हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धमा निर्णय गर्न बाँकी नै छ । यसका लागि सरोकार राख्ने पक्षसँग छलफल गरिरहेको छ । तर स्थानीय तहबाट निर्णय आउनु अघि नै हेटौंडाका केही विद्यालयहरु सञ्चालनमा आएका छन् । स्थानीय तहले कस्तो निर्णय गर्छ र स्वास्थ्य मापदण्ड पालनामा विद्यालयको जिम्मेवारीमा टुंगो लागिसकेको अवस्था छैन । यही द्विविधाले अभिभावकहरु पनि अन्यौलनमा छन् । छोराछोरीलाई विद्यालय पठाउने वा नपठाउने भन्ने कुराको टुंगो गर्न स्थानीय सरकारको निर्णयको पर्खाईमा देखिन्छन् । कोरोना महामारीको अवस्थामा आफ्ना छोराछोरीलाई भौतिक उपस्थिति गराएर विद्यालय पढ्न पठाउने या नपठाउने भन्ने कुरामा अभिभावकले निर्णय गर्न सकेको देखिँदैन । त्यसैले खुलेका केही विद्यालयमा पनि विद्यार्थीको उपस्थिति अत्यन्त न्यून छ ।
कोरोना महामारीले चालु शैक्षिक सत्रको आधा समय घरमै बिताएका विद्यार्थीहरु विद्यालयका लागि उत्सुक छन् । शहरका केही संस्थागत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि आम विद्यार्थीका लागि यो प्रविधि पहुँच बाहिरकै भयो । सामुदायिक विद्यालयहरुले त अनलाइन कक्षा पनि सञ्चालन गर्न सकेको अवस्था छैन । त्यस माथि प्राथमिक तहका कक्षामा पढ्ने बालबालिकाका लागि उपयोगी नभएपछि प्रत्यक्ष कक्षा सञ्चालनको विकल्प छैन । विश्वका अन्य मुलकुहरुमा पनि विद्यालयहरु सञ्चालन भइरहेकै छन् । यसरी कक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य सर्त बन्ने गरेको छ । तर नेपालमा जान्ने बुझ्ने भनिएकै वर्गले स्वास्थ्य सावधानीका लागि राज्यको निर्देशनलाई खुलेआम चुनौती दिने प्रवृत्ती छ । यस्तो सामाजिक परिवेशमा विद्यालयमा कक्षा सञ्चालन सहज छैन ।
विद्यालय सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरुसँग परामर्श गर्ने र सुझाव संकलन गरेको छ । विद्यालयका तर्फबाट जोखिममा विद्यालय सञ्चालन गर्न अपनाउनु पर्ने विधि र विकल्प समेत पेश गरेका छन् । शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने सबै अधिकार स्थानीय सरकारहरुलाई दिएको छ । स्थानीय तहले विद्यालय सञ्चालन सम्बन्धमा समयमै निर्णय नगरेको भन्दै सञ्चालकहरु आफैं अग्रसर भएका हुन् । नेपाल सरकारले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ जारी भएपछि स्थानीय तहबाट निर्णयको प्रक्रिया सुरु गरेको छ । विद्यालय सञ्चालन हुने भए पनि अभिभावकहरु भने अन्यौलमै छन् । विद्यालयमा महामारीबाट बालबालिकाहरु सुरक्षित छन् भन्ने कुरामा अभिभावकलाई ढुक्क गराउने जिम्मेवारी स्थानीय तह र विद्यालय प्रशासनको हो ।
हेटौंडा उपमहानगरपालिका पनि विद्यालय सञ्चालनका लागि सकारात्मक देखिएको छ । तर अभिभावकलाई विश्वास दिलाउने पक्ष महत्वपूर्ण छ । यसका लागि सरकारले निर्धारण गरिदिएको मापदण्ड विद्यालयहरुले पूरा गरे नगरेको विषयमा अनुगमन हुनु पर्दछ । विद्यालयले स्वास्थ्य मापदण्ड पालनाका लागि गरेको व्यवस्था र तयारीप्रति स्थानीय सरकार पनि पूर्ण विश्वस्त हुनै पर्दछ । विद्यालय सञ्चालन कार्यढाँचाले तोकिदिए अनुसारका कक्षा कोठा, कक्षामा दुुईतर्फ झ्याल, शौचालयको अवस्था, विद्यार्थी प्रवेश गर्ने र निस्कने ढोका देखि सञ्चालन गरिने कक्षा र प्रक्रिया जस्ता विषयमा गम्भीर परामर्श हुनु पर्दछ । स्वास्थ्यकर्मीको उपलव्धता र स्वास्थ्य परामर्शको सुनिश्चितता आवश्यक छ । उल्लेखित विषयमा अभिभावक ढुक्क भए मात्र विद्यार्थीहरु विद्यालयमा जाने अवस्था बन्ने छ ।