हेटौंडाः थाहा नगरपालिका ३ मा रहेको जनशक्ति कृषक सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिन लागेको शुक्रबार तरकारी तथा फलफूल संकलन केन्द्रको शिलान्यास गरिएको छ । राष्टिूय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटाले संकलन केन्द्रको शिलान्यास गर्नुभएको हो ।

सहकारी संस्थाका अध्यक्ष बिमल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, उपाध्यक्ष मेनुका दाहाल, सचिव दिनेश उपाध्याय, कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य बिमला कार्की, संघका ब्यवस्थापक गोबिन्द दाहाल, कार्यक्रम संयोजक शिवहरि दाहाललगायतको उपस्थिति रहेको थियो ।

संकलन केन्द्र सहकारी बजार विकास कार्यक्रमअन्तर्गत् मकवानपुर जिल्ला सहकारी संघमार्फत् निर्माण गरिने र निर्माणमा सहकारी बजार विकास कार्यक्रमको ७० र सहकारी संस्थाको ३० प्रतिशत लागत साझेदारी रहेको जनशक्ति कृषक सहकारी संस्थाका उपाध्यक्ष राजकुमार केसीले बताउनु भयो । संकलन केन्द्र निर्माणपश्चात् कृषकहरुको उत्पादनलाई सहजरुपमा बजारीकरण गर्न सहयोग पुग्ने सहकारी संस्थाका अध्यक्ष केसीले बताउनुभयो ।