आगामी पुस १–४ मा बुटवलको भलबारीमा आयोजना हुने नेपाल जेसीजको महाधिवेशनमा मकवानपुरकी शोभा खरेल राष्ट्रिय अध्यक्षको आकांक्षी हुनुहुन्छ । जेसीआई हेटौंडा लेडी वर्ष २०१६ की अध्यक्ष हुँदै २०१७ मा राष्ट्रिय उपाध्यक्ष र वर्ष २०२० मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएकी खरेल जेसीजमार्फत युवा पुस्ताको नेतृत्व एवम् व्यक्तित्व विकासमा महत्वपूर्ण मञ्चको रुपमा विकसित भएको बताउनुहुन्छ । नेपाल जेसीजको ५५ वर्षको इतिहासमा ३ जना मात्रै महिला राष्ट्रिय अध्यक्ष हुन सफल भएको र सन् १९९९ यता नेपाल जेसीजमा महिला अध्यक्ष हुन नसकेको परिस्थितिमा आफू महिला भएकै कारण नभई एक सक्षम उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी हुन लागेको बताउनुहुने शोभा खरेलसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः नेपाल जेसीजको राष्ट्रिय अधिवेशन हुँदैछ । तपाई राष्ट्रिय अध्यक्षको उम्मेदवारी दिँदै हुनुहुन्छ । राष्ट्रिय अध्यक्षमा तपाईको उम्मेदवारी किन र केके आधारमा आफूलाई अध्यक्ष्ँ पदको योग्य ठान्नुहुन्छ ?
खरेलः नेपाल जेसीज २०२० को अन्त्यमा पुस १ गते ४ गतेसम्म हुने महाधिवेशन हुँदैछ । मेरो उम्मोदवारी विशेष गरेर सुरुमा महिला नै भनेर जोडिन्छ तर खुल्ला प्रतिस्पर्धा हो । नेपाल जेसीजको ५५ वर्षको ईतिहासमा महिला राष्ट्रिय अध्यक्ष ३ जना मात्रै हुन सफल भएका छन् । सन् १९९९ पछि कुनै महिला राष्ट्रिय अध्यक्ष हुन सकेको छैन । यस्तो सन्दर्भमा म नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष छु । सन् २०१६ मा शाखा अध्यक्ष, २०१७ मा राष्ट्रिय उपाध्यक्ष भएर नेतृत्व लिएँ । त्यो अनुभव र प्रशिक्षणको क्षेत्रमा आफूलाई केही वर्षदेखि सहभागी गराउँदै आएको अनुभव र जेसीजमा एउटा नेतृत्व तहमा सन् २०१६ देखिको २०२० सम्मको यात्रा र यो यात्रा र अनुभव प्रशिक्षकको अनुभवले म नेपाल जेसीजमा एउटा क्षमतासहित महिला नेतृत्वको रुपमा आफूलाई उभाएको छु । नेपाल जेसीजमा २१ वर्षदेखिको महिला नेतृत्वको खालीपन मेट्नु पर्छ । तर महिला भएर मेरो उम्मेद्वारी होइन । आफ्नो सक्षमतासहितको उम्मेद्वारी हो ।
समाजः यस पटक तपाइँ एक्लो महिला उम्मेदवार हुनुहुन्छ कि अरु पनि कोही आकांक्षी हुुनुहुन्छ ?
खरेलः नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा ७ जनाको उम्मेद्वारी परेको छ । जसमा म एक्लो महिला उम्मेद्वार छु । सन् २०१५ मा दुईजना महिला उम्मेद्वार हुनुभएयता राष्ट्रिय अध्यक्षका लागि महिला उम्मेद्वार समेत हुन सकेको छैन । सन् २०१५ मा राष्ट्रिय अध्यक्षका उम्मेद्वार दुबैजना पराजित हुनुभयो । धेरै वर्षपछिको राष्ट्रिय अध्यक्षमा म एक्लो महिला उम्मेद्वार भएको छु ।
समाजः युवाको नेतृत्व र व्यक्तित्व विकास, क्षमता विकासको क्षेत्रमा जेसीजले अहिले खास के–कस्ता गतिविधि गरिरहेको छ ?
