लामो समयदेखि बन्द रहेका मकवानपुरका पर्यटकीय स्थलहरुमा केही चहलपहल सुरु भएको छ । कोभिड–१९ का कारण नेपालको समग्र पर्यटन क्षेत्र सुस्त नै भएको छ । देशको आर्थिक श्रोतको महत्वपूर्ण पक्ष यो व्यवसायमा परेको असरको प्रभाव मकवानपुरमा पनि छ । सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै दैनिक व्यवहार सञ्चालन गर्न भनेपछि जिल्लाका केही पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढ्नु सकारात्मक सुरुवात हो । मकवानपुरको प्रमुख पर्यटकीय स्थल शहीद स्मारकमा जिल्ला बाहिरबाट समेत मानिसहरु आउन थालेका छन् । विगत बर्षहरुमा छिमेकी देश भारतबाट समेत पर्यटक आउने स्मारकमा यसपटक मानिसको उपस्थिति धेरै कम छ । तै पनि रमणीय स्थानको खोजी गर्नेहरुका लागि स्मारक आकर्षक गन्तव्य बन्दै आएको हो । यसपटक केही मानिसहरु उपस्थित हुँदा पनि निकै उत्सुक हुनुपर्ने भएको छ ।

पर्यटकीय क्षेत्रमा मानिसहरुको उपस्थितिले सहज जीवनयापनका लागि उत्सुक भएको देखिन्छ । तर कोभिड अन्त्य नै भएको होइन भन्ने कुरालाई पनि ध्यान दिन आवश्यक छ । पर्यटकीय केन्द्रमा प्रवेश गर्दा नै मास्कलाई अनिवार्य गराउनु पर्दछ । तर स्मारकमा देखिएको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेको छैन । यस्ता घटनाले कोरोना महामारी थप बढ्न सक्नेछ । सम्बन्धित निकायले समयमै यस्ता विषयमा ध्यान पुर्‍याउन जरुरी छ । जिल्लामा स्मारकबाहेक त्रिवेणीधाम, गुम्बाडाँडा, ऋषेश्वर मन्दिर, मकवानपुरगढी, मनकामना, भैरवडाँडा र पाथीभरा मन्दिर, चुरियामाई र ऐतिहासिक सुरुङजस्ता अनगिन्ती महत्वपूर्ण स्थानहरु छन् । तर समन्वयको अभावमा प्रचारप्रसार हुन सकेको छैन । त्यसमाथि महामारीका बीचमा ती स्थानहरु खुला गरिएको जानकारी गराउन आवश्यक छ ।

स्थानीय आम्दानीको महत्वपूर्ण श्रोतका रुपमा रहेका पर्यटकीय क्षेत्रका विषयमा प्रचार गरिनु आवश्यक छ । हवाई तथा सडक यातायात बन्द भएपछि विदेशी तथा स्वेदशी पर्यटकहरुको चहलपहल ठप्प नै भयो । त्यसैले व्यवसायीहरुका लागि सरकारले केही प्याकेज घोषणा गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । थोरै भए पनि घोषित कार्यक्रम कार्यान्वयन गराउँदै पर्यटन व्यवसायलाई पुनर्जीवन दिन आवश्यक छ । जसले स्थानीय आम्दानीको श्रोत परिचालन हुनसक्छ । स्थानीय आम्दानीको प्रमुख श्रोतका रुपमा रहेको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटकीयस्थलमा भौतिक पूर्वाधारको पर्याप्त विकास हुनु पर्दछ । तर मकवानपुरमा रहेका अनगिन्ती यस्ता स्थानहरु मर्मत, सरसफाई वा विस्तार र प्रचारप्रसारको पर्खाईमा छन् ।

दैनिकी सहज बनाउँदै गर्दा वा आन्तरिक पर्यटन विकासमा सहभागी हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई व्यवहारमै प्रयोग गरिन आवश्यक छ । केही आन्तरिक पर्यटकहरुले स्मारकजस्ता स्थानमा जाँदा मास्कसमेत प्रयोग गरेको पाइँदैन । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरिदिएका स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउनु आवश्यक छ । यस कार्यमा व्यक्ति स्वयम् जिम्मेवार हुनु पर्दछ । यस्तै स्थानीय सुरक्षा संयन्त्र तथा पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका तर्फबाट पनि कडाई गर्नु आवश्यक हुन्छ । नत्र सहज बन्न खोज्दै गरेको नागरिक जीवन फेरि महामारीको चपेटामा पर्नेछ । केही देशहरुले कोभिडविरुद्धको खोप विकास गर्न थाले पनि नेपालीले त्यसको उपयोग गर्न धेरै समय कुर्नुपर्ने हुन्छ । तसर्थ आफ्ना गतिविधि सञ्चालन गर्दा कोरोनाको जोखिमबाट होशियार हुनै पर्दछ ।