कोरोना जोखिमका कारण बन्द भएका विद्यालयहरु अब खोल्ने जिम्मेवारी सरकारले स्थानीय तहलाई दिएको छ । लामो समयदेखि शैक्षिक गतिविधि ठप्प हुँदा बालबालिकामा नकारात्मक प्रभाव परिरहेको छ । यस्तै एक शैक्षिक सत्र खेर जाने परिस्थिति बन्दै गएपछि सरकारले गत असारदेखि वैकल्पिक शिक्षण सिकाईका लागि निर्देशिका जारी गरेको थियो । तर यो पद्दती आम विद्यार्थीको पहुँचमा पुग्न सकेन । रेडियो, टिभि, अनलाइन विधिबाट गरिने पठानपाठन सहरी क्षेत्रमा मात्र प्रभावकारी भएको छ । कतिपय विद्यालयहरुले स्थानीय तहमै समुह बनाएर कक्षा सञ्चालन गरिरहेका छन् । ग्रामिण क्षेत्रमा अन्य विधि भन्दा स्थानीय रुपमा समुह मार्फत गरिएको सिकाई प्रभावकारी भएको छ । यसले प्रत्यक्ष रुपमा हुने पढाई बढी प्रभावकारी देखिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै गएको क्षेत्रका विद्यालयहरु सञ्चालन गर्न सकिने कार्यविधि बनाएको छ । यो कार्यविधि अनुसार अब स्थानीय पालिकाहरुले आफ्नो क्षेत्र भित्र जोखिमको मूल्याङ्कन गरी विद्यालयहरु खोल्न र बन्द गराउन सक्ने भएका छन् । सरकारले यस्ता कार्यविधि यसअघि पनि जारी गरेको छ । तर त्यसको पूर्णरुपमा कार्यान्वयन हुन नसकी रहेको अवस्थामा विद्यालय सञ्चालनका लागि जारी भएको कार्यविधि कार्यान्वयन हुन्छ भन्ने अवस्था छैन । स्थानीय रुपमा कक्षा सञ्चालन गराउन सहज पक्कै छैन । कार्यविधिले निर्धारण गरिदिएको मापदण्ड अनुसारका विद्यालयको भौतिक पूर्वाधारको अभाव नै चुनौति बन्ने देखिन्छ ।

कोभिड महामारी मानिसको भिडभाडबाटै फैलने भएकाले विद्यालय उच्च जोखिमको क्षेत्र हो । विभिन्न क्षेत्र, समुदाय र वस्तीहरुबाट बालबालिकाहरुको उपस्थिति हुने विद्यालयलाई कोभिड प्रभावबाट मुक्त राख्न प्रशासनलाई कठिन छ । त्यसैले कोभिडको सही विश्लेषण गरी कोभिड सङ्क्रमणको अवस्था न्यूनीकरण भएको क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न भनिएको हो । तर यसको मापन कसरी गर्ने भन्ने कुरामा स्थानीय तहमै अलमल देखिन्छ । केही जिल्लामा सुरु भएका कतिपय विद्यालयहरु फेरी बन्दै हुँदै गएका छन् । त्यसैले मकवानपुरमा पनि कोभिडको प्रभाव क्षेत्र र अवस्थाको सही विश्लेषण हुन आवश्यक छ । यसका लागि स्वाब सङ्कलन, परीक्षण, पुनः परीक्षण, लक्षण भए, नभएको अवस्था र सङ्क्रमितको स्वास्थ्य अवस्था जस्ता विषयको पूर्ण जानकारी आवश्यक हुन्छ । तर मकवानपुरका सङ्क्रमितहरुको उल्लेखित कुनै पनि विवरण दुरुस्त पाइँदैन । यस्तो अवस्थामा कुन क्षेत्रका विद्यालय सञ्चालन गर्ने भन्ने निक्र्योल गर्न कठिन छ ।

सरकारले जारी गरेको निर्देशिका अनुसार हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी गृहकार्य सुरु गरेको छ । शिक्षा विकास महाशाखाले संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्ने भएको छ । विद्यालयहरुसँग कक्षा सञ्चालनको कार्ययोजना समेत मागिएमा छलफल सार्थक हुन सक्छ । सञ्चालन गरिने कक्षाहरुको अनुगमन अनिवार्य हुनु पर्दछ । दुईतर्फी हावा पास हुने कक्षाकोठा, बेञ्चमा दुई जना विद्यार्थी राख्दा एक सिफ्टमा विद्यार्थीको संख्या, ओहोर–दोहोर गर्ने ढोकादेखि शौचालय र धारा, पानीको अवस्थामा सम्बन्धित निकाय र तहबाट अनिवार्य अनुगमन हुनुपर्छ । राज्यले निर्धारण गरिदिएका मापदण्ड पुगेको र कोभिडको अवस्था न्यून भएको क्षेत्रका विद्यालयहरु सञ्चालन गर्न सम्बन्धित पालिकाले अनुमति दिन सक्ने देखिन्छ । नत्र कोरोनाले विद्यालय तहबाट भयानक रुप लिने खतरा यथावत छ ।