हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले सोमबार अनाथ अपाङ्ग बाल पूनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–१४, मयूरधापस्थित केन्द्रमा समितिकी सभापति निलम बैद्यको सभाध्यक्ष तथा संघका अध्यक्ष कृष्ण कटुवालको प्रमूख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रका सञ्चालक रामहरी कोइरालाले बन्दाबन्दीको समयमा केन्द्रलाई समस्या हुने होकि भन्ने डर रहेको भएपनि विभिन्न दाताहरुको सहयोगले टरेको बताउनुभयो । उहाँले केन्द्रमा यसअघि १७ जना बालबालिका रहेकोमा हाल १० जना बौद्धिक अपाङ्गता भएका बालबालिकासहित १२ जना आश्रित रहेको जानकारी गराउनुभयो । कोइरालाले २ जना बालकहरु सन्तोष माझी र शिखर माझीको पढाईलाई निरन्तरता दिन सहयोगको अपेक्षा गर्नुभएको छ ।
महिला उद्यमी विकास समितिले आलु १ बोरा, गेडागुडी १० किलो, दाल १० किलो, तेल १ कार्टुन, नुहाउने साबुन २ दर्जन, लुगाधुने साबुन एक कार्टुन, सर्फ १० किलो चना ५ किलो, चिउरा ५ किलो, केश तेल एक दर्जन, टुथपेस्ट एक दर्जन, काइयो २ दर्जन, टुथ ब्रस २ दर्जन, सोयाबिन ५ किलो, नुन ५ पाकेट, चिनी ५ किलो, चाउचाउ १ कार्टुन, मासु ७ किलो, दुध ५ लिटर र औषधीहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।