कोरोना भाइरसका कारण नेपाली सञ्चारकर्मीहरु पनि निकै प्रभावित भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको दर वृद्धि भएसँगै नेपाली सञ्चार क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको हो । देशभर हालसम्म ४ सयभन्दा बढी पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ भने ४ जना पत्रकारको कोरोनाका कारण निधन भइसकेको छ । यस्तो अवस्थामा पनि पत्रकारहरुले नागरिकलाई सूचना दिने कर्मलाई निरन्तरता दिएका छन् । तर उनीहरुको कुनै प्रकारको सुरक्षाको ग्यारेन्टी हुन सकेको छैन । मिडिया हाउसदेखि सरकारका तर्फबाट गरिनु पर्ने अभिभावकत्व पत्रकारहरुले पाउन सकिरहेका छैनन् । बरु उनीहरु अनेक समस्याको सामना गर्न बाध्य छन् । परिक्षण, उपचार तथा बिमाका विषयमा सहजीकरण आवश्यक देखिएको छ ।

राज्यका उपल्लो पदाधिकारीहरुले अनेक सुविधा उपयोग गरिरहँदा आम नागरिकदेखि सञ्चारकर्मीहरु भने बञ्चित भइरहेका छन् । त्यसैले नेपाल पत्रकार महासङ्घले सरकारसँग निःशुल्क पीसीआर परीक्षण गर्न र सङ्क्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न माग गरेको छ । सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत जिम्मेवारी निर्वाहका क्रममा सङ्क्रमित हुन बाध्य भएका पत्रकारहरु आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गरिरहेका छन् । यस्तै आमनागरिकले पनि यही समस्या खेप्दै आएको परिस्थितिमा मन्त्री, सांसद् तथा उच्चपदस्थ सरकारी कर्मचारीहरुको परीक्षणदेखि उपचार समेत निशुल्क गरिनु न्यायोचित व्यवहार हुन सक्दैन । तसर्थ सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको पनि निःशुल्क पीसीआर परीक्षण र उपचारको उचित व्यवस्था गर्न महासङ्घको आग्रहलाई सरकारले गम्भीरतापूर्वक लिनु पर्दछ ।

कोरोना सङ्क्रमणको विषयमा नागरिकलाई सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरु यति बेला दोहोरो मर्कामा परेका छन् । दैनिक रुपमा पत्रकारहरु सङ्क्रमित भइरहेका छन् भने कोरोनाका कारण आयश्रोत घटेको भन्दै कतिपय सञ्चारगृहले पत्रकारहरुलाई बेतलबी बिदा दिने, अवकास दिने वा सरुवा गर्ने जस्ता काम पनि गरेका छन् । यस्तो व्यवहारका विरुद्ध पनि महासङ्घको प्रभावकारी दवाव आवश्यक छ । विज्ञप्ती मार्फत विरोध भन्दा सञ्चार गृह र श्रमजीवि पत्रकार बीच समन्वय गराउने भूमिका पनि आवश्यक छ । पेशागत अधिकारका लागि सङ्गठित भएका आफ्ना सदस्यहरुको सुरक्षा गर्नु वा गराउनु पनि महासङ्घको दायित्व हो ।

पछिल्लो समय कोरोना सङ्क्रमणका विषयमा सरकारले गर्ने निर्णयहरुले आमनागरिक समेत प्रभावित भएका छन् । निशुल्क स्वास्थ्य उपचारको संंवैधानिक अधिकार हनन् हुँदा समेत नागरिक समाजका तर्फबाट कुनै प्रतिक्रिया छैन । सञ्चार क्षेत्र र सर्वसाधारणको असहमतिप्रति सरकार संवेदनशील नभएको अवस्थामा नागरिक समाजका तर्फबाट पनि सङ्गठित दवाव आवश्यक छ । यस्तै सञ्चारकर्मीहरुले महामारीकाबीच खेप्दै आएका समस्या समाधानमा पनि आम सर्वसाधारणदेखि नागरिक अगुवाहरुले समेत चासो दिन आवश्यक छ । सञ्चार क्षेत्र पेशा मात्र नभएर आवाजविहिनको आवाज भएकाले यस माथि आइपर्ने समस्या समाधानमा सबैको जिम्मेवारी हुनु पर्दछ । त्यसैले महासङ्घले पनि आफ्ना समस्यामा नागरिकको तर्फबाट पनि दवावको अपेक्षा गरेको देखिन्छ । महामारीबाट जोगाउन र जोगिन समाजका सबै वर्ग क्षेत्रका समुदायको समान चासो आवश्यक छ ।