आफूलाई आपतविपत् पर्दा भगवान पुकार्नु भन्दा आधुनिक जनता सरकारको मुख ताक्ने गर्छन् । किनकि हरेक देशमा सरकार जनताकै नममा चलेको हुन्छ । जतिसुकै स्वेच्छाचारी किन नहुन शासकहरु नाम चाहीँ जनताकै लिने गर्छन् । त्यस्तै चुनावका बेला निक्कै भाउ पाएका जनता पनि यिनका चिप्ला कुरा सुनेर धेरै आस गरी बसेका हुन्छन् । कोभिड–१९ ले उत्पात् मच्चाउन थालेपछि जनता सरकारबाट केही झर्लाकी भन्ने आस गरेर बसेका थिए । तर समाज सेवा समेत पैसाका लागि हुने हाम्रो जस्तो नाफामुखी अर्थ व्यवस्थामा जनताको जीवन रक्षाले प्राथमिकता पाउने कुरै आएन । त्यही कामका लागि भनेर राज्यको तलब सुविधा लिनेलाई समेत जिम्मेवार बनाउन सरकार असफल भएको देखेर जनता निरास भए । एकातिर देशलाई माया गर्ने धनवानहरु जनतालाई सङ्कटबाट बचाउन मन खोलेर सरकारी कोषमा राहत रकम जम्मा गरी आँखा लगाउँदै कीर्तिमानको कालो इतिहास रच्दै थिए । उपचार नपाई अस्पतालबाट सोझै चिहान पुगेकाहरुका आफन्तलाई कमिसन, भ्रष्टाचार, अनियमितता, गैरजिम्मेवारीपन को थप काला कथा भन्नै परेन । सरकार कस्का लागि काम गर्दैछ भन्ने सबै नेपालीले आफैँले थाहा पाए ।
हाम्रो एउटा छिमेकी राष्ट्र आफ्नो सम्पूर्ण सामथ्र्य लगाएर आफ्ना जनताको जीवन रक्षामा जुटिरहेको बेला अर्काे छिमेकी भने कसले के खान्छ ? र कस्ले के…? भनेर हिसाब गर्दै थियो । अझ पश्चिमा शासकहरु त ड्रागन सक्किने भो भन्दै काखी बजाइरहेका थिए । त्यहाँका चिल्ला सडकमा कोभिडले ढलेका मानव लासको जब थुप्रो लाग्न थाल्यो तब शासकहरुले आफ्ना जनतालाई एकथान मास्क पनि दिन सकेनन् । सामान्य उपचारको कुरै छाडौं । सम्पन्नताको शिखर चुम्न भ्याइसकेका विकसित भनिने पश्चिमा राष्ट्रका शासकहरुको यो रबैया देखेर हाम्रा यहाँका शासकहरु जनताका लागि सक्ने काम पनि नगर्न उत्साहित भए । फलस्वरुप बेसार पानी खाएर कोभिड–१९ लाई हाच्छिउँ गर्दै उडाई दिनु पर्छ भन्दै दिव्यज्ञान दिनु बाहेक सरकारबाट केहि झरेन ।
रोगको रक्षा कवच मानिएको साबुन, स्यानिटाइजर, माक्स पद पाएपछि नेपाली नेतामा क्रान्तिकारिता हराए जस्तै रहस्यमय ढङ्गले बजारबाट हराई सकेका थिए । अरुको कुरै छाडौं जलस्रोतको धनि भनिने देशमा कतिपयले त हात धुनलाई पुग्दो पानी समेत भेटेनन् । विपत्तीसँग जुध्नका लागि सरकारको साथ सहयोग नभएपछि जनता राम भरोसेमा पुगे । आफ्नो भएभरको सामथ्र्य लिएर मैदानमा उत्रिनु बाहेक जनतासँग अरु विकल्प थिएन । पैसा कुस्त कमाएकाहरु (?) आफ्नो मोज गर्ने शरीर तुरुन्तै जाला कि भन्ने डरले लकडाउनको अक्षरशः पालना गर्दै थिए भने म जस्ता थकाइ लाग्दो जागिरमा दशकौं बिताएकाहरु पनि रहर पुग्ने गरी पेन्सन खानुपर्ने शरीरको मायाले बाहिर निस्किएका थिएनन् । अरु कतिपय यसले ल्याएको समस्या झेल्न नसकेर सिलिङ्ग हुकमा आफ्नै कोठा भित्र फल्दै थिए र बाबीहरुको लागि कोरोना भन्दा भोकको डर बढी भएकोले कोठाभित्र थुनिन सकेनन् ।
