हेटौंडाः हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालिले फोहोर संकलनमा कडाई गर्ने भएको छ । यही मंसिर १० गतेबाट फोहोरलाई वर्गीकरण गरेर मात्र घरबाट निस्कने फोहोरहरु संकलन गरिने ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले बताउनुभएको छ ।
फोहोरलाई कुहिने, नकुहिने र खतराजन्य गरी तीन भागमा वर्गीकरण गरेर संकलन गरिने भएको हो । घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरेर राख्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, २, ४ र ५ नम्बर वडामा १५ लिटरको हरियो, निलो र रातो डस्टबिन वितरण गरिसकेको छ भने अन्य वडामा छिटै गरिने उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाका ३० हजार घरपरिवारबाट फोहोर संकलन गर्दै आएको छ ।
प्रत्येक घरपरिवारबाट बजार क्षेत्रमा एक सय पचास रुपैयाँ र बजार क्षेत्रमा बाहेक अन्य वडामा ५० रुपैयाँका दरले मासिक शुल्क लिँदै आएको छ । त्यस्तै सिटिले वार्षिक फोहोर संकलन शूल्क बापत ८० लाख आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । रिसाइकल गर्न मिल्ने प्लास्टिकजन्य फोहरको विक्रीबाट पनि वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको खतिवडाले जानकारी दिनुभएको छ ।
ग्रीन एण्ड क्लिन सिटीमा ४३ जना कर्मचारी रहेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र एक दशकदेखि ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालिले एउटा रिक्सामार्फत सुरुवात गरिएको सेवा अहिले ९ वटा ट्याक्टर र २ वटा गाडीले फोहर ढुवानी गरिरहेको छ । कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने गरिएको छ । पछिल्लो समय कम्पोष्ट मलको विक्रीमा कमि भएको खतिवडाले बताउनुभयो । कम्पोष्ट मल व्यावसायिक कृषि फार्ममा सहुलियतमा विक्री गर्ने योजना रहेको खतिवडाले बताउनुभएको छ ।
जनघनत्वका आधारमा सातामा ४ दिनदेखि महिनामा ४ पटक फोहर संकलन गर्ने गरिएको छ । अहिले संकलन भएको सम्पूर्ण फोहोरहरु हेटौंडा–१० स्थित डम्पिङ साइटमा थुपार्ने गरिएको छ । संकलित नकुहिने फोहोरहरु छुट्याउने गरेको तथा मेडिकलजन्य फोहोरहरुलाई छुट्टै जलाउने गरेको खतिवडाले बताउनुभयो । स्थानीय सरकारसँगको सहकार्यमा फोहर व्यवस्थापनको कार्य प्रभावकारी भएकै कारण अहिले ग्रीन एण्ड क्लिन सिटीसँग बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका र सर्लाहीको लालबन्दी नगरपालिकासँगको साझेदारीमा फोहर व्यवस्थापनको कार्य गर्दै आएको छ ।
हेटौंडा उपमहानगरपालिकाको डम्पिङ साइटमा १५ हजार विरुवा रोपिएको छ । साइटमा सेनेटरी पार्क बनाउने उपमहानगरपालिकाको योजना रहेको छ । त्यसका लागि उपमहानगरपालिकाले बजेट समेत छुटाएको छ । पार्कलाई कसरी आकर्षक र साइटलाई अझै कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर हेटौंडा उपमहानगरपालिकका मेयर हरि बहादुर महतले स्थलगत अध्ययन समेत गर्नुभएको थियो ।