हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि शुक्रबार १० लाख रुपैयाँ सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सभाहलमा मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा उपमहानगरपालिकाले पहिले पनि पत्रकारहरुलाई सहगोग गर्दै आइरहेको र आगामी दिनमा पनि पत्रकार अक्षयकोषमा थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष हरि हुमागाईले प्राप्त भएको रकम अक्षणकोषको रुपमा स्थापना गरेर व्याज आम्दानीबाट ज्येष्ठ पत्रकारलाई मासिक पेन्सन वितरण गरिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमको कार्यविधि तयार पारिरहेको र आगामी साधारणसभाबाट कार्यविधि पारित गरिने अध्यक्ष हरि हुमागाईले जानकारी दिनुभएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।