हेटौँडा : सत्यम जेभियर्स मावि हेटौँडा उपमहाानगरपालिकास्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको हीरक ज्यन्तीको अवसरमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा सत्यम् प्रवेश गरेको श्रमिक माविका शिक्षक राजेश अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार भएको क्वार्टरफाइनल खेलमा सत्यम् जेभियर्सले वंशगोपाल माध्यमिक विद्यालयलाई ५–४ गोलले पराजित गरेको थियो । यसअघि सत्यम् जेभियर्सलृ आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । बिहीबार पहिलो खेलमा सत्यम् जेभियर्सले हेटौँडा एकेडेमीलाई ४–३ गोलले पराजित गरेको थियो ।
शुक्रबार भएको खेलमा भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले आयोजक श्रमिक माध्यमिक विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । वंशगोपाल माध्यमिक विद्यालयले चन्द्रोदय माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दा रस्सल एकेडेमीले सनराइज इङ्लिस बोर्डिङ स्कूललाई ८–७ गोलअन्तरले पराजित गरेको थियो ।
यसैगरी उज्ज्वल शिशु निकेतनले बालबोध माविलाई १–० गोलअन्तरले, नवोदय शिशु सदनले अमर माध्यमिक विद्यालयलाई २–१ गोलअन्तरले र प्रगति माध्यमिक विद्यालयले तुलसी मेहर मेमोरियल माविलाई ५–४ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा २३ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ हजार र उपविजेता टोलीले ३ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनल खेल्ने अन्य दुई टोलीले सामान २/२ हजार नगद प्राप्त गर्ने छन् । विद्यालयले बुधबारदेखि सोमबारसम्म विविध कार्यक्रम आयोजना गरी ६० औँ वार्षिकोत्सव (हीरक जयन्ती) मनाउँदै छ ।











