भर्चुअल माध्यमबाट आयोजना गरिएको अन्तरक्रियामा सहभागी सभामुख सानुकुमार श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सोमबार बागमती प्रदेशमा कोभिड–१९ र बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले पारेको असर र न्यूनीकरणका लागि भएका प्रयासका विषयमा भर्चुअल अन्तरक्रिया भएको छ । नेपालमा कोरोनाले निम्त्याएको विषम् परिस्थितिका कारण संसद बैठक बस्न नसकेको अवस्थामा कोरोना प्रकोप तथा प्राकृतिक विपत्तिमा बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन तथा प्रकोप न्यूनीकरणमा गरेको कामका विषयमा छलफल भएको थियो ।

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा व्यापक काम गरिरहेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारले प्रदेशका विभिन्न ८ वटा जिल्लाहरुमा प्रदेश अस्पताल निर्माण गरी कोरोना नियन्त्रणमा लागी परेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । साथै प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारसँगको समन्वयमा आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापन गरिरहेको र पिसिआर परीक्षणको दायरा पनि बढाइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख विपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँले सरकारले कोरोनाको महामारीले प्रभावित विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई चाडपर्वको समयमा स्थानीय तहसँगको समन्वयमा आर्थिक रुपमै सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । अन्तरक्रियामा प्रदेश सभाका सदस्यहरुले सरकारले थप जिम्मेवार भएर महामारी नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति देखिने गरी जनतामाझ विपत्तिको समयमा राहत र उद्दारमा लाग्नु पर्नेमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

सामाजिक विकास मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईले सामाजिक विकास मन्त्रालयबाट कोभिड–१९ को सम्बन्धमा भएका कामको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका उपसभामुख राधिका तामाङ विभिन्न विषयगत समितिका सभापतिहरु, प्रदेश सभाका सदस्यहरु, प्रमुख सचिव डा. मानबहादुर बिक, प्रदेश सरकारका मन्त्रालयका सचिवहरु लगायतको सहभागिता रहेको थियो ।