कुनै पनि नारी आफ्नो गर्भ तुहाउन चाहँदैन । गर्भधारण गर्ने क्षमता नै नारीको शक्ति र सम्पत्ति हो । जतिसुकै दुःख, कष्ट हुँदा पनि नारीले आफूलाई सृष्टिकर्ताको रुपमा चिनाउन आतुर रहन्छ । यद्यपि कतिपय अवस्थामा नारीले नचाहँदा नचाहँदै पनि गर्भ तुहाउनुपर्ने हुन सक्छ । बलात्कार पीडित भएकी नारीमा गर्भ रहन गयो भने त्यसलाई तुहाउन सरकारले अनुमति दिएको छ । हाडनाता सम्बन्धमा रहेकाहरुबीच यौनसम्बन्ध भई गर्भ रहन गएमा पनि गर्भ तुहाउन पाउने अधिकार नारीलाई छ । पछिल्लो समय नारी नचाहँदा सहजै गर्भ तुहाउन सक्ने अवस्था छ । यसका साथै गर्भमा रहेको भ्रुण र नारी स्वयम्लाई नै गम्भीर किसिमको समस्या रहने भयो भने त्यसलाई तुहाउन नारीलाई अधिकार दिइएको छ । नारीले प्राप्त यस्तो अधिकार स्थापित गर्न, गराउन स्वास्थ्यकर्मी, परिवारका सदस्य र सिंगो समुदायको सहयोगी भूमिका जरुरी छ ।
नारीलाई गर्भ तुहाउने अधिकार वर्षौंसम्म अधिकारकर्मीले गरेको आन्दोलनको उपज हो । जुन सुकै अधिकारको सदुपयोगको जरुरीका साथसाथै दुरुपयोगको जोखिम रहन्छ । अहिले नारीलाई प्राप्त गर्भ तुहाउने अधिकारको प्रसस्त दुरुपयोग भइरहेको छ । नारीको अधिकारको दुरुपयोग भइरहेको घटना कतिपय स्वास्थ्य सेवा प्रदायक संस्थाका लागि आर्थिक उपार्जनको अवसर समेत बनेको छ । अहिले विशेषगरी किशोरावस्थामा यौनसम्बन्ध कायम भई गर्भ रहँदा त्यस्तो गर्भलाई सहजै तुहाउने औषधि विधि र आवश्यकताअनुसार सामान्य शल्यक्रिया समेत गर्ने गरिएको छ । यस्तो काममा निजी क्षेत्रका स्वास्थ्य संस्थाले राम्रो आम्दानीको अवसर बनाएको छ ।
गर्भपतनको अधिकारलाई लामो समयको आग्रहपछि मात्रै सरकारले मान्यता दिएको हो । निक्कै दुःख र आन्दोलनपछि पाएको अधिकार नारीको हक हो र यो नारीकै हितमा हुनुपर्ने हो । नारीको हक स्थापित गर्ने र उनीहरुलाई हितको महसुस गराउन स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाले जिम्मेवारीपूर्ण भूमिका रहनुपर्ने थियो । तर, सरकारी सेवा प्रदायक संस्था विश्वसनीय हुन नसक्नु, निजी संस्थाका लागि व्यापारिक अवसरको रुपमा रहँदा अहिले गर्भपतनको अवसरलाई दुरुपयोग गरिँदैछ । २० वर्षभन्दा कम उमेरका महिला र पुरुषले बिवाह गरे दण्डनीय अपराध मानिने गरेको छ । नेपाली समाजमा अहिले पनि बिवाहअघि गर्भाधानलाई अनैतिक र असामाजिक मान्दै आएको छ । यस्तो पृष्ठभूमिका बावजुद पनि नेपाली समाजमा २० वर्षभन्दा कम उमेरका किशोरीहरु आमा हुने क्रम रोकिएको छैन । अझ आमा नै हुन सम्भव नभएकाहरु सयौंको सङ्ख्यामा गर्भपतन गराएर बसेका छन् । गर्भपतन सहजै हुने भएपछि पटक–पटक गर्भपतन गराउने क्रम पनि उत्तिकै छ ।
नारीको हक र अधिकारको रुपमा प्राप्त गर्भपतनको अधिकार अहिले दुरुपयोग भएर महिलाहरुलाई गलत चारित्रिक अवस्थामा पुर्याउने अवस्था भएको छ । गर्भपतनको अवस्था, यसबाट भएको लाभ, यसका चुनौति र भावी दिनमा यसलाई सवल पक्षको रुपमा स्थापित गर्न के गर्ने भन्ने योजनाका बारेमा छलफल हुन सकेको छैन । असुरक्षित र गैरकानूनी रुपमा भइरहेका गर्भपतनको अभ्यासबारे अनुगमन र कारवाही गर्ने निकाय मौन छ । स्थानीय सरकारदेखि जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकार, प्रदेशका निर्देशनालयदेखि सङ्घीय सरकारका निकाय र सरकार स्वयम् पनि गर्भपतनको अधिकारको दुरुपयोेगको बेवास्ता गरिरहेका छन् । नारीको हक र अधिकारको दुरुपयोग भइरहेको विषयलाई नारी समूहले अझ सचेतताका साथ निगरानी गर्नु जरुरी छ ।