अन्तरक्रियामा सहभागी शिक्षकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सोमबार नगर भित्रका ४४ वटा आधारभूत तहका सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) हरुसँग अन्तरक्रिया गरेको छ । उपमहानगरपालिकाले दरबन्दी मिलान र शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन सम्बन्धमा प्रअहरुसँग छलफल गरेको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा संघीय सरकारले जारी गरेको शिक्षण सिकाई सहजीकरण निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि प्रधानाध्यापकहरुको तर्फबाट सुझाव संकलन गरिएको हो ।

छलफलमा आधारभूत तहका प्रअहरुले प्रावि तहको दरबन्दी मिलान सँगसँगै मावि तहको शिक्षक दरबन्दी मिलान गर्नुपर्ने सुझाव दिएका छन् । प्रअहरुले शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ का लागि विद्यार्थीको अभिलेखीकरण शुरु गरेको र अहिले पनि त्यही कार्य गरिरहेको जानकारी दिएका छन् । असोज १५ गतेभित्र सम्पूर्ण विद्यार्थीको अभिलेखीकरण र कार्ययोजना पेश गर्ने प्रतिबद्धता समेत जनाएको हेटौंडा उपमहानगरपालिका नगर शिक्षा प्रमुख पूर्ण बहादुर अछामीले जानकारी दिनुभएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकाले मावि तहका प्रअ र संस्थागत विद्यालयका प्रअहरुसँग क्रमशः छलफल गर्ने उहाँले जानकारी दिनुभएको छ ।