संसारमा ज्ञान प्राप्त गर्ने वा सिक्ने माध्यम जम्मा तीनवटा मात्र छन् । गुरुसेवा वा धनसम्पति आदिको उपहार वा विद्याविनिमय भन्दा फरक माध्यमले ज्ञान आर्जन गर्ने कुरा असम्भव नै हुन्छ । यिनका पनि आ–आफ्नै शक्ति र सीमाहरू छन् । गुरुसेवाबाट प्राप्त हुने विद्या गुरुकृपामा भर पर्छ । आफ्नो सेवा सुश्रुषा र लगनशीलतामा कमी देखिने शिष्यमाथि गुरुकृपा पूर्णरूपमा नहुने र भएकोमा पनि कोपभाजनको सिकार बन्नुपरेका दृष्टान्तहरू प्रशस्तै भेटिन्छन् । तैपनि उपहार आदिको प्रयोगमा हुने घटिबढीको कारण आउने समस्या तथा विद्याविनिमयमा सम्भावित कपटपूर्ण व्यवहारका कारण पहिलो माध्यम नै संसारमा उत्तम ठहरिएको छ । गुरुकृपाप्राप्त इमान्दार शिक्षार्थीले नै संसार जितेको दृष्टान्त घामजत्तिकै छर्लङ्ग छ ।

संसारमा भएको औद्योगिक क्रान्ति र प्रविधिको विकासका कारण प्रत्यक्षका साथै परोक्ष वा सानिध्यका साथै दूरदराजमा रहेर पनि सिकाइ अघि बढाउने क्रम केही अघिदेखि नै नचलेको होइन । तर वर्तमान परिस्थिति विशेषतः कोभिड–१९ को प्रभाव वृद्धिसँगै यसले फड्को मारेको छ । हाल विश्वपरिवेशमै देखिएको अनलाइन सिकाइ माथि बताइएकै कुनै न कुनै माध्यमभित्रै पर्छ । तरपनि यसको महत्व दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । यस लेखमा यिनै कुराको विश्लेषण गर्ने जमर्को गरिएको छ ।

सिकाइ र शिक्षण
भनिन्छ, सिकाइ जन्मदेखि मृत्युपर्यन्त अनवरत चलिरहने प्रक्रिया हो यद्यपि सिकाइको स्तर, लक्ष्य र प्रक्रिया समयक्रमसँगै फरक हुन सक्छ । संस्कृत भाषाको शिक्ष् धातुमा अ (घञ्) प्रत्यय लागेर निर्माण भएको शिक्षा शब्दले सिकाउनु भन्ने अर्थ बुझाउँछ । शिक्षालाई विद्वानहरूले सङ्कुचित, साधारण र व्यापक गरी आ–आफ्नै शैलीमा परिभाषा गरेको पाइन्छ । कुनै निश्चित समयमा विद्यालयको चौघेराभित्र शिक्षकसँग औपचािरकरूपमा लिइने शिक्षालाई सङ्कुचित र जीवनपर्यन्त ग्रहण गरिने औपचारिक वा अनौपचारिक शिक्षालाई व्यापक अर्थको रूपमा लिइन्छ । व्यक्तिले जन्मदेखि मृत्युपर्यन्त जति पनि अनुभवहरू बटुल्दै, सिक्दै र भोग्दै जान्छ ती सबै शिक्षाका बृहत् रूप हुन् । अतः कुनै पनि व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, भौतिक, सांस्कृतिक, नैतिक, राजनैतिक, आर्थिकजस्ता सम्पूर्ण पक्षको सर्वाङ्गीण विकास गर्नु नै शिक्षा हो । नेल्सन मण्डेलाको ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई चलाई तिमी संसार बदल्न सक्छौ’ भन्ने उक्तिबाट पनि जीवनमा शिक्षाको गरिमा र महत्तालाई पुष्टि गर्छ ।

