आफूले सृष्टि गरेको मानवतिर दृष्टि दिँदै बोलाउँदा उ बोलेन । ब्रम्हालाई झल्याँस्स याद भयो जिब्रो नै राख्न बिर्सिएछ । पहिला संकलन गरेका सबै समान सकिएको र नजिकै एउटा साँढे आइपुगेकोले त्यसैलाई मारी साँढेको जिब्रो जडान गरेको भन्ने किम्बदन्ती रहेको पाइन्छ ।
शब्दकोशको सारअनुसार, जिब्रो ज्ञानेन्द्रिय मध्येको एउटा इन्द्रीय अर्थात मुखेओडारभित्र रहेको ध्वनि उच्चारणमा सबैभन्दा महत्वपूर्ण र सक्रिय अवयव । वजनका हिसाबले सानै भएपनि भोजनका हिसाबले भयंकर । खानमा आतुर र बोल्नमा चतुर असाध्यै टाठो र बाठो । स्वादका निम्ति मरिमेटुवा, जिबुल्ले तथा साह्रै लोभी लालची र आहरिसे पनि ।
आकारले हलोको फाली जस्तो भएपनि मानव जिब्रोको रंग प्रायः रातो हुन्छ । यदाकदा कालो जिब्रोको चर्चा पनि चल्ने गर्दछ, जस्ले सराप्यो भने लाग्छ भनेर । तर सोको कुनै वैज्ञानिक धार भने पाइँदैन । केवल एउटा जिब्रोले अर्को जिब्रोमाथि लगाएको आरोपसम्म होकि जस्तो लाग्दछ । जेहोस फेदी, बेसी, आदमारो, माझ र लिब्री यसका मुख्य भागहरू हुन् । सबै अवयवहरू आ–आफ्ना क्षेत्रमा उत्तिकै सक्रिय रहन्छन् तथापि लिब्री भने सर्पले झै सधैं लिपलिप र ल्यापल्याप मात्र गरिरहन्छ ।
पञ्च इन्द्रीय अर्थात् मानव अंग मध्येको मसँग पनि एउटा जिब्रो छ । उ प्रायः चुपचाप रहन सक्दैन । बोल्दा सधै लरबराई रहन्छ, बर्बराई रहन्छ । कहिल्यै थिरका कुरा गर्दैन । त्यसैले जिब्रोदेखि मलाई सधै पिर लागिरहन्छ ।
यसो विचार गर्छु जिब्रोमा हाड छैन । हाड मिसिएको भए अलि आड हुन्थ्यो भर हुन्थ्यो र बोल्ने कुरामा डर हुन्थ्यो । हाड नभएको हुँदा उसलाई आड हुँदैन । जब हाड नभएको जिब्रो बोल्न थाल्छ तब उ चिप्लिन्छ शब्दैपिच्छे । अनि कहिले कड्किन्छ, कहिले पड्किन्छ र कहिले अड्किन्छ । के बोलिरहेको छु स्वयम् उसलाई थाहा हुँदैन । जे बोलेपनि जिब्रो आफूले सधै सत्य बोलिरहेको ठान्दछ ।
‘देउता अनुसारको पुजा र मान्छे अनुसारको भुजा’ भने झैं जिब्रो पनि थरीथरीका हुन्छन् । धनी जिब्रो, गरिब जिब्रो, झोले जिब्रो, खोले जिब्रो, भाषणे जिब्रो, रासने जिब्रो, जाँगरिलो जिब्रो, अल्छी जिब्रो… । यस्ता जिब्राहरू प्रशस्त रहेका छन्, जो गिन्ती गरी साध्य छैन ।
भनिन्छ बोलिमा रस भए ताली पाइन्छ, निरस भए गाली खाइन्छ । बोलिलाई रसिलो र हँसिलो बनाउने काम यही जिब्रोले गर्दछ । हेर्नाेस त, आइसियोस्, खाइसियोस्, गइसियोस्, मुन्टिसियोस् भन्दा कति मिठास र रसिलो हुन्छ बोली । यसैलाई आ, खा, जा, मुन्टी भन्दा कस्तो निरस र ठाडो हुन्छ । त्यसै भएर, ‘जिब्रोको गरिमा मिठो बोलिमा’ भन्ने गरिन्छ । बोलिमा नौनी दलेर गाल्ने र सबैलाई पगाल्ने काम जिब्रोले गर्दछ ।
