हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका २९ वटा सामुदायिक माविका प्रधानाध्यापक (प्रअ) हरुसँग छलफल गरेको छ । उपमहानगरपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन, तथ्याङ्क अद्यावधिक गर्ने सम्बन्धमा र लेखापरीक्षण प्रतिवेदन पेश गर्ने सम्बन्धमा प्रअहरुसँग छलफल गरेको हो ।

बुधबार भएको छलफलमा हालको विद्यामान अवस्थामा विद्यालयले कस्ता किसिमको वैकल्पिक शिक्षण विधिहरु अपनाइरहेछन् र उक्त विधिहरुमा के कस्ता सुधार गर्नुपर्ने छ सोको बारेमा सम्पूर्ण प्रअहरुको सुझाव संकलन गरिएको छ । सम्पूर्ण विद्यार्थीको वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको पनि प्रअहरुले बताएका छन् । यस्तै सम्पूर्ण सामुदायिक विद्यालयहरुको २०७७ सालको तथ्याङ्क असोज १५ भित्र अद्यावधिक गर्ने निर्णय गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन यथाशिघ्र शिक्षा शाखामा बुझाउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी छलफलकै क्रममा विद्यालयलाई अगाडि बढाउने र नमूना विद्यालय बनाउने जिम्मेवारी प्रअकै भएकाले प्रअहरु यथाशिघ्र लागी पर्नुपर्ने र पछि नहट्न हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेले बताउनुभयो । विद्यालयमा प्रअहरुले पढाउनुपर्ने भएकाले नै विद्यालय व्यवस्थापन गर्न कठिनाई परेर केहि समस्याहरु भए उपमहानगरपालिकामा त्यसबारे जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । समस्याको समाधान गर्न उपमहानगरपालिका सदैव तयार रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुुभएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीको अध्यक्षतामा भएको अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेको विशेष आतिथ्य रहेको थियो ।