खरेलः विशेष गरेर १८ देखि ४० वर्षका युवाहरु जेसीजमा आवद्ध हुँदैगर्दा पहिलो प्राथमिकता भनेको व्यक्तित्व विकास नै हो । व्यक्तित्व विकास भन्छौं विभिन्न अवसरका क्षेत्रहरु छन् । जुन हामीले पटक–पटक व्याख्या पनि गर्छौ । एउटा व्यक्तिगत अवसरको क्षेत्र भन्छौैं । सामाजिक अवसरका क्षेत्र भन्छौं । अर्काे व्यावसायिक अवसरका क्षेत्र भन्छौैं । जेसीज अन्तर्राष्ट्रिय संस्था भएकोले अन्तर्राष्ट्रियस्तरका क्षेत्रहरु पनि हामीले जोड्छौं । जस अन्तर्गत सबैभन्दा बढी प्राथमिकता चाही व्यक्तिगत अवसरका क्षेत्रहरु लिन्छौं । जेसीजमा व्यक्तित्व विकास गर्नका लागि युवा जोडिएका हुन्छन् । व्यक्तिगत रुपमा राम्रो भएसँगै आर्थिक अवसरको क्षेत्रमा पनि आफूलाई अगाडि उभाउनु पर्यो । समाजमा बल्ल आफूलाई तयार गर्न सक्छौैं । जेसीजको एउटा फरक पाटो के हो भन्दा हामी जोडिँदै गर्दा सदस्य आफूले आफूलाई विकास गर्नुपर्यो । व्यक्तिगत विकास, आर्थिक पक्ष बलियो बनाउनु पर्यो । त्यस पश्चात उसले समाजका लागि विकास गर्न सक्छ । समाजको नेतृत्व लिन सक्छ ।
समाजः मकवानपुरमा पाँच वटा शाखाहरु क्रियाशील छन् । जिल्ला भित्रका शाखा र जिल्ला बाहिरका शाखाहरुको तपाईप्रति समर्थन कस्तो छ ? समर्थनका लागि गर्नुभएको पहलले तपाई कतिको आश्वस्त हुनुहुन्छ ?
खरेलः उम्मेदवारको हकमा जिल्ला छेउ चितवनबाट पनि हुनुहुन्छ । त्यसै सन्दर्भमा आफूले उम्मेद्वार सबैतिरबाट ठिक छ भन्ने सन्दर्भ पनि छ । सँगसँगै मैले २०१६ देखि हेटौंडा लेडीको नेतृत्व गर्दैगर्दा विभिन्न तालिम मार्फत शाखाहरु जोडिएको अनुभव छ । उहाँहरुसँग छिमेकी शाखा वरिपरि रहेका शाखाहरु विभिन्न कार्यालयहरुमा जोडिएको छु । उहाँहरुको विभिन्न कार्यक्रममा जोडिएकोले उहाँहरुको राम्रो साथ र समर्थन छ । मैले प्रत्यक्ष रुपमा बुझेको छु । यो वर्ष नेपाल जेसीजमा कार्यकारिणी उपाध्यक्षको रुपमा पनि काम गरेको छु । यो पनि मेरो लागि राम्रो आधार रहेको छ भन्ने पनि मैले बुझेको छु ।
समाजः लेडी जेसीजको तपाई पूर्व अध्यक्ष हुनु भयो । त्यहाँ भित्रै पनि निरन्तर जस्तो विवाद रहिरहने र यतिखेर पनि तपाईको उम्मेदवारीको विषयमा केही साथीको असन्तुष्टि जस्तो पनि बुझिन्छ । लेडी जेसीज भित्रैको विवाद र सधैको किचलोको चाही व्यवस्थापन गर्न तपाईले नै सहजीकरण गर्नुपर्ने अवश्यकता पनि थियो होला । त्यो किन हुन सकिराखेको छैन ?