उखानको बखान गर्दै भन्ने गरिन्छ, ‘नचाहिँदो बोले जिब्रो थुतेर पातमा राखिदिउँला, जो लाउछ चुक्ली उहि जान्छ फुक्ली’ भनेर । तर अहिलेसम्म नचाहिँदो बोल्ने कसैको जिब्रो थुतेर पातमा राखिदिएको र चुक्ली लाउनेको जिब्रो फुक्लेर गएको थाहा छैन । झन् चुक्ली लाउने जिब्राहरूका दिन बल्दै र इमानदार जिब्राहरू गल्दै गएको देखिन्छ । एउटा जिब्रो भन्दै थियो, ‘यस्ता पुराना उखानहरूमा अब परिमार्जित गर्नु पर्दछ ।’
धेरै बोलेमा, कति जिब्रो चलाउँछस्, मुखमुखै लाग्छस् भनेर जिब्रोलाई नियन्त्रण गर्न खोज्यो तर उ किन चुप लाग्थ्यो ? ताउलोमा जाउलो फत्के झैं एकोहोरो फत्की रहन्छ । अरूका कुरा सुन्न जिब्रो पटक्कै रूचाउँदैन । उ त आफू मात्र जान्ने सुन्ने, अरूका जिब्रा केवल खानामात्र निल्ने भन्दै आफ्नो मपाइँत्व देखाई हाल्छ ।
जिब्रोको प्रवृत्ति देख्दा उदेक लाग्छ । अघिपछि अत्यन्त इमानदार देखाउँदै जिम्मेवारी बाँडफाँडका कुरा गर्छ । तर खाने माम्लोमा भने आफैंमात्र अघि सर्छ । उसको खाने तरिका पनि बडो गजबको छ । ‘मजदुरको कमाई मालिकले खाइदिएजस्तै’ मेहनत गरेर दाँतले चपाउँछ तर स्वादमा लठ्ठिएर आँत हरहराउँदै जिब्रो रमाउँछ । आफू केही नगर्ने अरूले चपाई दिएपछि निल्ने भएर होला त्यतो जिब्रोको उपमा दिँदै भन्ने गरिन्छ, ‘अल्छी तिघ्रो स्वादे जिब्रो ।’
‘तोलाको जिब्रो फट्कार्नु भन्दा धार्नीको मुन्टो हल्लाउनु बेस’ भनेझैं बोल्दा आवश्यकता अनुसार जिब्रो चलोस्, मिठो मधुर बोलोस्, असत्य कटुवचन नबोलोस्, अरूको चित्त दुखाउने काम नगरोस्, आफूले पूरा गर्न सक्ने कुरा मात्र बोल्ने गरोस भन्ठान्यो तर जिब्रो बोल्दा कुनै विचारै गर्दैन । उसलाई त एकोहोरो बोल्न पाए हुन्छ, थोत्रो रेडियो झैं खोल्न पाए हुन्छ । उसँग कुनै खाका हुँदैन, केवल भाखामात्र हुन्छ । भाखा मिलाई मिलाई कुरालाई पाखा लगाउँछ तर माखा पनि मार्दैन ।
जिब्रो कहिले एकताको कुरा गर्छ, कहिले राष्ट्रियताको ढोल भर्छ । कहिले दलित, जनजाति, आदिवासी, मधेशी, समावेशी र वर्गीयताको वकालत गर्छ । तर ठाउँ मात्र पाउनु पर्छ आफन्त र आउरे, बाउरे, धुपौरेलाई भर्ना गर्छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं बुझिनसक्नु छ जिब्रोको चर्तीकला ।
जिब्रो स्थान हेरीहेरी कुरा फेरीफेरी गर्छ । कहिले उत्तेजित भएर कुरा गर्छ, कहिले भावुक भएर आँसु झार्छ । हाड नभएको जिब्रो अत्यन्त कलात्मक कुरो गर्छ । भैली खेलेझैं शैली मिलाई मिलाई गर्छ । भन्छ सोचेको कुरा पु¥याएरै छोड्छु भनेको कुरा गरेरै छोड्छु । बोल्नुसम्म न हो, कसले रोक्छ जिब्रोलाई ?