संप्रस पौडेल

आजकाल मान्छेहरूलाई सबैभन्दा ठूलो चिन्ता ‘चिन्ता नलिन परे हुन्थ्यो’ भन्नेमा छ । यही चिन्ताले मनोरोग विशेषज्ञ, मोटिभेसनल स्पिकर, प्रवचनवाला दाह्री बाबा, थेरापिस्ट, शहरबजारका धामीझाँक्रीहरूको दुई छाक राम्रै व्यञ्जनका साथ टरेको छ ।

चिन्ताले ज्युँदो छँदा मात्रै होइन मरेपछि पनि छाड्दैन । हजुरबा दानपान गर्न चाहनुहुन्थ्यो । बा पनि त्यस्तै । हजुरबाको बा पनि उस्तै होलान् भन्ने लख काट्न थाल्याछु ।
बा भन्नुहुन्छ “आज राती सपनामा हजुरबाले फलानो स्कूलको अक्षयकोषमा १ लाख जम्मा गर्दे भन्नुभो” मलाई अर्को चिन्ता बढ्यो । सरसापटी र ऋणव्याज मिलाउनै हम्मेहम्मे पर्दा अक्षयकोष कसरी खडा गर्नु । हजुरबा बितेको पन्ध्र वर्षपछि पनि उहाँको चिन्ता झन् हुर्हुरिएको रहेछ ।

मर्नेको चिन्ता बाँच्नेहरूमा सर्दोरछ । त्यसो त मलामी जाँदा सबैले गुणगान गाएकै हुन् । चर्चा सुन्दा मर्ने व्यक्तिका कारण यो सालको ओस्कार, बुकर, पद्मश्री र मदन पुरस्कारहरू खाली हुने जस्तै ठानेका थियौं । हामीप्रति उनीहरूको कत्रो चिन्ता भन्ने लाग्थ्यो । सबैको यस्तै हुँदोरहेछ । बिरालो बाँध्ने परम्परा भनेजस्तो ।पहिले पहिले “तपाइँका बा–आमासँग मैले सापटी लिएको” भनेर धनसम्पत्ती मृत्युपछि फिर्ता गरेको अनी लिनुपर्नेले पनि एकबोलिमै छोराछोरीबाट फिर्ता पाएको सुनिन्छ । आजकाल पाप–धर्मका दिन गए । र त चिन्ता झन् झाँगिएर आयो ।

सज्जन न फटाहा सबैले मर्नैपर्छ । आफूले झैं गर्नु वा नगर्नु है भनी दिएको सन्देश, उधारो तिर्नुपर्ने चिन्ता, सापटी खेर गएको चिन्ता… अनेकानेक चिन्ताले चितामै सती जाउँ झैं गर्नेहरू पनि हुन्छन् । उतिखेर रायप्रसाद, रायबहादुर, रायचन्द, रायराम, रायनारायणहरू प्रशस्तै निस्कन्छन् । अनी यस्तो भन्ने मोटिभेसनल स्पिकरहरूले नै दुखमा मल्हम लगाउँछन्, “तेरो मात्रै हो र, मेरो पनि खाएर गयो ।” यी चिन्तेहरूले नै बरू मन बहलाउन सघाउँछन् ।

पहिले खान नपाउने चिन्ता, अहिले खाएर रोग लाग्ने चिन्ता । चिन्ता पनि कति हो कति । पहिले पहिले छरछिमेकी गाउँलेहरू “बाछो व्याओस् कि बाछी व्याओस् भतुवालाई बिगौती” भनेझैं चामलको भात खान छरछिमेकका श्राद्ध कुर्थे अरे । कोही कोही त भात लागेर चितामै पनि पुग्थे होलान् । तिनको पनि श्राद्ध हुन्थ्यो र फेरी अरू कोही चामलको भात खान पाउनेमा चिन्ता मुक्त हुन्थ्यो होला । चिन्ताको मृत्यु पनि मान्छेको मृत्युसँगै हुन्न कि कसो हो खै ।

चिन्ताले चितामा पुर्‍याउँछ भन्छन् । सगरमाथाको टुप्पो, डेथभ्यालीको फेदीदेखि चन्द्रमा, मङ्गल जहाँ जहाँ पुगे पनि मृत्यूभन्दा बढी सत्य अनी चिताभन्दा पर जाने ठाउँ पनि त संसारमा कहाँ पो छ र ?
लेखकको व्यक्तिगत राय के छ भने जिउँदो मात्र के, मरेपछि पनि दुनियाँलाई व्यस्त, मस्त बनाउने हुँदा चिन्ता लिन नछोडौं । डाक्टरहरू त भन्छन्, खुशी हुँदा, हाँस्दा कोषहरू सक्रिय हुन्छन् । अझै थप्छन्, जो हाँस्छ, त्यो धेरै बाँच्छ । मान्छेले ज्यादै चिन्ता लिएर आजको आजै भुतुक्कै मरिहाल्ने पनि होइन रहेछ । यसैले भनिन्छ नि चिन्ताले विस्तारै मार्छ । ऊ त मर्दैन नै, आखिर हामीलाई पो के हतार छ र ?

(नोटः– हरेक साता सोमबार www.samriddhasamaj.com मा संप्रस पौडेलको ‘एकछिन ल’ स्तम्भमा विचार प्रकाशन हुनेछ । शिक्षण पेशामा आवद्ध संप्रस पौडेल विशेषतः हाँस्यव्यङ्ग्य शैलीमा समाजका ससाना जस्ता देखिने तर गम्भीर विषय उठान गर्नुहुन्छ । समस्यालाई समस्याको आकारमै विश्लेषण गर्नुहुने संप्रस पौडेलका लेखनबाट हाम्रा पाठकले समाजका क्रियाकलापलाई बुझ्न सहयोग पुग्ने अपेक्षा गरेका छौं । संप्रस पौडेललाई www.samriddhasamaj.com परिवार हार्दिक स्वागत गर्दै हामीसगँ उहाँको सहकार्यप्रति आभार समेत व्यक्त गर्दछौं ।)