भीमफेदी गाउँपालिकाले गत असोज महिनामा वडा वडामा रहेको स्वास्थ्य संस्थामै पुगेर भिडियो एक्सरे सेवा प्रदान गर्दै । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले गर्भवतीलाई निःशुल्क गर्भपरीक्षण सेवा प्रदान गर्ने भएको छ । गर्भवतीले गर्भपरीक्षणका लागि दुई पटकसम्म निःशुल्क भिडियो एक्सरे सेवा लिन पाउने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभएको छ । गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको क्रममा अग्रसर भएकाले गर्भमै रहेको शिशुको सुरक्षा तथा मातृशिशु स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण रहने गरी गर्भपरीक्षण सेवा प्रदान गर्न लागिएको अध्यक्ष खनालले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा स्वास्थ्यतर्फ नयाँ कार्यक्रमको रुपमा सुरुवात गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाको सामाजिक विकास तथा स्वास्थ्य शाखाका प्रमुख फटिकरमण प्याकुरेलका अनुसार पालिकामा वार्षिक करिब पाँच सय गर्भवती रहने गरेको र ती गर्भवतीमध्ये गत आर्थिक वर्ष २०७६/७७ मा तीन सय १० जना गर्भवतीमात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएकाले संस्थागत प्रसुतीको दर बनाउन पनि यस किसिमको कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । गाउँपालिकाभित्रै भिडियो एक्सरे सेवा नभएकोले जिल्ला सदरमुकाम हेटौंडास्थित निजी स्वास्थ्य संस्थासँग समन्वय गरेर भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख प्याकुरेलले बताउनुभयो । हेटौंडा–१० स्थित गुराँस पोलिक्लिनिकसँगको सहकार्यमा पालिकाले निःशुल्क गर्भपरीक्षण सेवा सुरु गरेको उहाँको भनाइ छ ।

हेटौंडामा अहिले भिडियो एक्सरे सेवाको शुल्क आठ सय ५० रुपैयाँ रहेकोमा बकैया गाउँपालिकाले गुराँस पोलिक्लिनिकसँग पाँच सय रुपैयाँमा सेवा प्रदान गर्ने सहमति गरेको छ । पालिकाको सिफारिसमा गर्भवतीले निःशुल्क गर्भपरीक्षण गर्न पाउने प्याकुरेलले बताउनुभयो । निःशुल्क गर्भपरीक्षण कार्यक्रमका लागि पालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गर्भवती महिलालाई सुत्केरी गाउन र सुत्केरी भएपछि घर फर्कन निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरेको गाउँपालिकाले गर्भवती महिलालाई निःशुल्क भिटामिन डी र क्याल्सियम चक्की पनि वितरण गरिरहेको छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनकै लागि पालिकाले सबै वडामा वर्थिङ सेन्टर निर्माण गरिरहेको र चालु आर्थिक वर्ष २०७७/७८ मा सबै वडामा सेवा विस्तार हुने गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभएको छ । गाउँपालिकाको वडा नम्बर १०, ११ र १२ (ठिंगन र मन्थली) लाई लक्षित गरेर एउटा एम्बुलेन्स थप गर्न लागिएको खनालले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाले दुई वर्षदेखि पालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने गरी हेटौंडास्थित रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेर कार्यान्वयन गरिरहेको छ ।