आइसियूसहितको भेन्टिलेटर सेवाको रिबन काटेर उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा आजबाट सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको शुभारम्भ भएको छ ।

प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहान आईसियूसहितको भेन्टिलेटर सेवा र उच्च उपचार कक्ष (एचडियू) सेवाको शुभारम्भ गर्नुभएपछि सर्वसाधारणहरुको लागि सेवा खुल्ला भएको हेटौंडा अस्पतालले बताएको छ । हेटौंडा अस्पतालले ७ बेड आइसियू र १० बेड एचडियू सेवा आजबाट सञ्चालनमा ल्याएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले हेटौंडा अस्पतालले लामो समयबाट आईसियू सेवा सञ्चालन गर्ने तयारी गरेपनि आज सफल भएको बताउनुभयो । उहाँले हालको लागि यो सेवा कोरोना भाइरसका बिरामीको लागि भने उपलब्ध नहुने बताउनुभयो । अन्य बिरामीहरुको लागि मात्र आइसियूसहितको भेन्टिलेटरको सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालले विपन्न, गरिबहरुलाई लक्षित गरेर आईसियू बेड र एचडियू सेवाको शुल्क तोकेको छ । आइसियू बेडको प्रतिदिन १ हजार ५ सय रुपैयाँ, एचडियू बेडको शुल्क प्रतिदिन २ हजार रुपैयाँ र आइसियूसहितको भेन्टिलेटरको सेवाको शुल्क प्रतिदिन ४ हजार रुपैयाँ तोकिएको छ ।

हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललेको प्रमुख आतिथ्य रहेको थियो । यस्तै कार्यक्रममा बामगती प्रदेशका सांसदहरु मुनु सिग्देल, ओम ग्लान, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको उपस्थिति रहेको थियो ।