२०७२ सालको भूकम्पअघिसम्म धुर्मुस–सुन्तली हाँस्य टेलिचलचित्रका सामान्य पात्र मात्रै थिए । हरेक साता आम दर्शकका लागि एउटा मनोरञ्जनको पात्र थियो । दर्शकलाई हँसाएर आफ्नो व्यावसायिक कलाकारिताको जीवनमा हिँडिरहेका धुर्मुस–सुन्तलीलाई २०७२ सालको महाभूकम्प आम नागरिकका लागि जस्तै दुःखद् सन्दर्भ थियो । महाभूकम्पका बेला मकवानपुर जिल्लासहित काठमाडौं उपत्यका र आसपासका १४ जिल्ला अत्यन्त प्रभावित बन्यो । महाभूकम्पको क्षतिबाट प्रभावित सबै अझै पुस्र्थापिन हुन सकेको छैन । तर, त्यही महाभूकम्पको दुःखलाई धुर्मुस–सुन्तलीले आफ्नो जीवनकै महत्वपूर्ण सफलताको आधारको रुपमा स्थापित गर्न सफल भयो ।
धुर्मुस–सुन्तलीले फाउण्डेशन नै स्थापना गरेर भूकम्प पीडितलाई नयाँ घर बनाइदिने अभियान सुरु गरे । सिन्धुपाल्चोकमा एकीकृत बस्ती बनाएर चर्चा बटुलेका धुर्मुस–सुन्तलीले तराईमा पनि विपन्न समुदायका लागि एकीकृत बस्ती बनाइदिए । विभिन्न दाताको सहयोगमा रौतहटमा पनि एकीकृत बस्तीको निर्माण गरिदिएपछि एक्कासी धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरे । दुई स्थानमा एकीकृत वस्ती बनाएर चर्चामा आएका हाँस्यकलाकार दम्पत्तिले एक्कासी अर्बौ रुपैयाँ लागतको योजनाको घोषणा गर्नुलाई धेरैले महत्वाकांक्षाको रुपमा चित्रण गरेका थिए । देशका कुनै पनि स्थानमा खेल पूर्वाधार निर्माणको घोषणा गरेका हाँस्यकलाकारले एकपटक आम नेपालीलाई गम्भीर समेत बनाए ।
धुर्मुस–सुन्तली फाउण्डेसनको घोषणालाई लिएर सबैतिर आशंका र गलत घोषणा गरिएको भनी आलोचना भइरहेकै बेला चितवनले रङ्गशालाका लागि आवश्यक जमिन उपलब्ध गराउने घोषणा ग¥यो । चितवनमा क्रिकेट रङ्गशाला बनाउने विषयमा धुर्मुस–सुन्तली फाउण्डेशनले काम सुरुवात गर्दै गर्दा पनि जमिनको स्वामित्वको विवाद भयो । तर, त्यो विवादले चितवनवासीलाई यत्तिको महत्वाकांक्षी योजनाबाट पछि हट्न भन्दा पनि भोलिका दिनमा पनि यस्ता समस्या आइपर्न सक्ने र त्यसलाई सामना गर्न सक्षम हुनुपर्ने सकारात्मक सन्देश दियो । आजको मितिसम्ममा करोडौं रुपैयाँ बराबरको भौतिक निर्माण कार्य भइसकेको छ । रङ्गशाला निर्माणको कार्यमा महत्वपूर्ण प्रगति भइसकेको छ ।
रङ्गशाला निर्माणमा देशका तीनै तहका सरकार, निजीक्षेत्र, सामुदायिक संघ, संस्थाले देखाएको चासो र सहभागिता उत्तिकै रोचक छ । आम नागरिकको तह तथा सामुदायिक तहमा रहने सद्भाव र सहयोग स्वभाविक होला । तर, राज्यका तीनै तहका सरकारहरुले अनुदानको रुपमा आवश्यकताअनुसारको रकम उपलब्ध गराउने र आगामी दिनमा पनि आवश्यकताअनुसारको रकम उपलब्ध गराउने आश्वासन दिइरहेको छ । सोही क्रममा बुधबार आकस्मिक रुपमा बागमती प्रदेश सरकारले तीन करोड रुपैयाँ हस्तान्तरण गरेको खबर बागमती प्रदेश सरकारकै सचिवालयबाट आयो । महत्वपूर्ण खेल पूर्वाधारमा जुनसुकै क्षेत्रको सहयोगलाई नकारात्मक रुपमा बुझ्नु स्वभाविक नहोला । तर, राज्यका तीनै तहका सरकारले आफ्नो अगुवाईलाई सावित गर्नुपर्ने आवश्यकताको तुलना हाँस्य कलाकार जोडीको नाममा स्थापित प्रतिष्ठानमार्फत राज्यकोषको करोडौं रुपैयाँ खर्चनु पक्कै स्वभाविक हुन्न ।
आम नागरिकको तहमा राज्यका निकायहरु निकम्मा भो भनेर आलोचना भइरहँदा राज्यका निकायले हाँस्यकलाकारको नेतृत्वलाई नै स्वीकार्नुले यत्रो राज्य संरचनाको औचित्यमाथि नै प्रश्न चिन्ह समेत खडा भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशन मात्रै नभई मानवसेवा आश्रम, मामाघर नेपाल जस्ता समुदायस्तरमा स्थापित संस्थालाई स्यावासी स्वरुप सहयोग गरेर राज्य आफ्नोतर्फबाट पूरा गर्नुपर्ने जिम्मेवारीबाट सहजै पन्छिनु शोभनीय विषय होइन ।