खरेलः हामीले हेर्दाखेरी लेडी जेसीज एउटा म आफैं आवद्ध भएको संस्था हो । सँगसँगै वरिपरि अरु शाखा पनि छन् । विवादित हुने कुरा चाहीँ अरु संस्थाभन्दा जेसीजमा बढी नै छ । किनभन्दा यसमा उच्च प्रतिस्पर्धा छ । एउटा उमेरमा नेतृत्वमा पुगिसक्नु पर्ने हुनुपर्छ । एउटा प्रमुख कारण त्यो हो । त्यो उमेरमा सबैले नेतृत्वको भूमिका प्राप्त गर्न खोज्छन् । त्यो सन्दर्भमा विवादित हुने गरेको हो । कुनै कालखण्डमा भएको विवादलाई हामीले लामो समयसम्मका लागि लिनु हुन्न । त्यसलाई लिएर हिडनुपर्छ भन्ने होइन । मैले गर्नुपर्ने पहल केही ठाउँमा चुकेको पनि हुन सक्छ । कति ठाउँमा गरेको पनि हुन सक्छ । तर अहिलेम एउटा जिम्मेवार पदमा छु । शाखाको पूर्वअध्यक्ष भएकोले यसलाई व्यवस्थापन गर्नुपर्छ । सकेसम्म मेरो पहल रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।
समाजः तपाईको उम्मेदवारी विषयलाई लिएर तपाई आफूले तयारी गरिराख्नु भएको छ ? आफ्नै मूल्याङ्कनमा के कस्ता चुनौती र त्यसलाई सामना गर्ने कस्तो रणनीति तयारी के छ ?
खरेलः विशेष गरेर चुनौतीको कुरा गर्ने हो भने हामीले प्रत्यक्ष रुपमा बुझ्न सक्छौं । म एउटा महिला उम्मेद्वार हुँ । निर्वाचनमा खुला प्रतिस्पर्धा हुन्छ । त्यसो हुँदैगर्दा महिलाहरु आज हामी कुन ठाउँमा छौं भन्दा पुरुषवादी सोच, पुरुषवादी संस्कृति भएको समाजमा छौं । यो संस्कृति भएको समाजमा चाही जहिले पनि हामी महिलालाई नेतृत्वमा पुगेको हेर्न कसैले रुचाउँदैनन् । मैले पनि नरुचाउन सक्छु । त्यसकारण मेरो लागि एउटा चुनौती म आफैं चाही महिला पनि नेतृत्वमा पुगेर काम गर्न सक्छ र ? भन्ने खालको विश्वास दिलाउनु पहिलो चुनौती छ । हामी जहाँ पनि एउटा राजनीति गर्ने ठाउँमा पनि बोली दिने मान्छे चाहिन्छ । व्यवस्थापन गरदिनुपर्छ । चाहे राजनीति गर्ने ठाउँमा होस्, चाहे संघ, संस्थामा होस् ।
हामीले प्रत्यक्ष र अप्रत्यक्ष्ँ भोगेका छौं । त्यो सन्दर्भमा महिला त्यो पाटोमा म आफूलाई कमजोर महसुस गरेको छु । त्यो पाटो मेरो टीमबाट पैरवी गर्ने । एउटा महिला उम्मेद्वार हुनुपर्छ भन्ने सन्दर्भमा त्यो पैरवी गर्ने मान्छेमा कमी भएको महसुस गरेको छु । यसलाई व्यवस्थापन गर्ने पाटो व्यक्तिगत आफ्नो कलाले गर्दाखेरी धेरै आधारभूत तहमा शोभा खरेल नेपाल जेसीजको प्रशिक्षक आउनुपर्छ । नेपाल जेसीजमा धेरै लामो ईतिहास मेट्नुपर्छ । हामीले आशा गर्ने र सम्भावना बोकेको मान्छे हो भन्ने सन्दर्भ सबैले गर्नु भएको छ । मेरो लागि अवसर पनि हो । एउटा महत्वपूर्ण पक्ष पनि हो । त्यो महत्वपूर्ण पक्षलाई व्यवस्थापकीय ढङ्गले पैरवी गर्ने अथवा मलाई सहयोग गर्ने टिमले अभ्यास गर्न सक्यो भने त्यो मेरो लागि राम्रो अवसर हुनेछ ।