडामा बालमैत्री स्थानीय शासन समिति र बालअधिकार समिति गठन गरिसकेको छ । गाउँपालिकामा हालसम्म एक सय १३ वटा बाल समूह गठन तथा बाल सञ्जाल गठन गरेर एक हजार सात सय ३२ जना बालबालिकालाई समेटेको जनाएको छ । बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन नीति लागू गरी बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि बालबालिकाको वस्तुगत स्थितिको बारेमा तथ्यांक संकलन गरेको थियो । जसलाई ३९ सूचकको आधारमा अध्ययन तथा विश्लेषण गरी विभिन्न कार्यक्रमहरु पनि तय गरिएका थिए ।

मुलुकका सम्पूर्ण बालबालिकालाई बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको आधिकार सुनिश्चित हुनेगरी समावेशी र समतामूलक समाजको स्थापनामा स्थानीय शासन सक्षम र जवाफदेही तुल्याउनु नै बालमैत्री स्थानीय शासन व्यवस्थाको रणनीतिक सोच हो । बालमैत्री घोषणाका लागि गाउँपालिका तथा वडाहरुले आफ्ना हरेक निर्णयहरुमा बालबालिकाको सहभागिता गराउनुपर्नेछ ।

बकैया गाउँपालिका भौगोलिकरुपमा विकट भएका कारण ३९ सूचकमध्ये बालविवाहमुक्त गर्न तथा घरमै प्रसुति हुने अवस्था न्यून गर्न समस्या देखिने भएको छ । गाउँपालिकाले यस्ता समस्यालाई लक्षित गरी कार्यक्रम तयार गरेर सञ्चालन गरिरहेको भए पनि आशातित उपलब्धि हासि हुन सकेको छैन । लकडाउनदेखि हालसम्म बकैयामा करिब ६० जना बालबालिकाको बालविवाह भएको छ । जसमध्ये बाल हेल्पलाइनको सहयोगमा अधिकांश बालविवाह रोकिएको तथा भएकालाई छुट्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्याकुरेलले बताउनुभयो । हाल विभिन्न कार्यक्रमहरु बालविवाहविरुद्ध अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

भौगोलिक समस्याका कारण घरमै प्रसुति गराउने समस्यालाई न्यूनीकरण गर्न अझै चुनौती देखिएको प्याकुरेलले बताउनुभयो । गाउँपालिकामा पहिले ५ वटा वडामा बर्थिङ सेन्टर सञ्चालन गरिएकोमा हाल ८ वटा बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा रहेकाले घरमै प्रसुति गराउने क्रम कम हुने आशा गरिएको प्याकुरेलले जानकारी दिनुभयो । गाउँपालिकाले अनलाइन घटना दर्ता पनि सुरु गरिसकेको छ ।

लगभग सबै सूचकहरुको नजिक पुगेको भन्दै गाउँपालिकाले आउँदो माघ महिनासम्म बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी गरेको हो । मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री घोषणा गर्नका लागि गतवर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर सबै बजेट खर्च गरेको थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।