हेटौंडाः हेटौंडा उपमहानगरपलिका वडा नम्बर १३, पदमपोखरीमा चुरे ग्रीन पार्कमा ५ तलाको भ्यूटावरको सोमबार शिलान्यास भएको छ । भ्यूटावरको निर्माण कार्यका लागि १३ नम्बर वडाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा उपमहानगरपलिका प्रमुख हरि बहादुर महतले भ्यूटावरको शिलान्यास गर्नुहुँदै ३ करोड रुपैयाँ लागतमा बन्न लागेको ५ तलाको भ्यूटावरका लागि उपमहानगरपालिकाले आगामी दिनमा बजेटको व्यवस्था गर्ने र सक्दो सहयोग गर्ने बताउनु भएको छ । वडा नम्बर १३ का अध्यक्ष मनोज कुमार वाईबाको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्य रहेको थियो । शिलान्यास कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष ललित बहादुर घलान, विभिन्न टोल विकास संस्थाका व्यक्तिहरुको लगायतको उपस्थिति रहेको वडा नम्बर १३ का टोल विकास समन्वय समितिका अध्यक्ष बालकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।