सिकाइ वातावरणको उपज पनि । हाम्रो वरिपरि रहेको वातावरण जस्तो प्रकृतिको हुन्छ त्यस्तै कुराहरू भोग्दै सिक्दै गइने हुनाले अनुभवद्वारा व्यक्तिको व्यवहारमा आउने परिवर्तन नै जीवनको प्रभावकारी सिकाइ हो । कुनै पनि व्यक्ति जन्मजातरूपमै सक्षम हुँदैन बरु ऊ प्राप्त वातावरणबाट निर्दिष्ट हुन्छ । त्यसैले क्रो एण्ड क्रोले सिकाइलाई आदत, ज्ञान र अभिवृत्तिहरूको प्राप्तिको रूपमा अथ्र्याएका छन् । सिकाइलाई शारीरिक, मानसिक तथा शैक्षिक पक्षले प्रभाव पार्ने हुनाले व्यक्तिमा भएको प्रतिभा पनि उचित वातावरणमा मात्र प्रस्फुटित, पल्लवित र पुष्पित हुने गर्दछ । त्यसैले शैक्षिक संस्थामा शैक्षणिक क्रियाकलाप प्रभावकारी बनाउन शिक्षणका उद्देश्यहरू स्पष्ट गरिनुपर्छ । साथै सिकारुको व्यवहारमा आउने परिवर्तनलाई मध्यनजर गर्दै त्यसै अनुरूपको व्यवस्थापन मिलाई उचित सामग्री तथा प्रविधिहरूको उच्चतम प्रयोग गर्नुपर्ने हुन्छ ।

अझ भन्ने हो भने सिकाइको प्रकृति हेरी उसको रुचि, आवश्यकता, क्षमता आदिलाई ध्यानमा राख्दै सोही अनुरूपको शिक्षणविधि अपनाएर शैक्षणिक क्रियाकलापलाई अगाडि बढाउँदा शिक्षण र सिकाइ प्रभावकारी भई पाठ्यक्रमले अपेक्षा गरेका उद्देश्य सहज ढंगले पूरा हुन्छ । सिकारुको व्यवहारमा परिवर्तन ल्याउने चुनौतीपूर्ण कार्यलाई सरल र सहज तरिकाबाट सफल बनाउनका लागि एक शिक्षकले उपयुक्त कार्यविधि, अपेक्षित उद्देश्य अनुरूप विषयवस्तुको छनोट, शिक्षणविधि, शैक्षणिक सामग्री, निरन्तर मूल्याङ्कन र पृष्ठपोषणजस्ता पक्षहरूमा ध्यान दिनुपर्ने हुन्छ ।

हिजोको ढुङ्गे युगदेखि आजको विज्ञान र प्रविधिको युगसम्म आइपुग्दा शिक्षण र सिकाइ प्रक्रियामा आमूल परिवर्तन आएको देखिन्छ । विगतका दिनहरूमा गरिने सामान्य अध्ययन–अध्यापनले आजको विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्षम देखिँदैन । त्यसैले समय र परिस्थितिअनुकूलको शिक्षा र शिक्षणविधिमा जोड दिनु आवश्यक हुन्छ ।

गुरुकुल शिक्षणपद्धति र सिकाइ
शैक्षणिक इतिहासको मुख्य कडी तथा आधुनिक शिक्षाको जगको रूपमा परिचित गुरुकुल शिक्षा नै प्राचीन शिक्षण पद्धति हो । पूर्वीय ज्ञान र सीपको बढोत्तरीमा विशिष्ट योगदान पुर्‍याएको मूलतः गुरुकेन्द्री गुरुकुल शिक्षा खोली धाउने नभई तिर्खा धाउने प्रकृतिको भएकोले यसको उपादेयता अतुलनीय छ । गुरुको आश्रमको मूल्य र मान्यतालाई अनुसरण गरी परिवारको सदस्यजस्तै बनेर सिक्ने क्रममा गुरुकुल शिक्षापद्धति विकास भएको देखिन्छ । शैक्षणिक इतिहासका चर्चित चरित्रहरूलाई विचार गर्ने हो भने उनिहरूले गुरुकुल शिक्षा लिएको वा त्यसको मूल्य मान्यतालाई आत्मसात् गरेको पाइन्छ । कठोर अनुशासन, लगनशीलता, उत्प्रेरणा र व्यवहारोपयोगी शिक्षा नै गुरुकुल पद्धतिका परिचायक हुन् ।

आधुनिक समाजका सफल व्यक्तिले पनि कुनै न कुनै रूपबाट यी मूल्य, मान्यतालाई अपनाएका हुन्छन् । निरन्तर मूल्याङ्कन र पृष्ठपोषण यस पद्धतिको विशिष्ट पक्ष हो । ‘हजार दिनको कठोर अध्ययन भन्दा महान् शिक्षकसँगको एक दिन बढी उपलब्धिपूर्ण हुन्छ’ भन्ने जापानी उक्ति यस पद्धतिमा निरन्तर अनुभव गर्न सकिन्छ । गुरुजनसँगको सामीप्यले व्यक्तिको कमजोरीहरूलाई समयमा नै सुधार गर्न यथेष्ट मौका मिल्छ । यसका साथै गुरू–शिष्यको सहअस्तित्वले ‘सहना ववतु…’ भन्ने वैदिक सूक्तिलाई पूर्णता दिँदै सहपाठीमा समेत भाइचाराको अभिवृद्धि गराएको पाइन्छ । फलस्वरूप विभिन्न क्षेत्रबाट एकीकृत हुन पुगेका शिक्षार्थीहरू स्वयम् एकै परिवारका आत्मीय सदस्यजस्ता बन्न पुग्छन् ।

