विश्वका कतिपय मुलुकमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । त्यसैले पश्चिमा देशहरुमा लकडाउन फेरी हुन थालेका छन् । निरन्तरको लकडाउनले अर्थतन्त्र धारासायी भएपछि नेपालमा लकडाउन अन्त्य भएसँगै कोरानाको सङ्क्रमण व्यापक भएको छ । नेपालीहरुलाई कोरोनाले ठूलो असर गर्दैन भन्ने सरकारी आँकलन र नागरिकको सोचाई गलत सावित भई यतिबेला अस्पतालहरुमा विरामीले उपचार पाउन नसक्ने अवस्था बन्दै गएको छ । यस्तो अवस्था किन आयो ? भयावह अवस्थाको पूर्वअनुमान गर्न नसक्नु वा हेलचेक्र्याई गर्ने निकायहरु दण्डित हुने कि नहुने भन्ने प्रश्न पनि उठ्न थालेको छ । जे भएपनि नेपालमा कोरोनाले यतिबेला तालाबाला खेलाइदिएको अवस्था छ ।

विकसित मुलुकका लागि समेत टाउको दुखाईको विषय बनेको कोरोना भाइरस सङ्क्रमणको अवस्था नेपालमा भने बेवास्ताको विषय भइरहेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहँदा प्रदेश सरकार परीक्षणको जिम्मेवारीबाट पन्छिरहेको छ । पुनः परीक्षण नगर्ने सरकारको नीतिले सङ्क्रमण बढ्दै गएको देखिन्छ । पुनः परीक्षण नहुने भएपछि सङ्क्रमितहरुले सङ्क्रमण भएको समय लुकाउने र सामान्य सञ्चो भएपछि पूर्ववत रुपमा काममा फर्कने गर्दा अन्य मानिसहरुलाई सर्ने जोखिम बढ्दै गएको छ । यस्तै आफुखुशी गर्न पाउने भएपछि संस्थागत आइसोलेसनहरु खाली हुँदै गएका छन् । सङ्क्रमण भएपनि मानिसहरु होम आइसोलेसनका नाममा बस्ने तर व्यवहार यथावत गर्ने गरेको पाइएको छ । सरकार कोरोना महामारीको जिम्मेवारीबाट हट्दै जाँदा जोखिम भने बढ्दै गएको छ ।

बागमती प्रदेशको राजधानीे हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य वृद्धि भइरहँदा बागमती प्रदेश सरकारमातहतको हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्ड भने रित्तिँदै गएको छ । दोहोर्‍याएर परीक्षण समेत नगर्ने भनिएपछि सङ्क्रमणको अवस्थाका बारेमा समेत यकिन अवस्था थाहा हुन कठिन छ । सङ्क्रमण भएको १४ दिनपछि सरकारले कोरोनामुक्तको सूचिमा सङ्ख्या चढाउने गरेको छ । तर विरामीको अवस्था के छ ? कहाँ उपचार गराइरहेको छ ? वा निको भयो ? वा सङ्क्रमण यथावत छ ? भन्ने विषयमा कुनै जानकारी नै छैन । सङ्क्रमण पुष्टि गर्ने र १४ दिनपछि मुक्तभएको सूचि तयार गर्ने बाहेक यतिबेला कोरोनाका विषयमा सरकारले अन्य काम गरेको देखिँदैन ।

पुनः परीक्षण अनिवार्य नभएपछि सामाजिक व्यवहारका कारण नागरिकले आफू सङ्क्रमित भएको कुरा लुकाउन थालेका छन् । यदि सरकारी आइसोलेसनमा बस्न जाने हो भने छरछिमेकदेखि समाजलाई कोरोना सङ्क्रमण भएको जानकारी हुन्छ । त्यसैले अरुलाई थाहा नदिन पनि सङ्क्रमितहरु घरमै बस्ने गरेको पाइन्छ । यस्तै आइसोलेसनमा गरिने व्यवहार, स्याहार र अन्य सुविधाका कारण पनि नागरिकहरु घरमै बस्न बाध्य छन् । हेटौंडाको आइसोलसनमा खान, बस्न र सुत्न बाहेकको अन्य परीक्षण तथा उपचारको व्यवस्था छैन । त्यसैले पनि हेटौंडामा सङ्क्रमण बढ्दै जादाँ गौरिटारको आइसोलेसन खाली हुँदै गएको छ । विरामीलाई अप्ठेरो परे उपचारका लागि अन्यत्रै जानु पर्ने भएपछि आइसोलेसनमा किन बस्ने ? भन्ने प्रश्न स्वभाविक हो । देशभर ३७ हजार ५ सय भढी सक्रिय सङ्क्रमित हुँदा ३० हजार ५ सय बढी होम आइसोलेसनमा छन् । यसले संस्थागत आइसोलेसनप्रति अविश्वास र दूरावस्थाको सङ्केत गर्दछ । यस विषयमा राज्यले आफ्नो नीतिमा गम्भीर समिक्षा गर्न जरुरी छ ।