नेपाली समुदायको प्रमुख पर्व दशैंको आज छैठौं दिन । गएको शनिबार घटस्थापनादेखि वडा दशैं सुरु भएको छ । घटस्थापनादेखि १५ दिनसम्म वडा दशैं पर्वका विविध कार्यहरु हुन्छन् । असत्यमाथि सत्यको जीतको प्रतिकको रुपमा वडा दशैं मनाइँदै आएको छ । वडा दशैं नेपाली समुदायको महत्वपूर्ण पर्व भएका कारण टाढा टाढा भएका आफन्तहरु मूल घरमा उपस्थित भई आपसमा सौहाद्र्धता प्रदर्शन गर्ने, परिवारका सदस्यबीच आत्मीयता प्रस्तुत गर्ने, हर्ष, उल्लास र खुसियाली मनाउने अवसरको रुपमा उपयोग गर्ने गरिन्छ । परिवारका ज्येष्ठ सदस्यबाट आशिर्वाद ग्रहण गरी आपसमा शुभेच्छा प्रकट गर्नु पनि दशैंको महत्वपूर्ण पक्ष हो । वडा दशैंलाई राज्य र समुदायले पनि प्राथमिकतामा राखेको छ । वडा दशैं मनाउनकै लागि भनेर सरकारी तथा गैरसरकारी तवरबाट सञ्चालित संघ, संस्थाले दशैं खर्च समेत दिने व्यवस्था गरेको छ ।

दशैंका उच्च महत्व भएकै कारण यसलाई वडा दशैं भनिएको हो । नेपाली समाजमा वडा दशैंको बहुआयामिक महत्व छ । दशैं कुनै निश्चित परिवार र समूह या समुदाय मात्रै नभएर सिंगो मुलुक र संसारभर छरिएर रहेका नेपालीका लागि प्रमुख उत्सव हो । दशैंमा व्यक्ति, परिवार, समुदायकै खुसियालीको समय हो । समुदायमा कुनै एक परिवारमा दुःखद् घटना भएको छ भने त्यो समुदायले नै दशैंमा उत्साह प्रस्तुत गर्न सक्दैनन् । समुदायका सबैले खुसियाली महसुस गर्न पाउनुपर्ने बुझाई समुदायका सदस्यहरुको रहेको हुन्छ । यस किसिमको बहुआयामिक पर्व वडा दशैं यस वर्ष उल्लासमय हुन सकेको छैन ।

गत वर्ष चीनबाट विस्तार भएको कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलँदै जाँदा संसारका विकसित मुलुकदेखि नेपाल पनि प्रभावित बनेको छ । कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका ४ जना मध्ये १ जनामा सङ्क्रमण पुष्टि भइरहेको छ । पछिल्लो सात महिनादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भनी सरकारले आव्हान गरेको लकडाउन, निषेधाज्ञा हुँदै अहिले खुल्ला भएको स्थितिमा सङ्क्रमण व्यापक बनेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेदेखि नै मुख्यतः आम नागरिकको दैनिकी सहज हुन सकेको छैन । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण दैनिक ज्यालादारी गर्नुपर्ने समूहदेखि हरेक क्षेत्रका व्यक्तिहरुपीडित भइरहेका छन् । कोरोना भाइरस सङ्क्रमण विस्तार हुनुअघिको जस्तो सहज दैनिकी नहुँदा आर्थिक क्रियाकलाप गम्भीर रुपमा प्रभावित बनेको छ । स्वास्थ्य सेवाको स्तर कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने र सङ्क्रमितलाई आवश्यक उपचार गर्न सक्ने अवस्थामा नहुनुले जोखिम र चुनौति उत्तिकै छ ।

यस्तो पृष्ठभूमिमा सरकारले सजिलै प्रमुख चाडपर्व नमनाउन भन्दै सहजै भनिरहेको छ । नेपाल जस्तो मौलिक कला, संस्कृति भएको समाजमा प्रमुख पर्व नै नमनाउ भनेर सरकारले कति सहजै भनेको भन्ने विषय आश्चर्यजनक छ । यद्यपि सरकारको घोषणा औपचारिकता जस्तो मात्रै छ भने नागरिकले पनि आफ्नो संस्कृतिको अनुकरणमा कसैको आव्हानलाई सहजै मान्ने स्थिति छैन । सरकार जिम्मेवारीबाट पन्छिँदै नागरिकलाई नै सचेत हुन आग्रह गरिरहँदा नागरिक पनि आफ्नै स्वास्थ्य र शरीरको विषयमा बेवास्ता गर्दै सरकारलाई दोषारोपण गरेर गैरजिम्मेवार हुन मिल्दैन । मुख्यतः यो कहरका बीच पर्व मनाउँदै गर्दा आवश्यक सतर्कताहरुप्रति नजरअन्दाज गर्न मिल्दैन । व्यक्तिबीच भौतिक दूरी कायम गर्ने, सरसफाई र स्यानिटाइजको कार्य सतर्कताका साथ गर्दै लामो दूरीको यात्रा नगर्ने, नजिकै पनि सतर्कताका साथ वडा दशैंको परम्परालाई कायमै राख्नेतर्फ जिम्मेवार हुनुपर्छ । यो कोरोनाको कहरकाबीच आम नेपालीको स्वास्थ्य र जीवनरक्षाका लागि सरोकारवाला सबैलाई जिम्मेवार हुन अपीलसहित २०७७ सालको वडा दशैंको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।