जोगी होस् या भोगी, डाक्टर होस् वा रोगी, फिराकी होस् वा सुराकी आतङ्ककारीदेखि लिएर क्रान्तिकारीसम्मका कसैलाई पनि नेपाल भित्रिन चोर बाटो चाहिन्न । ताजा स्वदेशी फलफुल र तरकारीले बजार नपाएर वस्तुभाउको आहारा बन्नु परेको छ भने अर्को तिर विषयुक्त फलफुल र तरकारी विदेशबाट निर्वाध भित्रिन्छ । सिमानामा रोकटोक त परै जावस सोध–खोजसम्म गर्ने मानिस पनि नभेटिने गर्नाले जोसुकै पनि ढुक्कसँग छातिका भुत्ला देखाउँदै नेपाल भित्र छिर्छन् । यस्तै खुला सिमाको लाभ उठाउँदै कोभिड–१९ पनि नेपाल भित्रियो । यसको आगमनपछि यहाँका शासकहरुले पनि अरुको सिको गर्दै लकडाउनको उर्दि जारी गरे । किनकी उनीहरुसँग महामारीसँग जुध्ने यो बाहेक अरु केही तयारी थिएन । यसले काममा अभ्यस्त दुई हात पाखुरा बाहेक आफ्नो भन्नु संसारमा अरु केहि नभएका सर्वहारा श्रमिकलाई दिनुसम्म सास्ती दियो । जीवनयापन अत्यन्तै कठिन बनायो । काम लगाएर ज्याला दिने मानिसहरु आफ्नो महङ्गो ज्यान जोगाउन दुलो भित्र पसेपछि श्रमिकहरुका लागि खाद्य बजारसम्मको पहुँच दुरुह सावित भयो । अरुसँग मागेका राहत सामग्री लिएर दानवीरहरु नआएका होइनन् । तर, ती सबै राहत कम, तामझाम बढी देखाउँदै फोटो खिचाएर बिदा हुन्थे । एक त अपमानको बोझले निहुरिएको शिर लिएर निक्कैबेर लाइनमा उभिनु छ । त्यसमाथि अलिकति त्यो पनि कुहिएको चामल मात्र हात पर्न थालेपछि बरु भोकै मर्न बेस भन्दै आफ्नो बाटो लाग्नेहरु पनि निकै भेटिए । आवागमनको प्रतिबन्धले गर्दा घर हिँडेका प्रवासी मजदुरहरु बाटो मै अड्कीएर बिचल्लीमा परे भने ठाउँ ठाउँमा जनताको न्यानो सहयोग पाएर कतिपयले परिवारका अशक्त सदस्यहरुलाई काँधमा बोक्दै नाङ्गा खुट्टाका भरमा आफ्नो गाउँसम्मको जोखिमपूर्ण यात्रालाई निरन्तरता दिए ।
बाँचेर लामो समयसम्म रमाइलो संसार हेर्ने धोको मानिसले जन्मेदेखि नै लिएर आएको हुन्छ । बाँचेपछि हरिया खुट्टा देख्न पाइन्छ भन्ने उखान त्यसै जन्मेको होइन । कोभिड १९ को बन्दाबन्दीको सुरुवाती दिनहरु आफ्नै घरको छाना मुनी पकाएर खाने सामग्री छउञ्जेलसम्म सबैलाई रमाइलै भएको हुनुपर्छ । त्यस बेलासम्म धेरैलाई मरिन्छ भन्ने त्यत्ति विधि डर थिएन । अन्यत्र जे भए पनि नेपालमा भने महामारीले धेरै मानिसको ज्यान लिई सकेको थिएन । कतिपय मेरा फेसबुके साथीहरु पुराना तस्बिरले आफ्ना वाल भर्दै थिए भने कतिपय पाक कलाको राष्ट्रिय प्रतियोगितामा भाग लिए जस्तरी खानाका नयाँ नयाँ परिकार बनाउँदै, खाँदै गरेको फोटो पोस्ट गर्दै थिए । रोगको उपचार बारे आफ्ना विज्ञता झार्ने त झन कति थिए कति । तर कतिपय धनवान, शक्तिवान व्यक्तिहरुको जीवनरक्षा गर्न संसारको एक सय एक नामी अस्पताल र तिनका डाक्टरहरुले पनि नसकेको देख्दा उनीहरुको विज्ञता हावादारी जस्तो लाग्थो । रोग लाग्नै नदिने र लागीहाले पनि नमर्ने चमत्कारिक उपायको खोजीमा धेरै मानिस सामाजिक सञ्जालमा भौतारिन थाले । चिन्ताले रोगको प्रभाव बढाउँछ भन्ने सत्य सावित त्यतिखेर भयो जब आफूलाई कोरोना लागेको थाहा नपाउने मानिसहरु भन्दा थाहा पाउने मानिसहरु बढि मरेको समाचार बहिरिन थाले ।
म कोभिड–१९ को जोखिम समूह भित्र पर्ने व्यक्ति हुँ । किनकी मलाई सुगर र प्रेसर दुबै छ । अस्पताल गएर डाक्टरको मुख मात्र हेर्नु भन्दा चिन्तामुक्त हुने उपायको खोजी गर्नु आवश्यक थियो । रोग प्रतिरोध क्षमतालाई सकेसम्म बढाउने नभए पनि घट्न नदिने कुरामा मैले चनाखो हुनु पथ्र्याे । त्यसैले म यसबाट मुक्त हुने उपायको खोजीमा रहेको बेला मेरा आँखाहरु टेबुल माथिको कलममा परे । फेसबुक हेरेर नकारात्मक सूचनाले दिमाग भर्दै चिन्तित हुनु भन्दा कागजको टुक्रा माथि कलमी घोडा कुदाएर मनको वह पोख्न नै बेश होला भन्ने मलाई लाग्यो । चिन्ता भगाएर दिन कटाउने यो भन्दा उत्तम उपाय अरु मैले देखिन ।
धुम्रपान र मध्यपानका अम्मलीलाई रोगले चाँडै मृत्यु लोकको यात्रा गराउँछ भन्ने थाहा पाएर म आंशिक खुसी भएको थिएँ । किनकी धुमपान मात्र होइन निकोटिनजन्य कुनै पदार्थ पनि मेरो मुखमा नपरेको ठ्याक्कै दुई वर्ष भएको थियो । यो अम्मल मैले कसरी छाडेँ म आफैँलाई अचम्म लाग्छ । स्कुले जीवनदेखि नै मैले बिँडी, चुरोट तान्न सुरु गरिसकेको थिएँ । कक्षामा हामी पुग–नपुग चालीस जना जति केटा थियौँ । केटीरहित हाम्रो कक्षामा बिँडी, चुुरोट नतान्ने कोही थिएन । त्यस बेला विद्यार्थी अहिलेका जस्ता साना थिएनन् । झण्डै दुई घन्टासम्म हिँडेर स्कुल आइपुग्नेको सङ्ख्या पनि उल्लेख्य नै थियो । धेरैले घरबाटै आफ्ना अग्रजहरुबाट बिँडी तान्न सिकिसकेका थिए । टिफिनमा हामी सुटुक्क मकै बारी भित्र छिरेर बिँडी सल्काउँथ्यौँ । फर्किँदा हाम्रो मुख सँुघेर कोही–कोही सरले लठ्ठीले हातमा हिर्काउँथे । तैपनि हाम्रो बानी छुटेको थिएन । पहिलो चोटि मुखबाट निलेको धँुवा नाकबाट निकाल्दा मैले आफूलाई पूर्णरुपले हुर्किएको अनुभव गरेको थिएँ । पछि गएर