रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वडाअध्यक्ष दीपक खड्का । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा टोलस्तरीय ९ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–१४ पञ्चबुद्व टोल विकास संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चुरियामाई टोल विकास संस्था र समृद्धि टोल विकास संस्था बीच १–१ गोलको बराबरीमा खेल सकिएको छ ।

आइतबार नै भएको दोश्रो खेलमा आयोजक पञ्चबुद्व टोल विकास सस्था ‘ए’ ले कालिदेवी टोल विकास संस्थालाई ३–० गोलअन्तरले पराजित गरेको छ । पञ्चबुद्व टोल विकास संस्थाका अध्यक्ष श्याम कुमार भ्लोनको अध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो ।

प्रतियोगितामा ६ वटा टोल विकास संस्थाका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ किलोको खसी र उपविजेताले दुइवटा लोकल भालेसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल कात्तिक १ गते घटस्थापनाको दिन हुने जनाइएको छ । खेल लिग कम नक आउटको आधारमा खेलाइएको छ ।