अर्जुन पराजुलीको जन्म वि.सं. २०२० साल साउन ५ गते काभ्रेपलाञ्चोकको ज्याम्दीमा भएको हो । उहाँ ‘जनआन्दोलनका कवि’ भनेर परिचित हुनुहुन्छ । २०६२/६३ को जनआन्दोलनमा उहाँका कविता सडकका नारा बने । जनताका आवाज बने । उहाँका ‘राजाहरू बिक्रीमा छन्’, ‘पेसा राम्रो प्रतिगमन’, ‘जंगबहादुरसित पुनर्मिलन’, ‘सत्र साल भाग दुई’ आदि कविता जनआन्दोलनका समय निकै चर्चित भए ।
जनआन्दोलनका बेलामा उहाँका कविताले शाही शासनप्रति शब्दवाण वर्षा गर्थे । त्यसक्रममा उहाँ गिरफ्तारीमा पनि पर्नुभयो । उहाँको कवितामा तिख्खर व्यङ्ग्य हुन्छ । देशमा उहाँहरूको आशाबमोजिम गणतन्त्र त स्थापना भयो तर अद्यापि समय उस्तै छ । यही अनुभवमा आज पनि दुर्नियतिहरू प्रति उहाँको व्यङ्ग्य कायम छ । उहाँको ‘आन्द्रालोक’ नामको हाँस्यव्यङ्ग्य कविता सङ्ग्रह प्रकाशित छ । लामो दारी उहाँको अर्को एउटा परिचय हो ।
उहाँले ‘अनि मैले दाह्री पालेँ’ कवितामा लेख्नुहुन्छ,
म किसान हुँ, पाल्ने मेरो पेसा हो
राँगो पालेँ, मिस्टर ह्याण्डसम प्रतियोगितामा भाग लिन गयो
भैंसी पालेँ, सुन्दरी प्रतियोगितामा भाग लिन गयो
कर्मचारी पालेँ, भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
नेता पालेँ, आफूलाई राजा बनाउँदै ल्यायो
सरकार पालेँ, गर्नुपर्ने काम एउटै गरेन, नगर्नुपर्ने काम सबै ग¥यो
सुरक्षाकर्मी पालेँ, सुरक्षा नदिउञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा दिनेबित्तिकै मर्यो
पाल्ने जन्तु कुनै नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ ।
शासन सत्ता बदल्छु भनेर गएकाहरू सम्पूर्ण बदलिएर गए तर व्यवस्था बदलिएन । समय सधैं अप्ठेरो नै गुज्रियो । हाल पनि देशमा कोरोनाको महामारी छ र मानिसमा ठूलो त्रास सिर्जित छ । जनता महामारीबाट भन्दा पनि सरकारको लापरवाही र कर्तव्यविमुढताबाट तर्सिएका छन् । रोगको भन्दा भोकको समस्या ठूलो भइसकेको छ । पीडित छन् जनता । तर सरकारका तर्फबाट कुनै राहत छैन । दिनदिनैका भ्रष्टाचारका समाचार, जनतामाथिका बेवास्ताका समाचारले भोका जनतालाई अझै हतास बनाएको छ ।
यस्तै बेथितिमा कवि पराजुलीले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्नुभएका केही व्यंग्य कविताका टुक्राहरू
१) हामीलाई
जसरी हुन्छ मन जित्नु पर्दैन
जसरी हुन्छ चुनाव जित्नुपर्छ
२) मेरो बस्तीमा
बाढी लागेन
पहिरो लागेन
आगो लागेन
कोरोना लागेन
तर के गर्नु हजुर
सरकार लाग्यो
३) निकाल
डाक्टरलाई निकाल
नर्सहरुलाई निकाल
घरबाट निकाल
अस्पतालबाट निकाल
देशैबाट निकाल
उनीहरुलाई ननिकाल्ने हो भने
तिमीहरुको ज्यान जोगिने खतरा छ ।।
४) नेपालको नक्साको साँचो
संविधान संशोधनको हातमा
संविधान संशोधनको साँचो
राष्ट्रिय सहमतिको हातमा,
राष्ट्रिय सहमतिको हात
छिमेकीको दराजमा
५) नाकाबन्दीमा भएको जीतको
कोरोनामा धरौटी जफत भयो ।
६) मल छ भनौं
जनताको खेतमा मल छैन ।
मल छैन भनौं
सरकारको दिमागमा
मलबाहेक केही छैन ।।
यस्ता श्याम व्यङ्ग्ययुक्त कविताका रचनाकार पराजुली स्थायी प्रतिपक्षी लाग्छन् । यो देशमा प्रतिपक्ष, प्रतिपक्ष जस्तो छैन तर कवि कलाकारले त्यो भूमिका निर्वाह गरेका छन् भन्ने उदाहरण पनि हुन्, उहाँका कविता । जनताको व्यवस्था अझै नआएको र आन्दोलन अद्यापि जारी रहेको उहाँ अनुभव गर्नुहुन्छ । प्यारालाइज्डजस्तो देखिएको राज्यका अङ्गहरू काम गर्ने रुपमा सुचारु भएभने, समय सुगतिको मार्गमा अघि बढ्यो भने कवि अर्जुन पराजुलीका लेखन फिक्का बन्नेछन् । त्यस्तो समयको कामना त गर्न सक्छौं तर खुट्टी हेर्दै चाल पाइन्छ भनेजस्तै साङ्केतिक स्वरुपले दिशा त्यता तय भएको छैन भन्ने स्पष्ट बताउँछ ।