म शिक्षक भएँ । त्यहाँ पनि मेरा सहकर्मीहरु सबै खैनी, चुरोटका अम्मली थिए । चुरोट तान्दै हामी कक्षाकोठा भित्र पस्दा कसैले केहि भन्दैनथे । स्कुल हाताभित्र धुम्रपान कहिलेदेखि प्रतिबन्धित भयो मलाई तिथि, मिति एकिन छैन । तर टिफिनमा चिया नास्ता गर्न बाहिर जाँदा दुई चार खिल्ली चुरोट नफुकी हामी फर्किँदैनथ्यौँ । पछि विद्यार्थीले वचन लगाउन थालेपछि हामी उनिहरुले नदेखुन् भनेर शौचालय भित्र चुरोट, खैनी सेवन गर्न थाल्यौँ ।
चुरोट, खैनी, पान, मध्ये हरेक अगाडिको छोड्न पछाडीको अम्मल गर्दा एकपटक त सबै नभई नहुने भएको थियो । कारखाना हेरेर भारतबाट फर्किएको एउटा साथीले यसको घिनलाग्दो निर्माण प्रक्रिया बारे हुबहु शब्द चित्र प्रस्तुत गरेपछि भने मेरो मन गुट्खा र पानपराग तिर गएन । बेलुका मदिरायुक्त जल पान गर्दा चुरोट नामक अग्नि दण्डीका हामीले उडाउँदा अरुलाई ईट्टा भट्टाको सम्झना हुन्थ्यो । सुत्ने खाट मुनी र कोठाको अरु जताततै एक पटक फ्याँकिएका बिँडी, चुरोटका ठुटा फेरि सल्काएर कति उडाइयो कति ? तर भए चाहिने, नभए पनि हुने चिजको हिसाब नगर्ने हो भने मेरो मुख्य अम्मल भनेको मोलुवा सुर्ती नै थियो । यसको हद पार गरेको मलाई त्यतिखेर महसुस भयो जतिखेर सुर्ती मुखमा नच्यापी मलाई निन्द्र नलग्ने हुन थाल्यो । पिसाब गर्न राति उठ्दा पुरानो फ्याँकेर मुखमा नयाँ सुर्ती हालेपछि मात्र मलाई दोस्रो चरणको निन्द्रा पर्न थाल्यो । मुख्य खाना खाँदा बाहेक अरुबेला सधैं मेरो मुखमा सुर्तीको बास हुन्थ्यो । होली, शिवरात्रीको अवसरमा गाँजा, भाङ मेरो मुखमा परेको भए मलाई थाहा छैन । तर मोलुवा सुर्ती बाहेक अरु केहीको पनि म स्थायी अम्मली बनिन । आफन्तकहा जाँदा मेरो अगाडि कहिले काहीँ गतिलै नास्ता आउँदा पनि मुखको खैनी फ्याँक्नाको गाह्रोले भर्खरै खाएर आएको भनी नखाने बहाना गर्थेँ । मुखबाट झिकेर फ्याँकेका सुर्तीका पित्का खाटमुनी वा झ्यालका खापाबाट सफा गर्न मेरी जीवनसाथीलाई विहानभरी लाग्थ्यो । ओछ्यान पल्टाउँदा पत्रमा र लुगा धुँदा पाकेटमा माउसुलीका आची जस्ता सुर्तीका पित्का भेटेपछि मेरी जीवनसाथीको मुखबाट मधुरो सङ्गीत निस्किँदै मेरो कानबाट छिरेर मुटुमा पुग्थ्यो । एक पटक त कोठाबाट खैनीका पित्का भन्दा पहिला म आफैँ उनको हातको कुचोले बडारिएको थिएँ । कयौं पटक उठबस नगरे पनि कान चाहीँ समाउनु परेको थियो ।
