हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-०७८ मा खाद्यान्न खरिदबिक्री अनुदान कार्यक्रमको सुरुवात गरेको छ । चालु वर्षको कार्यक्रमअन्तर्गत् कृषि विकास कार्यक्रमतर्फ खाद्यान्न खरिदबिक्री अनुदान कार्यक्रम आइतबारबाट सुरुवात गरिएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले कृषि सहकारी संस्थाले कृषकहरुबाट उत्पादित धान खरिद गरेर कार्यक्रमको सुरुवात गरिएको छ । सहकारी सस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ६ जना कृषकहरुले ४ हजार २ सय ५ केजी धान बिक्री गरेका छन् । त्यसैगरी नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिकेजी २७ रुपैयाँ ३५ पैसा र मध्यम धान प्रतिकेजी २८ रुपैयाँ ८५ पैसाका दरले खरिद गरेको र खाद्यान्न खरिदबिक्री अनुदान कार्यक्रममा गाउँपालिकाका ५ वटा सहकारी संस्था सूचीकृत भएको कृषि प्राविधिक चौधरीले बताउनुभयो ।

मुख्यबालीको रुपमा धान, मकै र गहुँलाई तोकेको गाउँपालिकाले खाद्यान्न खरिदबिक्री गर्न सूचीकृत गरेको वडा नम्बर १, २, ३, ४ र ५ का एक–एक सहकारीले धान, मकै र गहुँसँगै कोदो र फापर पनि किसानसँग खरिदबिक्री गर्ने भएको छ । केन्द्र सरकारले तोकेको धानको समर्थन मूल्यअनुसार किसानसँग धान खरिद गरिएको छ भने छिट्टै मकै र गहुँको पनि समर्थन मूल्य तोक्ने तयारीमा केन्द्र सरकार छ ।

यस्तै, मकवानपुरगढीमा उत्पादन हुने कोदो र फापरको भने स्थानीय तहले नै मूल्य तोक्ने भएको छ । सोमबार बसेको गाउँपालिकाको गाउँसभाले कोदो र फापरको मूल्य तोक्न गाउँपालिकाकी उपाध्यक्षको संयोजकत्वमा एउटा समिति निर्माण गरेको छ । उक्त समितिले १० दिनभित्र अध्ययन गरेर मूल्य तोक्नुपर्ने कृषि प्राविधिक चौधरीले बताउनुभयो । धान, मकै, गहुँ, कोदो र फापर खरिदबिक्री गर्न गाउँपालिकामा सूचीकृत भएका सहकारी संस्थाहरुले किसानसँग खरिद गरेर बिक्री गर्न पाउनेछन् ।

सूचीकृत भएका सहकारीलाई किसानले आफूले उत्पादन गरेको धान मकै, गहुँ, फापर र कोदो बिक्री गर्दा किसानलाई पनि फाइदा हुने भएको छ भने सहकारीलाई पनि फाइदा हुने भएको छ । गाउँपालिकाका अनुसार किसानले उत्पादन गरेको खाद्यान्न सहकारीलाई बिक्री गर्दा मकवानपुरगढी गाउँपालिकाले प्रोत्साहनस्वरुप प्रतिकेजी २ रुपैयाँ नगद उपलब्ध गराउछ भने सूचीकृत भएका ५ सहकारीले पनि किसानसँग खरिद गरेमा गाउँपालिकाले सहकारीलाई भण्डारण र बिक्री गरेबापत प्रतिकेजी २ रुपैयाँ नगद प्रोत्साहन दिने भएको छ ।

स्थानीय तहले खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षलाई लाभ हुनेगरी यो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । सहकारीले किसानसँग खाद्यान्न खरिद गरेर बिक्री गर्न स्थानीय बासीलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । सहकारीले खरिद गरेर भण्डारण गरेको पाँच थरिका खाद्यान्न बिक्री गर्न स्थानीय तहका नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने तथा त्यसपछि अन्यत्र बिक्री गर्नसक्ने अध्यक्ष हुमागाईंले बताउनुभयो । यस्तै उहाँका अनुसार गाउँपालिकाले सूचीकृत गरेको अन्य ४ वटा सहकारीले पनि पुस मसान्तसम्म खरिद गर्न सुरु गर्ने भएको छ । भण्डारण गर्ने कोठा व्यवस्थापन हुनेबित्तिकै खरिद गर्न सुरु गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि प्राविधिक संगीता दुलाल, टोल विकास संस्थाका अध्यक्ष, कृषकहरुलगायतको उपस्थिति थियो ।