प्रसंग लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १० )को आज तेश्रो दिन लैगिंक हिंसा विरुद्ध अनवरत रुपमा कार्यरत सरकारी निकाय, गैरसरकारी संघ संस्था , नागरिक समाज, सरोकारकारवाला तथा मिडियाकर्मीहरुले यस अभियानलाई सफल बनाउन आफ्नो तह र तर्काबाट प्राथमिकताका साथ विभिन्न कार्यक्रम तथा गतिविधीहरु संचालन गरिरहेका छन ।
यस अभियानको पृष्टभूमीलाई हेर्दा सन १९६० मा डोमिनियल गणतन्त्रको मिरावेल परिवारको पेटिया, मिनर्भा र मारिया नामक तिन जना दिदिबहिनीहरुको हत्या संग जोडिएको छ । अन्याय नसहने ती तिन दिदिबहिनीलाई त्यहाँका तानाशाही सरकारले हत्या गरेपछि तिनैको सम्मान र सम्झनामा सन १९९१ बाट सयुक्त राष्ट् संघको आह्वानमा नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म विश्वभरी नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालिएता पनि नेपालले भने वि.स. २०५४ सालबाट मात्रै यस अभियानलाई मनाउन थालेको हो । यस वर्ष पनि “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित १६ दिन सम्म विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ ।
शुरुवातमा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई महिलाको विषयसंग मात्र जोडेर हेरिने गरिन्थ्यो । तर क्रमिक रुपमा परिवर्तित काल खण्ड र समाजमा घटने हिंसाको प्रकृती र प्रभावितहरुलाई हेर्दा हिंसाको घटना महिला संग मात्र जोडिने विषय नभई लैङ्गिकताको आधारमा जो कोहिलाई हुन सक्ने र हुने भएकोले यी बहुपक्षलाई सम्बोधन हुने गरि महिला हिंसा बाट लैगिक हिंसा विरुद्धको अभियानमा परिणत गरि यसको दायरालाई अलि फराकिलो बनाइयो । त्यसैले यस्ता अभियानहरु समय र अवस्थाको परिवर्तन संगै लैङ्गिक आधारमा हुने हिंसाको सवालमा महिलाहरुको मुद्धालाई यथावत नै राखि लैङ्गिक आधारमा प्रताडित यौनिक तथा लैङ्गिक अल्पसंख्यक लाई पनि समेटने गरि संचालन हुन आवश्यक छ ।
सामान्यतया समाजमा महिला र पुरुष दुई लिङ्ग मात्र हुन्छन् भन्ने पुरातन सोचाई रहिआएको छ । तर, फरक लैङ्गिक पहिचान र यौन आकर्षणको कारणले स्वीकारी आएका लिङ्ग भन्दा फरक प्रकारका व्यक्तिहरू पनि हुन्छन् । परम्परागत र संकुचित मान्यता भन्दा फरक यौनिक तथा लैङ्गिक अवस्थालाई तेस्रो लिङ्गी( एल.जि.वि.टि.आई. क्यू.) भनेर बुझ्ने गरिन्छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय लैगिकताको आधारमा समाजबाट लाञ्छना, अपहेलना, तिरस्कार र बहिस्कारमा परेका समुदाय हो । प्रत्येक पल आत्मासम्मानमा ठेस लाग्ने, मानसिक तनाव श्रृजना हुने किसिमका व्यवहारको सामाना गर्न बाध्य यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका मानव अधिकारबाट वञ्चित हुनु परेको अवस्था समाजमा विद्यमान रहेको छ । सबै नागरिकले समान रूपमा आफ्नो मानव अधिकार उपभोग गर्न पाउने व्यवस्था कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा प्रभावकारिता देखिन नसक्नुका साथै केही विषयमा कानूनी तथा नीतिगत अस्पष्टता भएकै कारण पनि यी समुदायहरूले मानव अधिकारको उपभोगमा समेत समस्या झेल्नु परिरहेको छ ।
राज्यबाट पहिचान सहितको नागरिकता दिने भनिएता पनि त्यस सम्बन्धि कानुन बनाइ कार्यन्वयन गर्न सकिएको छैन । सरकारको तर्फबाट निशुल्क शिक्षा, रोजगारीको अवसर, तेश्रो लिङ्गी( एल.जि.वि.टि.आई.क्यू.) प्रति आम मानिसको दृष्टीकोण, बुझाई र उनिहरुको विविधतासम्बन्धी सचेतना नगराउनु, सामाजिक न्याय, समावेशी तथा सामाजिक सुरक्षाको समेत प्रत्याभूती गराउन नसक्दा यस समुदाय राज्यबाट नै अपहेलित, बञ्चितकरण र विभेदमा परेको महुसुस गर्ने गरेका छन । समलिंगी विवाहलाई कानुनी मान्यता दिन नसक्नु, लिंग परिवर्तन पश्चातमात्र पहिचान सहितको नागरिकता दिने लगायतको जटिल विषयमा सरकारको स्पष्ट निती नहुनु र त्यसलाइ निकास दिन कर्मचारीहरु तत्पर नहुनु जस्ता विषयहरु अग्रस्थानमा छन । साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको ं सवाल उठाउने संघ संस्था र निकायहरु समेत सिमित हुनु र यस सवालमा अन्य सरोकारवालाहरु मौन बस्नु पनि त्यस समुदायको लागी ठूलो विडम्बना हो ।
( फ्रेण्डस हेटौँडाकी कार्यक्रम संयोजक सुरज किरण थापा संगको कुराकानीाको आधारमा)
त्यसैले यस समुदायले भोगिरहेका समस्या र चुनौतीहरुलाई राज्य, गैसस, नागरिक समाज तथा सम्बन्धित र सरोकारवालाहरुले नजर अन्दाज गरेर अघि बढदा राम्रो देखिदैन । प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहदाँ लैङ्गिकताको आधारमा परिवार, समाज तथा साथीभाईबाट तिरष्कार, अपहेलन तथा लाञ्छाना खेप्न र यौन व्यवसाय (केहि) गर्न बाध्य पारिएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई यस अभियानले कहाँ र कसरी समेटेको छ त्यसको स्वमूल्यांकन र समिक्षा गर्न आवश्यक छ ।
लैङ्गिकताको आधारमा हुने हिंसा, भेदभाव न्यूनिकरण गरी उनीहरुको सामाजिक सम्मान र आर्थिक सवलता स्थापित गर्न तथा उहिरुको अधिकार सुनिश्चित गर्न संघसंस्था, सरकारी निकाय तथा सरोकारवालाहरुले आफ्नो नीति र कार्यक्रम मार्फत कहाँ र कसरी समेटन सक्छन?? भन्ने प्रश्न प्रति गम्भिर भई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भित्र अल्मलिएकोे यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवाललाई हामि सबैको साझा सवाल बनाउन केहि पहली कदम आवश्यक छ ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको सबैमा शुभकामना ।