आधुनिक शिक्षण पद्धति र सिकाइ
आदिमकालमा गुरुकुल शिक्षाको रूपमा सुरु भएको शिक्षण पद्धति समयक्रमसँगै आधुनिक शिक्षण विधि हुँदै ‘अनलाइन’ शिक्षणसम्म आइपुगेको छ । हिजो विशेषतः चरित्र निर्माणका निम्ति लिइने शिक्षा आज जीविका चलाउनेमाध्यम पनि बनेको छ । प्राचीन शिक्षा प्रणालीले हामी सम्पूर्णलाई प्रकृतिसँग निकट राख्दै एक अर्कामा घुलमिल गराई संस्कार र संस्कृतिको माध्यमद्वारा हाम्रो परिवेश, परिस्थिति, संस्कार, रीतिरिवाजसहित सिङ्गो समाजलाई नै राम्रोसँग बुझी सहयोगी र अनुशासित बन्न सिकाउँथ्यो । समयक्रमसँगै त्यसको मर्म पनि परिवर्तन भएको देखिन्छ । परिवर्तित सन्दर्भ र आधुनिक शिक्षा प्रणाली वा विज्ञान र प्रविधिको नाममा आजको समाज आफ्नो संस्कार, चालचलन, मूल्य, मान्यतालाई किनारा लगाई महत्वाकांक्षा बढाउनेतर्फ लागेको देखिन्छ । फलस्वरूप आजका शिक्षार्थीहरूमा नीति, अनुशासन, मूल्यमान्यताजस्ता शैक्षिक संस्कारहरूमा क्रमशः ह्रास आएको देखिन्छ ।

आधुनिक समयमा मनग्ये धनसम्पती कमाउने र ऐश, आरामको जीन्दगी जिउने महत्वाकांक्षाले गर्दा चरित्र निर्माणको गरिमा नै अर्थहीन बन्न पुगेको छ । चरित्र निर्माण त्यति सहज कार्य होइन जसको लागि धैर्य, साहस र लगनशीलताको जरुरत पर्दछ । तर वर्तमान शिक्षा प्रणालीले आजका विद्यार्थीहरूलाई कक्षाकोठामा गएर केही समयको अध्ययन र एकदम छोटो समयको मूल्याङ्कनमा शिक्षार्थीको स्तर निर्धारण गर्ने हुँदा यसका सीमाहरू छन् । प्राचीन शिक्षण पद्धतिमा गुरु र शिष्यबीचको निकटर सुमधुर सम्बन्धले गुरु बाबु–आमा समान र शिष्य छोराछोरीसरह हुँदै आदर, सम्मान र आत्मीयता देखिन्थ्यो तर आज आएर गुरु र शिष्यबीचको त्यो आदर, सम्मान र आत्मीयतामा धेरै ह्रास आएको पाइन्छ । फलस्वरूप शिक्षण र सिकाइ दुबै आवधिक र कर्तव्यबोधमा मात्र सीमित भइरहेको छ ।

गुरुकुल शिक्षापद्धति उहिले निकै उपयोगी भएपनि बदलिँदो समय र परिवेशसँगै शिक्षापद्धति र शिक्षण विधिमा पनि आधुनिकीकरण हुँदै विद्यालयलाई शैक्षिक केन्द्र बनाइयो । विद्यालयमा गई औपचारिक ढङ्गले निश्चित समयभित्र शिक्षा लिनेदिने परिपाटीले मात्र नपुगेर पछिल्लो समयमा दूरशिक्षा तथा अनलाइन शिक्षण पद्धतिको समेत प्रयोग बढ्दोक्रममा रहेको छ । यद्यपि हाम्रो देशको प्राविधिक विकासको स्थिति, आर्थिक स्थिति, चेतनाजस्ता कुराहरूले गर्दा अनलाइन शिक्षण विधि व्यावहारिक हुने–नहुनेको बहस नचलेको भने होइन ।