“हजुरसँग अलिकति चुना होला ?” आफुले चिन्दै नचिनेका मानिससँग सुर्ती नै त के माग्नु भन्ठानेर एक पटक हेटौंडाबाट जनकपुर जाँदा बस भित्र एक जना सहयात्रीको हातमा बट्टा देखेर मैले सोधेको मात्र थिए । उनले एकापट्टि चुना र अर्को पट्टि सुर्तीले भरिएको त्यो बट्टा नै मेरो हातमा राखी दिए । सुर्ती बिनाको चुनाको मलाई काम थिएन । नाटकीय पाराले आफ्नो पाकेट छामछाम छुमछुम गर्दै उनलाई सुनाउने गरी मैले भने “थुक्क सुर्ती पनि पो झरेछ त । भीडमा के–के भयो के–के ?” वास्तवमा भीडसिड केही थिएन तर हतारमा बस चढ्दा मैले सुर्ती बोक्न बिर्सेछु । खान नपाएर साह्रै छटपटि भएकोले मैले कहानी गढेको मात्र थिए । तै ति सहयात्री भद्र मानिस परेछन् र भने “ए लिनुस् न । जावो सुर्ती न हो । केही फरक पर्दैन ।” यस्ता घटना कति घटे कति हिसाब गरी साद्धे छैन । हजार थरी वचन लगाएर एक मुख सुर्ती पनि नदिनेहरु कत्ति फेला पर्थे कत्ति । यसको तलतलले लाज सरम सबैलाई जितिसकेको थियो । धेरै चिज हल्लाएको, कन्याएको, सुम्सुम्याएको, हातले दिएको पर्सादीसम्म पनि खाइएन होला बरु तर यि सब गरेर हात नधोई दाताले मोलेर दिएको सुर्ती निशंकोच मुखभित्र हालियो । शरीरलाई जीर्ण त पा¥यो पा¥यो सुर्तीले स्वाभिमान र सामाजिक प्रतिष्ठालाई समेत धुलिसात पार्यो । सुर्ती मोल्न लागेको बेला चिन्दै नचिनेका आफुभन्दा धेरै कनिष्ठ मानिसले आदेशात्मक स्वरमा अलिकति मेरो लागि पनि थप्नुहोला भनेको सुन्दा कन्सीरी नतात्ने को होला र ?
कुनै पनि चिजको हद हुन्छ । त्यो पार गरेपछि फिर्ता आउन सजिलो छैन भन्छन् । मैले हद पार गरिसकेको थिएँ । त्यहाँ भन्दा पर जाने ठाउँ थिएन । मेरा हातका शङ्खचक्र खिएर दायाँ–बायाँ समेत नचल्ने जस्ता भइसकेका थिए । विहान उठ्नासाथ मेरा हातहरु खैनी मोल्न सगबगाउथे । त्यसदिन किन हो । आउने २४ घण्टासम्म सुर्तीजन्य पदार्थ मुखमा नहाल्ने अठोट गरेँ । नभन्दै २४ घण्टा बित्यो । त्यसपछि म भित्र अर्को २४ घण्टा थप्ने सोच आयो । यवम्रीतले एक साता बित्यो । मेरो मुखमा सुर्तीजन्य पदार्थ परेन । शरीरमा निकोटिनको स्तर घटेर हुनु पर्छ, मलाई असजिलो जस्तो भयो । एकाग्रता र निन्द्राको आभाव हुन थाल्यो । छटपटि जस्ता धेरै दक्षण देखिन थाले । यसलाई मैले स्वभाविक ठानेर आत्मसमर्पणको विचार त्यागी दिएँ । त्यस पछिका हरेकदिन आज खाने भए, हिजो अस्ति किन छाडेको भन्ने प्रश्न म आफैलाई सोध्न थालेँ । कोभिडिय लकडाउनको उर्दी भएको दिन २०७६ चैत्र ११ गते ठ्याक्क दुई वर्ष भएछ । म निकोटिनजन्य पदार्थबाट मुक्त भएको दिन अरुले हप्काएर पिटेर, फकाएर, सजाय दिएर कसैको पनि खराब लत नछुट्ने रहेछ । यसलाई छुटाउन व्यक्ति स्वयंमा दृढ चाहना र इच्छाशक्ति चाहिने रहेछ । सबैभन्दा मुख्य कुरो आफूले आफैँलाई वास्तविक अर्थमा माया गर्नु पर्ने रहेछ ।