हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा नियमित बजार अनुगमन हुने भएको छ । कोरोना महामारीको समयमा दशैंताका सबै अनुगमन गर्ने निकायहरुमा कोरोना सङ्क्रमण देखिएपछि अस्तव्यस्त भएको बजार अनुगमन पुनः अहिले सक्रिय भएको छ ।

कोरोना सङ्क्रमण अनुगमन गर्ने कार्यालयमा हटेपछि हेटौंडामा बुधबार बजार अनुगमन भएको थियो । बुधबार हेटौंडाको राप्तिरोड तथा स्वर्गलोक क्षेत्रमा बजार अनुगमन भएको हो । अनुगमनका क्रममा १४ प्रकारका अगरबत्ति बिक्रि गर्दै आएको हेटौंडा–१ को जेकी किरानालाई २ लाख ५० हजार जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभयो । किराना पसलको पनि थोक विक्रि गर्ने तथा भित्र लोकल धुपमा बेंग्लोरको अगरबत्ती धूपको लेबल लगाएको १४ प्रकारका धूप प्याकिङ गरेर बेच्ने पाइएको अनुगममा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले बताउनुभयो ।

हेटौंडा–१ स्वर्गलोकमा भएको जेकि किरानामा धूपको प्याकेटमा लोकल धूप हालेर बेच्ने गरिएको पाइएको उहाँले बताउनुयभो । खतिवडाका अनुसार एक सय ग्राम भनेर बेचिने धूप ४५ ग्राम मात्र पाइएको छ । उपभोक्तालाई सोझै ठगी गरेको, उद्योग दर्ता नगरी व्यवसाय कारोबार गरेको तथा अन्य भारतको ब्रान्डमा आफ्नो लोकल धूप उत्पादन गरेर बेच्ने गरेको पाइएपछि जरिवाना गरिएको खतिवडा बताउनुहुन्छ । जेकि किरानालाई भने बुधबार नै शिल गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख दाहालले बताउनुभयो ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा शाखाले पनि नियमित बजार अनुगमन हुने जनाएको छ । बुधाबार भएको बजार अनुगमनमा खाद्यान्न तथा तिहारमा धेरै प्रयोग हुने भाइमसलाहरुको पनि अनुगमन भएको छ । बजारमा पाइने भाइमसलामा लेबलिङ नभएको, मुल्य सुचि नभएको, हरेक व्यवसायीले गरेको, एउटा व्यवसायको इजाजत लिएर जुत्ता पसलले पनि भाइमसला बेचेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका सुचना अधिकारी श्रृजना महर्जनले बताउनुभयो । यस्तै तिहारमा हुने मिठाई, भाइमसला, खाद्यान्नमा बढी अनुगमन हुने पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि यही कात्तिक २३ गते भएको हेटौंडा बजारको अनुगमनमा हेटौंडा १० मा रहेको बिजय किराना पसलका सञ्चालकलाई पनि साढे २ लाख जरिवाना गरिएको थियो । एक वर्ष अगाडि म्याद नाघेको कनिका २० किलोका एक सय बोरा कनिका भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको घरेलु कार्यालय मकवानपुरले बताएको छ । जरिवाना गरिए तापनि अहिलेसम्म घरेलु कार्यालयको राजस्व शाखामा भने जरिवाना रकम जम्मा गरिएको छैन ।

कार्यालयका प्रमुख जगन्नाथ दाहालले भने संयुक्त बजार अनुगमनलाई अब प्रभावकारी बनाउँदै नियमित हुने बताउनुभएको छ । उपभोक्तालाई ठग्ने, उद्योग दर्ता नगर्नेलाई दर्ता गर्न सुझाव दिएको तथा म्याद गुज्रेको सामान जफत गरिँदै आएको उहाँको भनाइ छ । संयुक्त बजार अनुगमनमा जाँदा आवश्यक परे बजारमा नै जरिवानाका रसिद काट्ने गरिएको छ । चाडपर्वमा हुँदै आएको बजार अनुगमनमा हालसम्म ठुलो रकमका रुपमा २ वटा किरानालाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको घरेल तथा साना उद्योग कार्यालय मकवापनुरका प्रमुख दाहालको भनाइ छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।