असल शिक्षकले सिकारुको उमेर, रुची, क्षमता, चाहना, पूर्वयोग्यता, आवश्यकता, मानसिकताको आधारमा शिक्षा दिनुपर्दछ जसले गर्दा दक्ष जनशक्ति उत्पादन गरी समाजमा रहेका सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, वैज्ञानिक, प्राविधिक, शैक्षिक लगायतका ज्ञान, सीप र धारणामा समेत परिवर्तन ल्याउँछ । कतिपय शिक्षकहरू समयको गतिसँगै पुनर्ताजगी नभई पुरानै ढर्राबाटै शिक्षण कार्य अगाडि बढाएको पाइन्छ जसले गर्दा आजको प्रतिस्पर्धाको युगमा हाम्रो शिक्षाले अझै छलाङ्ग पार्न सकेको छैन । हाम्रो देशका अधिकांश विद्यालयहरूमा अझै पनि शिक्षककेन्द्री प्रणाली कायम छ । पठनपाठन प्रवचन विधिमा मात्र सीमित रहेको पाइन्छ । शिक्षक एकोहोरो बोलेको बोल्यै, विद्यार्थी निष्क्रिय भई सुन्ने मात्र हुँदा विद्यार्थीकेन्द्रित हुनुपर्ने शिक्षण विधि शिक्षककेन्द्रीत बन्न पुग्छ । वर्षभरिको पढाइलाई विद्यार्थीले के कति शिक्षा हासिल गरे, उनीहरूको ज्ञान, सीप र धारणाको उपलब्धिको मूल्याङ्कन वर्षको अन्तिममा केही घण्टाको परीक्षाले तय गर्ने हुनाले सम्पूर्ण शैक्षणिक क्रियाकलाप नै परीक्षामुखी हुने गरेको पाइन्छ । अझ महत्त्वपूर्ण पक्ष त के छ भने वैयक्तिक भिन्नता र उसलाई सरल हुने अभिव्यक्तिको माध्यम समेत ध्यान नदिई सबैलाई लेख्य विधि अपनाउन बाध्य पारिन्छ यद्यपि आजको विज्ञान र प्रविधिको युगमा यसका अनेक विश्वसनीय विकल्प हुन सक्छन् ।

हालको कोभिड–१९ को विषम परिस्थितिमा अनलाइन शिक्षण एक उपयुक्त विकल्प बनेको छ । सम्पूर्ण विद्यालय क्षेत्र बन्द भएको सन्दर्भमा विद्यार्थीहरूलाई खाली समयको सदुपयोग गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यमको सहायताले घरमै बसी–बसी सुरक्षित तवरले शिक्षकहरूबाट अनलाइन कक्षाको अभ्यास हुँदै आएको छ जसले गर्दा समयको सदुपयोग एवम् प्रविधिसँगको सामीप्यता बढेको छ ।

अनलाइन कक्षाको सकारात्मक पक्षसँगै यसका केही नकारात्मक पक्ष पनि रहेको देखिन्छ । विशेषगरी प्रविधिमा पहुँच र दक्षता नहुँदासम्पूर्ण विद्यार्थीहरू यसबाट लाभान्वित हुनसकेका छैनन् । गरिब समाजका बालबालिकासँग अनलाइन सिकाइको लागि आवश्यक ल्यापटप, स्मार्टफोनजस्ता सामग्रीको अभाव र अझ भौगोलिक विकटताका कारण सबै क्षेत्रमा नेटवर्कको विस्तार नभएका कारण पनि सबैलाई अनलाइन शिक्षण सम्भव भइरहेको छैन । भएपनि शिक्षक र विद्यार्थीबीच भौतिक निकटता नहुने कारण शिक्षकको प्रत्यक्ष निगरानी नहुँदा उनीहरूमा पृष्ठपोषणको कमी र कतिपय सन्दर्भमा अनुशासनहीनता समेत बढेको देखिन्छ र सुनिन्छ पनि ।

अन्त्यमा,
वस्तुतः शिक्षण र सिकाइ विशुद्ध ज्ञानको सञ्चार गराई व्यक्तिमा भएको बौद्धिक ऊर्जाको माध्यमबाट विविध सीपहरूको उजागर गर्ने पक्षसँग सम्बद्ध छन् । यद्यपि सीपहरूको उजागर गराउनुमा मात्र शिक्षण र सिकाइको उद्देश्य रहँदैन । व्यक्तिको सोही सीपहरूमा रहेको दख्खल र अनुशासित जीवनचरित्र यसका पक्षपोषक हुन् । त्यसकारण प्राचीन गुरुकुल पद्धतिको आचरण, अनुशासन, निरन्तर मूल्याङ्कन र पृष्ठपोषणजस्ता अत्यन्त महत्वपूर्ण पक्षहरूलाई अङ्गीकार गर्दै आधुनिक प्रविधिलाई एकीकृत गरी गरिने शिक्षण र सिकाइ नै राष्ट्रको सर्वाङ्गीण विकासको लागि फलप्रद हुनेछ ।