लामो समय बन्द भएका मकवानपुरका विद्यालयहरु यतिबेला सञ्चालन भइरहेका छन् । कोभिडका कारणले बन्द भएको शैक्षिक गतिविधि क्रमशः सुचारु भएको हो । तर, कोभिड संक्रमण यथावत नै छ । अझ चिसोमा यसको संक्रमण बढ्ने विज्ञहरुले दावी गरिरहेका छन् । विश्वका कतिपय देशहरुमा कोभिडको दोश्रो, तेश्रो लहर नै आएको अवस्था छ । नेपालमा पनि त्यो अवस्था नआउला भन्न सकिँदैन । त्यसैले कक्षा सञ्चालन गर्दा स्वास्थ्य सतर्कता कडाईका साथ अपनाउनु आवश्यक छ । तर, विद्यालय वा क्याम्पसहरुमा सुरुका केही दिन औपचारिकता पूरा गर्नेबाहेक अहिले कुनै सतर्कता देखिँदैन ।

स्वास्थ्य मापदण्ड पूरा गरेरमात्र शैक्षिक गतिविधि सञ्चालन गर्न सरकारले कार्यविधि बनाएको भए पनि त्यसको अनुगमन हुन सकेको छैन । विशेषगरी हेटौंडाका शैक्षिक संस्थाहरुमा कोभिडका विषयमा कुनै सतर्कता छैन । कोभिड संक्रमण अन्त्य भएको वा छँदै थिएन जस्तो अवस्था देखिएको छ । शिक्षक, विद्यार्थी र अन्य कर्मचारीहरुले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिडको महामारी विद्यालयबाटै बढ्ने खतरा छ । लामो समय विद्यार्थी घरमा नै बस्नुपर्दा मानसिकदेखि अन्य समस्या श्रृजना हुने अवस्थालाई अन्त्य गर्न कक्षा सञ्चालन गर्नु आवश्यक नै थियो । तर, शैक्षिक गतिविधि सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कता देखिँदैन । कक्षाकोठादेखि विद्यार्थीको बसाई व्यवस्थापन मिलेको पाइँदैन । कक्षा सुरु गर्नका लागि स्थानीय तहले विद्यालयको शैक्षिक वातावरण भएमात्र अनुमति दिनुपर्ने थियो । तर, मकवानपुरमा स्थानीय सरकारबाट अनुगमन नै नगरी विद्यालय सञ्चालन भएका छन् ।

कोभिडको संक्रमण यथावत रहेको भन्दै काठमाडौं महानगरपालिकालगायत देशका कतिपय स्थानीय तहले विद्यालय सञ्चालनका लागि अनुमति दिएका छैनन् । तर, मकवानपुरमा सबै विद्यालय र कलेजहरु सञ्चालन सुरु भएका छन् । कोभिडसँग डराउने भन्दा सुरक्षितरुपमा आफ्ना दैनिक गतिविधि सञ्चालनको विकल्प छैन । तर, यसका लागि गर्नुपर्ने पूर्वतयारी छैन भने स्वास्थ्य व्यवहारमा पनि सुधार नहुँदा जोखिम बढ्ने आशंका छ । चिसो बढेसँगै संक्रमण पनि बढ्ने आँकलन विश्व स्वास्थ्य संगठनले गर्दै र सचेत गराउँदै आएको छ । यतिबेला नेपालमा पनि चिसो बढेको छ । हेटौंडामा पनि बिहान निकै चिसो भएको छ । तर, कतिपय विद्यालयहरुले विहान साढे ६ बजेदेखि नै कक्षा सञ्चालन गरेका छन्, जसले गर्दा बालिबालिका प्रभावित हुने जोखिम बढ्दै गएको छ ।

हेटौंडाका केही निजी विद्यालयहरुले नियमित कक्षामात्र नभई कोचिङसमेत सुरु गरेका छन् । दिउँसोको समयमा कक्षा सञ्चालन गर्नु सामान्य नै मानिन्छ । तर, पुस माघको चिसोमा समेत बिहानै विद्यार्थीहरुलाई बोलाउने कार्य स्वभाविक देखिँदैन । कक्षा १० को रजिष्ट्रेशन फारम नै नभराइएको अवस्था छ भने सबै विद्यालयले नियमित पढाई सुरु गर्न नसकेको अवस्थामा हेटौंडाका विद्यालयहरुले कोचिङ नै किन गर्नुपर्‍यो ? भन्दै अभिभावकले प्रश्न गर्न थालेका छन् । उनीहरु सकेसम्म बालबालिकालाई बिहानको चिसोमा घरबाहिर पठाउन चाहँदैनन् । तर, पढाई छुट्ने डरले पठाउन बाध्य छन् । कम्तिमा पनि पुस र माघ महिनामा विहानको कोचिङ बन्द गराउनु स्वभाविक हुने देखिन्छ । यसका लागि स्थानीय तहले अनुगमन गरी आवश्यक निर्देशन दिनुपर्ने देखिन्छ ।